गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती पूर्ण रूपमा प्रभावित भएको छ । बाढीले घर, खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन् ।
स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारका ५८ घरधुरीका घर बस्नै नसक्ने अवस्थामा पुगेका छन् । घरभित्र रहेका सामान बाढीले बगाएको वा पुरेको छ । बाढी आउनुअघि बस्तीको अर्कोपट्टिबाट बग्ने बुढीगण्डकी अहिले घरआँगनबाटै बगिरहेको उहाँले बताउनुभयो ।
‘पूरै ध्वस्त भयो, केही छैन । ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन । निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,’ खत्रीले भन्नुभयो, ‘धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन् । अहिले हामीसँग केही बाँकी छैन ।’
बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा अहिले २८ घरधुरीका परिवार बसिरहेको र अन्य परिवारले साना टहरा बनाएर अस्थायी रूपमा आश्रय लिइरहेको उहाँले जानकारी दिनुभयो ।
सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी आफूले पाएको खत्रीले बताउनुभयो । तर, घरसँगै दैनिक जीवनयापनका आधारसमेत गुमाएका परिवारलाई सामान्य अवस्थामा फर्कन कठिन हुने उहाँको भनाइ छ ।
बाढीले घरमा मात्रै नभई कृषि तथा पशुपालनमा निर्भर स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ । स्थानीय घारे गुरुङको दुई रोपनी जमिनमा लगाइएको खेती बाढीले नष्ट गरेको छ । बाख्रा, गाई र कुखुरालगायत पशुपन्छी पालेर जीविकोपार्जन गर्दै आउनुभएका गुरुङ थप आर्थिक संकटमा पर्नुभएको छ ।
‘मेरो दुई रोपनी जमिनको खेती गयो । अरू क्षतिको त हिसाब नै छैन,’ गुरुङले भन्नुभयो ।
बाढीले घर, खेतबारी र पशुपन्छीमा क्षति पुर्याएपछि स्थानीयको आम्दानीको स्रोतसमेत गुमेको छ । घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा सरसफाइका सामग्री आवश्यक देखिएको छ ।
प्रभावित परिवारको वास्तविक क्षतिको विवरण संकलन, पुनःस्थापना र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । अस्थायी आश्रयमा दिन बिताइरहेका शान्तिबजारवासी राहतसँगै सुरक्षित बसोबास र भविष्यमा यस्ता विपद्बाट जोगिने दीर्घकालीन व्यवस्थाको प्रतीक्षामा छन् ।
















राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :