महानवमीका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ, कोतघर तथा घरघरमा देवीको पूजाआजा भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न ब्यारेक तथा ऐतिहासिक कोतहरूमा परम्परागत हातहतियार र निशानको विशेष पूजा गरी हर्षबढाइँसमेत गरिएको छ।
नवरात्रको अन्तिम दिन महानवमीमा नवदुर्गाको पूजा गर्ने परम्परा छ। यस दिन विशेषगरी महालक्ष्मीको पूजाअर्चना गर्ने शास्त्रीय विधि रहेको छ। सुरक्षा निकायले आफ्ना शस्त्रागार तथा कोतहरूमा कलश स्थापना गरी विधिपूर्वक पूजाआजा र बलि दिने तथा तोप र बन्दुकको सलामीसहित हर्षबढाइँ गर्ने परम्परालाई निरन्तरता दिएका छन्।
दसैँको नवौँ दिन कलकारखाना, प्राविधिक उपकरण, सवारीसाधन, मेसिनरी औजार तथा हातहतियार सफा गरी विश्वकर्मा र शक्तिस्वरूप मानेर पूजा गर्ने चलन छ। दैनिक जीवनमा प्रयोग हुने सवारीसाधन तथा विभिन्न उपकरणको सुरक्षा र दीर्घायुको कामना गर्दै श्रमिक, व्यवसायी तथा सर्वसाधारणले आ–आफ्ना कार्यस्थलमा पूजाआजा गरेका छन्।
यसैबीच, काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको तलेजु भवानी मन्दिर वर्षमा एक दिन महानवमीका अवसरमा मात्रै सर्वसाधारणका लागि खुला गरिएको छ। मल्लकालीन उक्त मन्दिरमा बिहानैदेखि हजारौँ श्रद्धालु भक्तजन दर्शन तथा पूजाआजाका लागि लामबद्ध भएका छन्। तलेजु भवानीको दर्शन गर्नाले वर्षभरि पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ।
नेवार समुदायले पनि महानवमीलाई आफ्नै मौलिक परम्पराअनुसार मनाउने गरेका छन्। यस दिन भीमसेनको विशेष पूजा गरी पशुबलि चढाउने तथा ‘स्याक्वत्याक्व’ पर्व हर्षोल्लासका साथ मनाउने चलन छ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका प्रमुख शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, शोभा भगवती, भद्रकाली, पलाञ्चोक भगवती र मनकामना मन्दिरमा पनि बिहानैदेखि पूजाआजा तथा दर्शन गर्ने भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
महानवमीलाई शक्ति आराधना, परम्परागत संस्कृतिको संरक्षण र धार्मिक आस्थाको उत्सवका रूपमा मनाउने गरिन्छ।






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब