लाहोर । शादाब खानको अविजित शतक र हारिस राउफसँगको कीर्तिमानी साझेदारीको मद्दतमा पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) त्रिकोणात्मक शृंखलामा इंग्ल्याण्डलाई एक विकेटले पराजित गरेको छ । गद्दाफी रंगशालामा २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.१ ओभरमा नौ विकेट गुमाएर २४३ रन बनाउँदै अक्टोबर ३१ मा हुने फाइनलमा स्थान पक्का गरेको हो । पाकिस्तान १५४ रनमा नौ विकेट गुमाएर जितका लागि थप ८८ रन आवश्यक पर्ने कठिन अवस्थामा पुगेको थियो । तर, शादाबले ९६ बलमा अविजित ११३ रन बनाएपछि खेलको नतिजा पाकिस्तानको पक्षमा मोडिएको हो । उहाँले १३ चौका र पाँच छक्का प्रहार गर्नुभयो ।
अन्तिम विकेटका लागि शादाब र हारिसले अविजित ८९ रनको साझेदारी गर्नुभयो । सफल ओडिआई लक्ष्य पछ्याउने क्रममा दशौँ विकेटका लागि भएको यो अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि यो कीर्तिमान ६४ रनको थियो ।
जितका लागि २७ रन आवश्यक हुँदा शादाबले गस एट्किन्सनलाई फाइन लेगमाथि छक्का प्रहार गर्नुभयो । त्यसपछि एट्किन्सनको बलमा उहाँ एलबिडब्ल्यू आउट घोषित हुनुभयो । शादाबले रिभ्यु लिएपछि अल्ट्राएजमा ब्याटमा बल लागेको देखियो र निर्णय उल्टियो । जीवनदान पाएपछि उहाँले एट्किन्सनलाई चौका प्रहार गर्दै ९१ बलमा आफ्नो पहिलो ओडिआई शतक पूरा गर्नुभयो । त्यसपछि अर्को चौका र छक्का प्रहार गर्दै पाकिस्तानलाई जितको नजिक पुर्याउनुभयो । हारिसले डेब्यु खेलाडी हेनरी क्रोम्बलाई चौका प्रहार गर्दै जित सुनिश्चित गर्नुभयो । हारिसले १८ बलमा तीन रन बनाउनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्ड ४६.४ ओभरमा २४१ रनमा अल आउट भएको थियो । बेन डकेटले १११ बलमा १० चौका र दुई छक्कासहित १०५ रन बनाउनुभयो । साम करनले ४२ रन जोड्दै डकेटसँग पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गर्नुभयो । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४६ रन दिएर चार विकेट लिनुभयो । रजाउल्लाहले दुई तथा हारिस राउफ र अराफातले समान एक विकेट लिनुभयो । डकेटको शतकका बाबजुद इंग्ल्याण्डले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन ।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका फखर जमान (१०), साइम अयुब (६) र बाबर आजम (१०) सस्तैमा आउट हुनुभयो । साद बैगले २२ बलमा ३२ रन बनाए पनि पाकिस्तानको संकट टरेन । सलमान अली आघाले २६ रन जोड्नुभयो ।
तर, शादाबको धैर्य र आक्रामक ब्याटिङले पाकिस्तानलाई अविश्वसनीय जित दिलायो । इंग्ल्याण्डले लगातार अर्को निराशाजनक हार बेहोर्दा पाकिस्तान भने फाइनलमा प्रवेश गर्न सफल भएको छ । एजेन्सी







जलवायु परिवर्तनप्रति विश्वका शक्ति राष्ट्र
भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका
भारतविरुद्ध वेष्ट इण्डिजको ऐतिहासिक रनचेज
एसियाडमा १३५ खेलाडी जाँदा जम्मा
फिफा विश्वकप छनोटमा एन्फाकै मिलेमतो