हेटौँडा । आफ्नै माटोमा केही गर्ने अठोटका साथ शिक्षकको जागिर छाडेर कृषिमा होमिनुभएका हेटौँडा–१३, पदमपोखरीका ३८ वर्षीय फेन्चु लामा रुम्बा अहिले सफल कृषि उद्यमीका रूपमा स्थापित हुनुभएको छ। व्यावसायिक फलफूल खेतीबाट पहिचान बनाउनुभएका उहाँ पछिल्लो समय दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बजार विस्तारमा समेत सक्रिय हुनुहुन्छ। उहाँले पहिलोपटक हेटौँडाको हुप्राचौरमा डीडीसीको बिक्री केन्द्र सञ्चालनमा ल्याउनुभएको छ।
कृषि उद्यमसँगै दुग्धजन्य उत्पादनको बिक्री–वितरणमा जोडिनुभएका फेन्चुले उपभोक्तासम्म डीडीसीका उत्पादन सहज रूपमा पुर्याउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याउनुभएको हो। उहाँका अनुसार केन्द्रबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको कारोबार भइरहेको छ।
हाल हुप्राचौरमा सञ्चालनमा रहेको बिक्री केन्द्रलाई हेटौँडा उपमहानगरपालिकाका अन्य वडामा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। त्यसैगरी, मकवानपुरका अन्य नौ स्थानीय तहसम्म पनि डीडीसीका उत्पादनको बिक्री–वितरण विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। यसबाट उपभोक्ताले सहज रूपमा दुग्धजन्य उत्पादन प्राप्त गर्नुका साथै स्थानीय बजारमा डीडीसीका उत्पादनको पहुँच बढ्ने अपेक्षा गरिएको छ।
डीडीसीको बजार विस्तारमा सक्रिय रहे पनि फेन्चुको मुख्य परिचय कृषि उद्यमीका रूपमा स्थापित छ। हेटौँडा–१३, पदमपोखरीमा कुनै समय कोदो र मकैबाहेक अन्य बाली उत्पादन गर्न कठिन हुने जमिनलाई उहाँले अहिले हरियाली फलफूल बगैँचामा परिणत गर्नुभएको छ।
मास्टर डिग्रीसम्मको अध्ययन पूरा गर्नुभएका फेन्चुले करिब सात वर्ष शिक्षकका रूपमा काम गर्नुभएको थियो। निश्चित तलब र सुरक्षित जागिर हुँदाहुँदै पनि आफ्नै माटोमा केही गर्ने चाहनाले उहाँलाई निरन्तर प्रेरित गरिरह्यो। बाउबाजेको जमिनको सदुपयोग गर्दै स्वदेशमै उद्यम गर्ने सोचका साथ उहाँले शिक्षक पेसा छाडेर कृषि रोज्नुभएको हो।
करिब आठ वर्षअघि १०० वटा उन्नत जातका बाख्रापालनबाट सुरु भएको उहाँको कृषि यात्रा अहिले व्यावसायिक फलफूल खेतीसम्म आइपुगेको छ। लागत, मेहनत र जोखिमका कारण उहाँले बाख्राको संख्या घटाएर ५० वटामा सीमित गर्नुभएको छ।
हाल उहाँले एक बिघा जमिनमा ५०० वटा मेवाका बोट र करिब आठ हजार ड्रागन फ्रुटका बोट लगाउनुभएको छ। सिजनअनुसार सयपत्री फूल, खर्बुजा र अम्बाको खेतीसमेत गर्दै आउनुभएको छ। सिँचाइको अभाव रहेको जमिनमा बोरिङको व्यवस्था गरी खेती विस्तार गर्नुभएका उहाँले कृषि व्यवसायबाट खर्च कटाएर वार्षिक करिब १० लाख रुपैयाँ बचत हुने गरेको बताउनुभयो।
उहाँको फार्ममा चार जनाले नियमित रोजगारी पाएका छन्। कामको चापअनुसार थप कामदारसमेत परिचालन गर्ने गरिएको उहाँले बताउनुभयो। कृषि व्यवसायबाट आम्दानी बढाउँदै आउनुभएका फेन्चुले अहिले दुग्धजन्य उत्पादनको बिक्री–वितरण र बजार विस्तारलाई पनि उद्यमको अर्को क्षेत्रका रूपमा अघि बढाउनुभएको छ।
‘काम जे गरिन्छ, त्यसमै निरन्तरता दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘निरन्तरताले नै मलाई यहाँसम्म ल्याएको हो।’ कृषि होस् वा अन्य व्यवसाय, धैर्य, मेहनत र निरन्तरता नै सफलताको आधार रहेको उहाँको भनाइ छ।
कृषि क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि फेन्चु २०७९ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुभएको थियो। त्यसैगरी, २०८० सालमा हेटौँडा उपमहानगरपालिकाबाट उत्कृष्ट सिर्जनशीलता पुरस्कार प्राप्त गर्नुभएका उहाँले बागमती प्रदेशस्तरीय उत्कृष्ट उद्यमी पुरस्कारसमेत प्राप्त गर्नुभएको छ।
कृषिबाट सुरु भएको फेन्चुको उद्यमशीलता अहिले डीडीसीका उत्पादनको बजार विस्तारसम्म पुगेको छ। आफ्नै जमिनको सदुपयोग गर्दै उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र बजार विस्तारमा समेत सक्रिय उहाँको यात्रा स्वदेशमै सम्भावना खोज्ने युवाका लागि प्रेरणादायी बनेको छ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता