अछाम । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशनको प्राकृतिक सौन्दर्यलाई खेलकुदसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अछाममा खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । रामारोशन गाउँपालिका-५ स्थित किनिमिनी पाटनमा ‘रामारोशन प्रिमियर लिग (सिजन-२०)’ सञ्चालन हुन लागेको हो ।
शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर रामारोशन एड्भेन्चर एण्ड इको स्पोर्ट क्लबले आयोजना गर्न लागेको प्रतियोगिता कात्तिक १३ गतेदेखि सुरु हुनेछ । आयोजक क्लबका अध्यक्ष लक्ष्मण बोहराका अनुसार रामारोशनको प्राकृतिक सुन्दरता, विशाल घाँसेमैदान र शान्त वातावरणलाई क्रिकेटमार्फत्् राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ ।
आयोजकले प्रतियोगितालाई अछामकै इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगिताका रूपमा अघि सारेको छ । प्रतियोगिताको विजेता टोलीले मेडल, प्रमाणपत्रसहित दुई लाख रुपैयाँ र उपविजेता टोलीले मेडल तथा प्रमाणपत्रसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा देशका अन्य स्थानबाट क्रिकेट क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । हिमालको काखमा रहेका सुन्दर ताल, फराकिला पाटन र मनोरम प्राकृतिक दृश्यबीच क्रिकेट प्रतियोगिता सञ्चालन हुनुले खेलप्रेमीसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत रामारोशनतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितालाई खेलमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनसँग पनि जोडिने भएको छ । प्रतियोगिताको उद्घाटनका दिन पञ्चेबाजा, देउडा, हुड्क्यौली र भुवोलगायतका सांस्कृतिक प्रस्तुति देखाइने आयोजकले जनाएको छ । यसले रामारोशनको मौलिक सांस्कृतिक पहिचानलाई समेत व्यापकरूपमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न लागिएको किनिमिनी मैदान रामारोशन क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदानका रूपमा परिचित छ । प्राकृतिकरूपमा आकर्षक यस मैदानमा ठूलो स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनुले क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्नुका साथै स्थानीय आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं