म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ मा ऐतिहासिक ज्यामरुककोट अवस्थित छ । यहीँ खड्गभवानीको कोत पनि छ । यस कोतको इतिहास तत्कालीन पर्वत राज्यसँग जोडिएको छ । यहाँ राजा भर्तिबम मल्लसँग सम्बन्धित अनेकौँ कथा सुनिन्छन् ।
कोतमा पुराना हतियारहरू पनि छन् । तीमध्ये एउटा खुडाले विशेष ध्यान आकर्षित गर्छ । यो खुडा वि.सं. २००३ मा चढाइएको खुँडामा अंकित मितिले स्पष्ट हुन्छ । यसको सबैभन्दा रोचक पक्ष भनेको यसमा कुँदिएका आठ व्यक्तिका नाम र नम्बर हुन् ।
खुडामा लेखिएका नामले धेरै प्रश्न उठाउँछन् । यी व्यक्ति को थिए ? उनीहरूबीच कस्तो सम्बन्ध थियो ? उनीहरू सैनिक सेवामा थिए कि थिएनन् ? उनीहरूको सम्बन्ध ज्यामरुककोटसँग कसरी जोडियो ? यी प्रश्नको उत्तर खोज्न अझै बाँकी छ ।

खुडामा कुँदिएका आठ नाम
खुडामा यस प्रकारका नाम र नम्बर उल्लेख छन् ।
१. नम्बर १८१९ - सु रु सी नायक छेत्री एम ली
२. नम्बर १९०८- ज ख बा. थापा छेत्री
३. नम्बर २७२५- ना न बा. घिमिरे छेत्री
४. नम्बर ९५०७४ - ले ना ब बा. षची छेत्री
५. नम्बर २७४०- ब बा. मल्ल
६. नम्बर ६५७०२-इ बा. कार्की छेत्री
७. नम्बर १००१९५ - भि बा. मल्ल र
८. नम्बर ९५८०१ - बे बा कबिर ।
यी नाम र नम्बर खुडाको इतिहास बुझ्ने मुख्य आधार हुन् । तर केही अक्षर स्पष्ट देखिँदैनन् । स्थानीय बुझाइअनुसार यी व्यक्तिहरू गोरखा राइफल्स वा भारतीय सेनासँग सम्बन्धित हुन सक्छन् । तर यसको आधिकारिक पुष्टि भइसकेको छैन । उनीहरू कुन पल्टनमा थिए भन्ने पनि खुलेको छैन ।
स्थानीय बुद्धिजिवी भीमबहादुर सापकोटाका अनुसार यदि उनीहरूको सैनिक अभिलेख भेटिएमा धेरै कुरा स्पष्ट हुन सक्छ । उनीहरूको पूरा नाम, पुर्ख्यौली थलो र सैनिक सेवासम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ । खुडा ज्यामरुककोटमा कसरी आइपुग्यो भन्ने प्रश्नको उत्तर पनि भेटिन सक्छ ।
इतिहास बोकेको ज्यामरुककोट
ज्यामरुककोटको इतिहास निकै पुरानो मानिन्छ । स्थानीय इतिहासमा राजा भर्तिबम मल्लको नाम विशेष रूपमा आउँछ । स्थानीय भनाइअनुसार उनी ज्यामरुककोटका अन्तिम राजा थिए । भर्तिबम मल्ल र मलेवम मल्लबीचको सम्बन्धसँग जोडिएका विभिन्न कथा यहाँ प्रचलित छन् । उनीहरूको सत्ता संघर्ष र भर्तिबमको अन्त्यबारे पनि किंवदन्तीहरू सुनिन्छन् । यी कथाको सत्यता बुझ्न थप ऐतिहासिक अध्ययन आवश्यक छ ।
कुनै समय ज्यामरुककोटमा दरबार र सुरक्षासम्बन्धी संरचनाहरू थिए भनिन्छ । हतियार राख्ने ठाउँ पनि थियो । अहिले ती संरचनाका धेरै अवशेष हराइसकेका छन् । केही पुराना हतियार र अन्य सामग्रीले भने विगतको सम्झना दिलाइरहेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले बताउनुभयो ।उहाँका अनुसार कोतमा रहेको यो खुडा महत्वपूर्ण छ । यसले इतिहासका केही पाटा उजागर गर्न सक्छ । यसलाई सुरक्षित राख्नु आवश्यक छ ।
संरक्षणसँगै अनुसन्धान पनि आवश्यक
ज्यामरुककोटलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको छ । यहाँको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्व दुवै छन् । तर इतिहास चिनाउने सम्पदा हराउँदै गएमा यसको मौलिक पहिचान कमजोर हुनसक्ने स्थानीय बुद्धिजीविहरुले बताएका छन् ।
खुडामा कुँदिएका आठै जनाको पहिचान खोज्नुपर्छ । पुराना अभिलेख र सैनिक दस्तावेजहरूको अध्ययन गर्नुपर्छ । स्थानीय ज्येष्ठ नागरिक तथा सम्बन्धित परिवारसँग पनि जानकारी लिन सकिने अध्यक्ष सुवेदीले बताउनुभयो ।
स्थानीय बुद्धिजीवि टीकाबहादुर कार्कीकाअनुसार खुडाको स्पष्ट तस्बिर खिचेर त्यसमा कुँदिएका अक्षरहरूको अभिलेख राख्नुपर्छ । यसको उमेर, बनावट र इतिहासबारे जानकार व्यक्तिबाट अध्ययन गराउनुपर्छ । स्थानीय सरकार र कोत व्यवस्थापन समितिले यस काममा पहल गर्न सक्छन् ।
त्यसैगरी खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले भन्नुभयो “यो खुडा केवल एउटा पुरानो हतियार होइन । यसमा आठ व्यक्तिका नाम र नम्बर कुँदिएका छन् । ती नामभित्र कुनै परिवारको इतिहास लुकेको हुन सक्छ । सैनिक सेवाको कथा लुकेको हुन सक्छ । ज्यामरुककोटसँग जोडिएको कुनै पुरानो सम्बन्ध पनि हुन सक्छ ।”
उहाँकाअनुसार आज यसको सबै रहस्य खुलेको छैन । तर खोजी सुरु गर्न सकिन्छ । प्रमाण जुटाउन सकिन्छ । इतिहास सुरक्षित राख्न सकिन्छ ।
खड्गभवानीको कोतमा रहेको यो खुडाले हामीलाई एउटा महत्वपूर्ण कुरा सम्झाउँछ-इतिहासको संरक्षण भनेको पुराना वस्तु जोगाउनु मात्र होइन, तिनमा लुकेको सत्य खोज्नु पनि हो ।







नयाँ बसपार्कमा अग्रिम टिकट लिन
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात