काठमाडौं । नेपालमा पुनः वर्षाको सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार (कात्तिक १२-१५)सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र क्रमशः बलियो बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ । त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको जोखिम बढ्ने अनुमान गरिएको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबारदेखि सुरु हुने मौसमी प्रभाव शुक्रबार र शनिबार थप सक्रिय हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही स्थान तथा पहाडी भू-भागमा वर्षाको सम्भावना छ । शनिबारसम्म पूर्वी नेपालमा यसको प्रभाव तुलनात्मक रूपमा बढी रहने अनुमान गरिएको छ ।
पश्चिम नेपालका केही स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने भए पनि कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीको पश्चिमी भागमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने आँकलन गरिएको छ ।
मौसमविद्ले हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण गर्ने पर्यटकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम प्रतिकूल हुने अवधिमा नयाँ पदयात्रा योजना स्थगित गर्न, यात्रा गर्नुअघि अद्यावधिक मौसमी सूचना लिन र पदयात्रामा रहेका व्यक्तिले सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ ।
धानबाली भित्र्याउने समयसमेत भएकाले किसानलाई सम्भव भएसम्म वर्षा सुरु हुनुअघि नै बाली सुरक्षित गर्न वा मौसमको अवस्था हेरी उपयुक्त समय छनोट गर्न आग्रह गरिएको छ । पानी जम्ने खेतमा निकासको व्यवस्था मिलाउन र काटिएको धान सुरक्षित स्थानमा राख्नुपर्नेमा मौसमविद्ले जोड दिएका छन् ।
चार जोखिमयुक्त हिमतालको सतह घटाइने
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमपहिरो जाने तथा हिमताल विस्फोटबाट बाढी आउने जोखिम बढिरहेको छ । यही जोखिमलाई ध्यानमा राख्दै सरकारले चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ ।
मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको जोखिम न्यूनीकरण गर्न ‘ग्लोफ सञ्जीवनी आयोजना’ प्रस्ताव गरिएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने प्रस्तावित आयोजनाको कुल बजेट करिब ४९.९ मिलियन अमेरिकी डलर रहेको छ ।
यसअघि दोलखाको रोल्वालिङ उपत्यकामा रहेको च्छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभवलाई आधार बनाउँदै नयाँ हिमतालमा पनि त्यस्ता उपाय अपनाउने सरकारको योजना छ ।
हिमताल विस्फोटबाट उत्पन्न हुने बाढीले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार, कृषि भूमि र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याउन सक्ने भएकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको हो । यस्ता आयोजनाको प्रभावकारिता भने प्राविधिक अध्ययन, वातावरणीय संवेदनशीलता, पर्याप्त बजेट र दीर्घकालीन निगरानीमा निर्भर हुनेछ ।






‘तँ अब बुढो भइस्’ पुस्तक
पुस्तक : डा.केसीको ‘फूलको सपना’
पुस्तक : समयले जन्माएका कविता
भेलदेखि जेलसम्म : ती दिनहरूभित्र
राशिफल २५ असोज, कर्कट :
‘श्रोता-दर्शकको माया र रचनात्मक सुझावले