काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउन सफल टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो।
एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष चन्दले खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो।
विगतमा सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उहाँले पछिल्लो समय विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
अध्यक्ष चन्दले सरकारले पनि एसियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भए पनि विभिन्न कारणले पछिल्लो समय खेलाडीहरूले पुरस्कार पाउन नसकेको बताउनुभयो। उहाँले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गर्नुभयो।
ओडीआई मान्यता कायम, विश्वकप खेल्ने लक्ष्य
नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राख्नु र दोस्रोपटक एशिया कपमा छनोट हुनु महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो।
नेपाली खेलाडीहरू एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न प्रयासरत रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको बताउनुभयो।
नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर प्राप्त हुनु विश्वकपसम्म पुग्ने यात्राको महत्त्वपूर्ण कडी भएको उहाँको भनाइ छ।
एनपीएल नेपाली क्रिकेटको ब्रान्ड बन्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे चर्चा गर्दै अध्यक्ष चन्दले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताउनुभयो।
गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो।
एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको अध्यक्ष चन्दको भनाइ छ।







पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय
अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ
संकटको सारथि नै संकटोन्मुख अवस्थामा
‘आमाको माया’ बालकथा संग्रह लोकार्पण
प्रकृतिको अर्को प्रहार
बडादशैं र नेपाली अर्थतन्त्रको परम्परागत