काठमाडौं । सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै भन्ने नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन अभियानको आयोजनामा नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम सुरु भएको छ । कार्यक्रम संयोजक एवं एनआरएनए प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य भारतीय पर्यटन बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन गर्नु, नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्नु तथा नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग जोड्नु भएको उहाँले बताउनुभयो ।
भारतीय पर्यटकलाई नेपालका धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटन गन्तव्यसँग जोड्न सके नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना गर्न सकिने सापकोटाको भनाइ छ । उहाँका अनुसार नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री वितरण गरेर मात्र सम्भव हुँदैन । भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने, सेवा र सुविधाबारे जानकारी दिने र व्यावसायिक साझेदारीका आधार तयार गर्ने काम आवश्यक छ । सोही सोचसाथ कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा भारतका विभिन्न शहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण तथा भविष्यमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुने बताइएको छ । आयोजकका अनुसार लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य राखिएको छ । विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायत क्षेत्रलाई पर्यटन सञ्जालमा जोड्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिनेछ ।




चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति