राजविराज । सर्पदंशबाट श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको चिन्तामा रहेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९, रघुनाथपुरकी खैरुल खातुनको पीडामा प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले चासो व्यक्त गर्नुभएको छ । उहाँले शुक्रबार खैरुलको घरमै पुगेर परिवारको अवस्था, बालबालिकाको पढाइ र उनीहरूले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको हो ।
हिमालय टाइम्स राष्ट्रिय दैनिकमा गत असोज २६ गते अनलाईनमा र २७ गते पत्रिकामा 'श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको चिन्तामा खैरुल, रोकियो बालबालिकाको पढाइ’ शीर्षकमा खैरुलको परिवारको अवस्थाबारे समाचार प्रकाशित भएको थियो । श्रीमानको मृत्युपछि आर्थिक संकटमा परेको परिवार र पढाइबाट वञ्चित हुन पुगेका बालबालिकाको अवस्थाबारे प्रकाशित समाचारपछि सांसद कर्णले परिवारको वास्तविक अवस्था बुझ्न चासो देखाउनुभएको हो ।
खैरुलका ३८ वर्षीय श्रीमान् मोहम्मद बसिरको विषालु सर्पको डसाइबाट मृत्यु भएपछि परिवारको मुख्य आम्दानीको स्रोत गुमेको थियो । अर्काको घर र खेतबारीमा मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आउनुभएका बसिरको निधनपछि खैरुल पाँच छोरी र एक छोराको पालनपोषणको जिम्मेवारी एक्लै सम्हाल्न बाध्य हुनुभएको छ ।
खैरुलका १६ वर्षीया आश्मा, १४ वर्षीया मरियम, १२ वर्षीया नाजो, आठ वर्षीया हलीमा, छ वर्षीया फत्मा र चार वर्षीय छोरा मोहम्मद नजिर छन् । परिवारमा नियमित आम्दानीको स्रोत नहुँदा बालबालिकाको पढाइ निरन्तर राख्न कठिन भएको छ । दैनिक छाक टार्नसमेत छरछिमेकको सहयोगमा निर्भर हुनुपरेको अवस्थामा छोराछोरीको भविष्य कसरी सुरक्षित बनाउने भन्ने चिन्ताले खैरुललाई सताइरहेको छ ।
खैरुलको घर पुग्नुभएका सांसद कर्णले बालबालिकाको शिक्षाको अवस्था, परिवारले सामना गरिरहेको आर्थिक समस्या र तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिनुभएको थियो । श्रीमान् गुमाएपछि एक्लै छ सन्तानको जिम्मेवारी सम्हालिरहनुभएकी खैरुलको अवस्थाबारे जानकारी लिँदै उहाँले बालबालिकाको भविष्यसँग जोडिएका विषयमा चासो राख्नुभएको हो ।
बसिरको निधनपछि खैरुलका लागि छोराछोरीको खानपान, लत्ताकपडा, शिक्षा र पालनपोषणको व्यवस्था गर्नु कठिन बनेको छ । आर्थिक अभावका कारण रोकिएको पढाइ पुनः सुरु गराउनु र बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउनु अहिले परिवारका प्रमुख आवश्यकता हुन् ।
खैरुलको परिवारको अवस्थाले अभिभावक गुमाएका र आर्थिक संकटमा परेका बालबालिकाको शिक्षा तथा संरक्षणमा समयमै सहयोग पुर्याउनुपर्ने आवश्यकता देखाएको छ । बालबालिकालाई विद्यालय फर्काउन शैक्षिक सामग्री, खाद्यान्न तथा अन्य आधारभूत आवश्यकता पूरा गर्ने सहयोगसँगै परिवारका लागि आयआर्जनको दिगो आधार तयार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ ।
सांसद कर्णको स्थलगत भेटले खैरुलको परिवारले भोगिरहेको समस्याबारे जानकारी लिने अवसर प्रदान गरेको छ । अब बालबालिकाको पढाइलाई निरन्तरता दिन र परिवारको दैनिक जीवनयापन सहज बनाउन सम्बन्धित निकाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा सहयोग गर्न इच्छुक व्यक्तिहरूबाट कस्तो पहल हुन्छ भन्ने विषय चासोको केन्द्रमा छ ।
श्रीमान् गुमाउनुभएकी खैरुलका लागि छोराछोरीको भविष्य सुरक्षित गर्नु अहिले सबैभन्दा ठूलो चुनौती हो । बुबाको साथ गुमाएका ती बालबालिकाले आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न समयमै सहयोग जुट्नु आवश्यक छ ।







कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस