भालमा जब सुमेरुले
हैमको टीका लगायो,
त्यही बखत प्रादुर्भाव भयो
नेपालको ।
कालान्तरमा !
त्यही नामले सीमालाई
नक्साको रेखामा होइन,
स्वाभिमानको कसीमा घोट्यो,
पौरखको उचाइले नाप्यो
बर्मा, भूटान, सिक्किमदेखि
दार्जिलिङ–असामका वरपर
चियाबारी र फाँटहरू मात्र होइन,
डुवर्सका हरिया समथरहरूसम्म
आफ्नो पौरखको झण्डा गाड्यो
फलतः उसका पद ध्वनिहरू
सृष्टिपर्यन्त गुञ्जने गरी
अस्तित्वका प्रतीक छाड्यो ।
आज
विश्वभर छरिएका नेपालीहरू
केवल यात्री होइनन्,
कालले आफ्नै काँधमा बोकेका
जीवित इतिहासहरू हुन्
उनीहरू जहाँ पुग्छन्,
हिमालझैँ शिर हुन्छन्
अन्तस्करणका बुद्ध, सीता र भृकुटी
सन्देश त्याग र आदर्शका साक्षी बन्छन् ।
जब नेपाली
वीर गोर्खा भएर
रणभूमिमा गर्जन्छ,
त्यो केवल युद्धघोष हुँदैन,
त्यो घोषणा हुन्छ-
आफ्नो अस्तित्वको,
आफ्नो कर्तव्यबोधको ।
कति युद्धहरू आए-गए,
साम्राज्यहरू कति बने-ढले,
कति झण्डाहरू फेरिए
तर कहिल्यै फेरिएन
छाती नेपालीको,
जहाँ न डर छ, न अविश्वास
जीवनभन्दा माथि छ- कर्तव्य
मृत्युभन्दा प्यारो छ- इमान
ऊ जहिले लड्यो
सपथ र इमानका लागि लड्यो
जब इतिहासले खोज्यो,
वीरताको रगतले
सहीछापको बाटो रोज्यो ।
यसैले,
नेपाली वीरताको कथा
हिमालझैँ स्थिर भयो
ध्रुवझैँ अमर- अटल रह्यो
जबसम्म सृष्टिमा
हिमाल र आकाशको संवाद गुञ्जनेछ,
नेपाली वीरताका गाथाहरू गाइनेछ,
तबसम्म त्यहाँ
स्वाभिमानको आलोक
अनन्तसम्म बलिरहनेछ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ