घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो।
विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको तुलनामा दिउँसो उपत्यकाका सडकमा चहलपहल बढाएको छ।
घटस्थापनापछि ठूलो संख्यामा नागरिक दशैँ मनाउन गाउँघर फर्किएपछि काठमाडौं उपत्यका केही दिनयता शान्त देखिएको थियो। तर, विजयादशमीको टीका सुरु भएसँगै चक्रपथसहित भित्री सडकमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ।
कोटेश्वर, नयाँ बानेश्वर, कलंकी, चाबहिल र महाराजगञ्जलगायत प्रमुख चोकमा नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ।
दशैँको मुख्य दिन सार्वजनिक सवारीसाधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा केही असहजता भएको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा ट्याक्सी, निजी कार तथा मोटरसाइकलको प्रयोग बढेको छ।
यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानमा ट्राफिक प्रहरी परिचालन र जाँचलाई तीव्रता दिएको जनाएको छ।
विजयादशमीका दिन सुरु हुने टीका तथा आशीर्वाद ग्रहणको क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। टाढा रहेका मान्यजन तथा आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायम रहेकाले आगामी दिनमा पनि उपत्यकाभित्र र जिल्लाहरूबीचको आवतजावत बढ्ने अपेक्षा गरिएको छ।







पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण