ओहायो, अमेरिका । नेपालका बाढीपीडितको सहयोगका लागि अमेरिकास्थित भुटानी नेपाली समुदायको पहलमा एक लाख १५ हजार ५६८ अमेरिकी डलर एक सेन्ट संकलन गरिएको छ । विभिन्न राज्यका संघसंस्था, दाता र स्वयंसेवकको सहभागितामा जुटाइएको रकम प्रधानमन्त्री राहत कोष र नेपाल रेडक्रस सोसाइटीलाई पठाइसकिएको भुटानी कम्युनिटी सेन्टर अफ सेन्ट्रल ओहायो (बीसीसीओ) ले जनाएको छ ।
‘भुटानी अमेरिकन्स युनाइटेड फर नेपाल फ्लड रिलिफ’ अभियानअन्तर्गत संकलित सहयोगको प्रतीकात्मक चेक आइतबार ओहायोस्थित लिकिङ हाइट्स मिडिल स्कुलमा आयोजित समारोहमा अमेरिकास्थित नेपाली कार्यवाहक राजदूत शरदराज आरणसमक्ष हस्तान्तरण गरिएको हो । कार्यक्रमको व्यवस्थापन बीसीसीओले गरेको थियो ।
समारोहमा प्रस्तुत वित्तीय विवरणअनुसार एक लाख नौ हजार ५४ डलर ६७ सेन्ट प्रधानमन्त्री राहत कोषमा र ६ हजार ५१३ डलर ३४ सेन्ट नेपाल रेडक्रस सोसाइटीलाई पठाइएको छ । सम्बन्धित निकायका बैंक खातामा रकम यसअघि नै पठाइसकिएकाले समारोहमा प्रतीकात्मक चेक हस्तान्तरण गरी सहयोगको विवरण सार्वजनिक गरिएको आयोजकले स्पष्ट पारेको छ ।
कार्यक्रममा कार्यवाहक राजदूत आरणले राहत अभियानमा योगदान गर्ने दाता, संघसंस्था, स्वयंसेवक र समुदायका सदस्यप्रति आभार व्यक्त गरेको आयोजकले जनाएको छ । आयोजककाअनुसार उनले विपद्का बेला नेपालप्रति भुटानी नेपाली समुदायले देखाएको सद्भाव र ऐक्यबद्धताको प्रशंसा गरेका थिए ।
आरणले नेपालमा बाँकी रहेका शरणार्थीसम्बन्धी समस्याको विषयसमेत उठाएका थिए । उक्त समस्या समाधानका लागि नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने धारणा उनले राखेको आयोजकले जनाएको छ ।
रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष तथा सामुदायिक अगुवा भुवन प्याकुरेलका अनुसार नेपालमा बाढीले पुर्याएको क्षतिको खबर सार्वजनिक भएपछि अमेरिकाका विभिन्न राज्यमा रहेका भुटानी नेपाली समुदायका सदस्य र संघसंस्था राहत अभियानमा जोडिएका थिए । ओहायो, पेन्सिलभेनिया, विस्कान्सिनलगायत राज्यबाट सहयोग जुटेको उनले जानकारी दिए ।
“हामी अमेरिकाका फरक-फरक राज्यहरूमा छरिएर रहेका भए पनि नेपालको पीडाले हामी सबैलाई एकै ठाउँमा ल्यायो। युवा, महिला, व्यवसायी र स्थानीय संघसंस्था सबैले दिनरात नभनी अभियानमा खटेका थियौँ,” प्याकुरेलले भने ।
बाढीप्रभावित परिवारलाई सहयोग पुर्याउने प्रयासमा समुदायका विभिन्न पुस्ता र क्षेत्रका सदस्य सहभागी भएको उनले बताए । बीसीसीओले पनि अभियानले आर्थिक सहयोग जुटाउनुका साथै विभिन्न राज्यमा बसोबास गर्ने समुदायलाई साझा मानवीय उद्देश्यमा एकजुट बनाएको जनाएको छ ।
समारोहमा उपस्थित साहित्यकार राधाप्रिया शर्माले हिटा संवाददातासँगको कुराकानीमा अभियानको सफलताको श्रेय सहयोगमा जुटेका सबै दाता, स्वयंसेवक, आयोजक र समर्थकलाई जाने बताइन् । संकटमा परेका परिवारप्रति समुदायले देखाएको करुणा र ऐक्यबद्धताले भौगोलिक दूरीले मानवीय सम्बन्धलाई कमजोर बनाउन नसक्ने सन्देश दिएको उनले उल्लेख गरिन् ।
अभियानमा पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइएको उल्लेख गर्दै शर्माले संकलित सम्पूर्ण रकम नेपालका बाढीप्रभावित समुदायको सहयोगका लागि पठाइएको र आयोजकले कुनै रकम आफूसँग नराखेको बताइन्। समुदाय एकजुट हुँदा सानो योगदानले पनि अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो ।
समारोहमा बीसीसीओका बोर्ड सदस्य झुमा नाथ आचार्यले राहत संकलन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । उनले अभियान सञ्चालनका लागि गठित राहत संकलन तदर्थ समितिले जिम्मेवारी पूरा गरेपछि त्यसलाई विघटन गरिएको जानकारी दिए । अभियानको आर्थिक विवरण वा अन्य विषयमा थप जानकारी तथा स्पष्टीकरण आवश्यक परे बीसीसीओसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
कार्यक्रममा प्याकुरेलले स्वागत मन्तव्य दिएका थिए भने कमल धिमालले अभियानको उद्देश्यबारे जानकारी दिँदै अतिथिहरूको परिचय गराएका थिए । समुदायका तर्फबाट भर्जिनियाका सामुदायिक अगुवा बाल थापा र एक्रोन-क्लिभल्यान्डका हेमन्त तिर्वाले मन्तव्य राखेका थिए । रिस्ता सापकोटाले विशेष मन्तव्य राखेकी थिइन् । प्याकुरेलले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए ।
‘युनाइटेड हार्ट्स, सपोर्टिङ नेपाल, टुगेदर वी मेक अ डिफरेन्स’ अर्थात् ‘एकताबद्ध मन, नेपालको साथ : मिलेर परिवर्तन ल्याऔँ’ भन्ने भावको नारासहित अभियान सञ्चालन गरिएको थियो । आयोजकले राहत संकलनमा सहभागी दाता, संघसंस्था, स्वयंसेवक, सामुदायिक अगुवा र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
विस्थापन र पुनर्स्थापनाको अनुभव बोकेको भुटानी नेपाली अमेरिकी समुदाय यस अभियानमार्फत नेपालका विपद्प्रभावित परिवारको सहयोगमा जुटेको हो । विभिन्न राज्यमा छरिएर रहेका समुदायका सदस्यको साथ र सहभागिताबाट राहत रकम संकलन सम्भव भएको आयोजकले जनाएको छ ।






५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,