काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि सुरु भएको बडादशैँ आश्विन शुक्ल पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजाआराधना गरेर समापन गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज साँझ महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बस्ने चलन छ। ‘को जाग्रत’ अर्थात् ‘को जागेको छ?’ भन्ने अर्थ बोकेको यस पर्वमा रातभर जागा रहेर भगवतीको आराधना गर्नेलाई धनधान्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ।
घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश, जमरा र देवीको प्रतिमालाई आज विधिपूर्वक विसर्जन गरिन्छ। यस दिनसँगै मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा समाप्त हुन्छ।
कतिपय समुदायमा कोजाग्रत पूर्णिमाको साँझ कौडा वा पासा खेल्ने प्रचलनसमेत छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस दिनदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने कार्यको पनि शुभारम्भ हुन्छ।
घरको आँगन वा देवालयमा बाँसको अग्लो लिङ्गो ठड्याएर त्यसमा दियो बाल्ने परम्परालाई आकाशदीप दान भनिन्छ। यस्तो दीप पितृहरूको मार्गदर्शन तथा दिवङ्गत आत्माको शान्तिको कामनासहित बाल्ने धार्मिक विश्वास रहेको छ।
विजयादशमीको टीका र जमरा ग्रहणसँगै सुरु भएको पारिवारिक भेटघाट तथा उत्सवको उल्लास कोजाग्रत पूर्णिमासँगै अन्त्य हुन्छ। त्यसपछि नेपाली समाज अर्को ठूलो चाड तिहारको तयारीमा जुट्ने गर्छ।
कोजाग्रत पूर्णिमाको समापनसँगै बजारमा तिहारलक्षित किनमेल र तयारीको चहलपहल बढ्न थालेको छ। यससँगै नेपालीहरूको चाडपर्वको माहोल अब तिहारमय बन्दै जानेछ।





सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?