धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ। उहाँले निर्माणको टेन्डर प्रक्रिया पूरा भइसकेको र छिट्टै शिलान्यास गरिने जानकारी दिनुभएको हो।
आइतबार धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माणस्थलको स्थलगत अवलोकन गर्दै मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरी फाइल पूर्वाधार विकास मन्त्रालयमा पठाइसकिएको बताउनुभयो। उहाँका अनुसार आयोजना बहुवर्षीय योजनाका रूपमा अघि बढिरहेको छ।
“टेन्डर प्रक्रिया पूरा भइसकेको छ। स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर फाइल पूर्वाधार विकास मन्त्रालयमा पुगिसकेको छ। आयोजना बहुवर्षीय भइसकेकाले निर्माण सम्पन्न गर्ने दिशामा अघि बढिरहेको छ। शिलान्यासको ठ्याक्कै मिति अहिले भन्न गाह्रो छ, तर छिट्टै हुन्छ। ट्रमा सेन्टर यहीँ बन्छ,” उहाँले भन्नुभयो।
सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने र उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो।
ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ।
स्थानीयवासीले लामो समयदेखि ट्रमा सेन्टर निर्माणको काम अघि बढाउन माग गर्दै आएका छन्। सेन्टर निर्माण भएपछि धनुषासहित मधेस प्रदेशका विभिन्न क्षेत्रका सडक दुर्घटनामा गम्भीर घाइते भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ