गोरखा । वडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका-८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन् । असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो ।
गाउँघरमा कोदो टिप्ने, सुकाउने र भण्डारण गर्ने काम भइरहेको छ । कोदो भित्र्याएपछि खेतबारीमा तोरी छर्ने तयारीसमेत किसानले गरिरहेका छन् । वर्षायाममा रोपिने कोदो पहाडी भेगका किसानको प्रमुख खाद्यान्न बालीमध्ये एक हो ।
कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब दुई लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो । उक्त वर्ष दुई लाख ८४ हजार ३५२ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।
नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रमा कोदो खेती बढी हुने गरेको छ । गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, जुम्लालगायत जिल्लामा कोदो खेती गरिन्छ । भिरालो जमिन तथा कम सिँचाइ हुने ठाउँमा समेत उत्पादन गर्न सकिने भएकाले यो बाली पहाडी क्षेत्रका किसानका लागि महत्त्वपूर्ण मानिन्छ ।
कोदोबाट ढिँडो, रोटी, सातु, पिठोलगायत परिकार बनाइन्छ । यसमा रेसा, खनिज पदार्थ तथा अन्य पोषक तत्त्व पाइने भएकाले पछिल्लो समय सहरबजारमा समेत कोदोजन्य परिकारको माग बढ्दै गएको छ ।
तर, पछिल्ला वर्षमा कोदो खेती गर्ने क्षेत्रफल र उत्पादन घट्दै गएको सरकारी तथ्याङ्कले देखाउँछ । ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव, खेतीप्रति युवाको घट्दो आकर्षण र उत्पादनको बजार व्यवस्थापन चुनौतीका रूपमा रहेका छन् । स्वदेशमा कोदोको माग बढिरहेका बेला आयातसमेत गर्नुपर्ने अवस्था छ ।
ग्रामीण जीवनशैली, परम्परागत खेती प्रणाली र स्थानीय खाद्य संस्कृतिसँग जोडिएको कोदो खेतीलाई संरक्षण तथा प्रवर्द्धन गर्न सके किसानको आयआर्जन बढाउनुका साथै रैथाने बालीको संरक्षणमा समेत सहयोग पुग्ने देखिन्छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा