काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी नोकझोक तथा प्रेमिल केमेस्ट्री प्रस्तुत गरिएको छ । गीतले तत्कालीन नेपाली समाजको रहनसहन र सांस्कृतिक पक्षलाई समेत उजागर गरेको छ ।
निर्माण टिमका अनुसार नजिकिँदो तिहार पर्व र देउसीभैलोको आकर्षणलाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा रुबै र प्रवीण बेडुवालको स्वर रहेको छ भने रूप महानताले संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ । पञ्चेबाजा, सारंगी, गीतार र बाँसुरीका धुन समेटिएको गीतले नेपाली मौलिक संगीतको स्वाद पस्कने प्रयास गरेको छ ।
भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जून’ सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो । ३० देखि ४० को दशकको नेपाली सामाजिक परिवेशमा आधारित चलचित्रले तत्कालीन समयको जीवनशैली, प्रेम गर्ने शैली र आदर्श प्रेमको कथालाई पर्दामा उतार्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ ।
निर्देशक केसीका अनुसार ‘बाटुलो जून’ पुरानो समयको कथा प्रस्तुत गर्ने चलचित्र मात्र नभई उहाँको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको छ । तत्कालीन समयका लोकप्रिय अभिनेता केसी चलचित्रमा स्वयं महत्त्वपूर्ण भूमिकामा देखिनुहुनेछ ।
चलचित्रको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गर्नुभएको छ । राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको चलचित्रमा प्रदीप श्रेष्ठले एसोसिएट निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ । चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गर्नुभएको हो भने विवेक थापा सहनिर्माताका रूपमा हुनुहुन्छ ।
यसै चलचित्रमार्फत अभिनेत्री गरिमा पन्तले लामो समयपछि अभिनयमा पुनरागमन गर्नुभएको छ । पुरानो नेपाली समाजको परिवेश, प्रेमकथा र सांस्कृतिक पक्षलाई चलचित्रमा समेटिएको निर्माणपक्षले जनाएको छ ।







कात्तिक १ गतेदेखि चार दिन
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८
दशैं नजिकिएसँगै काठमाडौं छाड्नेको भिड
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८
नेपाल-भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक
सात दशक पुरानो कानून विस्थापन