झापा । झापालाई महिला फुटबलको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दोस्रो संस्करणको ‘झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ आगामी मंसिर ५ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दूधे रंगशालामा आयोजना हुने प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन आयोजकले तयारी तीव्र पारेको छ ।
आयोजक संस्थाका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित भारत र भुटानका एक-एक टोली तथा नेपालका दुई ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । आयोजकका अनुसार यो पुरस्कार राशि नेपाली महिला फुटबल प्रतियोगितामध्ये सर्वाधिक हो । उपाधिका लागि हुने प्रतिस्पर्धाले महिला फुटबलको विकाससँगै झापाको खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) लाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ दिइनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) ले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
करिब एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताका लागि दूधे रंगशालाको स्तरोन्नति, बाँसको अस्थायी प्यारापिट निर्माण र खेलमैदान मर्मतको काम अघि बढाइएको छ । यी सबै काम कात्तिक तेस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्यसहित तयारी भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिनुभएको छ ।
प्रतियोगितालाई खेलकुदमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ । आयोजकले प्रत्येक टिकट बिक्रीबाट १० रुपैयाँ छुट्याएर आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययन गर्ने एक विद्यालयलाई सहयोग गर्ने योजना बनाएको छ । यसले खेलकुदमार्फत् सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
शिवसताक्षी नगरप्रमुख मेघाहाङ थोप्रासहित नगरका जनप्रतिनिधिहरू संरक्षक रहेको प्रतियोगिताको सफल सञ्चालनका लागि खेलकुद पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय गठन गरिएको छ । महिला फुटबलको विकास, स्थानीय खेल प्रतिभाको प्रोत्साहन र झापाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्य राखिएको प्रतियोगिता सफल बनाउन आयोजकले स्थानीय उद्योगी, व्यवसायी, पत्रकार र खेलप्रेमीलाई सहयोगका लागि अपिल गरेको छ ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?