राजविराज । श्रीमानको मृत्युपछि पाँच छोरी र एक छोराको पालनपोषण तथा शिक्षाको जिम्मेवारी सम्हालिरहेकी सप्तरीको कञ्चनरूप नगरपालिका–९, रघुनाथपुरकी खैरुल खातुनको परिवारप्रति जनप्रतिनिधि र समाजसेवीले चासो देखाउनुभएकाे छ ।
हिमालय टाइम्स राष्ट्रिय दैनिकमा खैरुलको पारिवारिक अवस्था र बालबालिकाको पढाइ प्रभावित भएको विषयमा समाचार प्रकाशित भएपछि प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्ण र सप्तरी क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य पुष्पा चौधरी उहाँकाे घर पुगेका हुन् । सांसद कर्ण शुक्रबार र सांसद चौधरी आइतबार खैरुलको घर पुगेर परिवारको अवस्था बुझ्नुभएकाे थियाे ।
हिमालय टाइम्समा गत असोज २६ गते अनलाइन र २७ गते पत्रिकामा ‘श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको चिन्तामा खैरुल, रोकियो बालबालिकाको पढाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारमा परिवारको आर्थिक संकट र बालबालिकाको शिक्षामा परेको समस्याबारे उल्लेख गरिएको थियो ।
खैरुलका ३८ वर्षीय श्रीमान् मोहम्मद बसिरको विषालु सर्पको डसाइबाट मृत्यु भएको थियो । मजदुरी गरेर परिवारको खर्च जुटाउँदै आएका बसिरको निधनपछि परिवारको नियमित आम्दानीको स्रोत गुमेको छ । त्यसपछि खैरुल पाँच छोरी र एक छोराको पालनपोषणको जिम्मेवारी एक्लै सम्हालिरहनुभएकाे छ ।
खैरुलका १६ वर्षीया आश्मा, १४ वर्षीया मरियम, १२ वर्षीया नाजो, आठ वर्षीया हलीमा, छ वर्षीया फत्मा र चार वर्षीय छोरा मोहम्मद नजिर हुनुहुन्छ । नियमित आम्दानी नहुँदा परिवारलाई दैनिक खर्च जुटाउन र बालबालिकाको पढाइलाई निरन्तरता दिन कठिन भइरहेको छ ।
सांसद पुष्पा चौधरीले परिवारको अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ। सामाजिक अभियन्ता तथा समाजसेवी माधव चौधरीले पनि परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयाे ।
जनप्रतिनिधि र समाजसेवीले चासो देखाउँदै सहयोगको प्रतिबद्धता जनाए पनि परिवारले वास्तविक रूपमा कस्तो र कति सहयोग पाउने भन्ने स्पष्ट भइसकेको छैन । आर्थिक अभावका कारण प्रभावित बालबालिकाको पढाइ पुनः सञ्चालन गर्न र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सहयोग आवश्यक देखिएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका