काठमाडौं । यस वर्षको दशैँमा प्रदर्शनमा आएका तीन सिक्वेल चलचित्र ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ले अपेक्षानुसारको व्यापार गर्नसकेको देखिएन । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार आइतबारसम्म यी तीन चलचित्रले कूल आठ करोड ७४ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेका छन् । तीमध्ये पल शाह अभिनीत ‘आ बाट आमा २’ व्यापारमा अगाडि देखिएको छ भने विराज भट्टको ‘१२ गाउँ २’ सबैभन्दा पछाडि छ ।
बोर्डको तथ्यांकनुसार ‘आ बाट आमा २’ले एक लाख ३१ हजार ४९१ टिकट बिक्री गर्दै चार करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । असोज ३० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रको निर्देशन चन्द्र पन्तले गर्नुभएको हो । चलचित्रमा पल शाह, विपना थापा, मलिका महत, प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ र नरेन खड्कालगायत कलाकारको अभिनय छ ।
व्यापारको दोस्रो स्थानमा ‘छ माया छपक्कै २’ले ८२ हजार ७५९ टिकट बिक्रीबाट दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले पनि दर्शकको अपेक्षानुसारको व्यापार गर्न सकेको छैन ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको यस कमेडी चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भट्टराई मुख्य भूमिकामा हुनुहुन्छ । सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रमा दीपाश्री निरौला, निर्मल शर्मा, रवीन्द्र झा, रमा थपलिया, मेक्सम गौडेललगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता रोहित अधिकारी हुनुहुन्छ ।
यता, एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’को व्यापार भने कमजोर देखिएको छ । बोर्डका अनुसार यस चलचित्रले ५७ हजार ९८३ टिकट बिक्रीबाट एक करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कमाएको छ । दुई वर्षअघि प्रदर्शनमा आएको पहिलो भागले राम्रो व्यापार गरेको थियो । त्यसैले सिक्वेलबाट पनि ठूलो व्यावसायिक अपेक्षा गरिएको थियो । तर, प्रदर्शनको दश दिनसम्म पनि चलचित्रले दुई करोड रुपैयाँको आँकडा पार गर्न सकेको छैन ।
विराज भट्टको निर्देशन तथा अभिनय रहेको चलचित्रमा उहाँका छोरा समीर भट्टसहित अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, वर्षा इटनी, खुसी कार्कीलगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले लेख्नुभएको हो ।
दशैँमा चलचित्र प्रदर्शन गर्न निर्माताबीच हुने प्रतिस्पर्धा यसवर्ष पनि देखिएको थियो । ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ दशैँको मुखमा प्रदर्शनमा आएका थिए । त्यसपछि कात्तिक ६ गतेदेखि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ पनि हलमा लागेको छ ।
प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उत्साहजनक साथ पाइरहेको ‘कबड्डी ५’का शोमा दर्शकको उपस्थिति बढेसँगै अन्य चलचित्रका शो प्रभावित भएका छन् । दयाहाङ राई मुख्य भूमिकामा रहेको यस चलचित्रका शो हाउसफुल भइरहेका छन् । यसले गर्दा ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’का शो संख्या खुम्चिएका छन् । आगामी दिनमा घट्दो शो संख्याबीच यी चलचित्रले कति व्यापार गर्न सक्छन् भन्ने चासो बढेको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको दुई दिनमै ‘सुपरहिट’को ट्याग पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले आफ्नो आधिकारिक वेबसाइटमार्फत चलचित्रलाई ‘सुपरहिट’ घोषणा गरेको हो ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले क्यूएफएक्सका हलमा दुई दिनमै डेढ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेपछि उक्त मान्यता पाएको हो । क्यूएफएक्सले प्रदर्शनको पहिलो साताभित्र आफ्ना हलबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ । त्यस्तै, दुई सातामा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्नुलाई पनि यस मान्यताको आधार मान्ने गरिएको छ ।
यसअघि यसैवर्ष प्रदर्शनमा आएका चलचित्र ‘गौंथली’ र ‘पेन्सन पट्टा’ले दोस्रो सातामा मात्रै क्यूएफएक्सबाट ‘सुपरहिट’को मान्यता पाएका थिए । तर, ‘कबड्डी ५’ले प्रदर्शनको पहिलो साता पूरा नहुँदै उक्त मापदण्ड पार गरेको हो ।
प्रदर्शनको सुरुवातदेखि नै उत्साहजनक व्यापार गरिरहेको चलचित्रका अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । निर्माण पक्षले चलचित्रले दुई दिनमा देशभर तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको अनुमान गरेको छ । यद्यपि, निर्माण पक्षको यो दाबी आधिकारिक बक्स अफिस तथ्यांकबाट पुष्टि हुन बाँकी छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपिन कार्की, मिरुना मगर र रिश्मा गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रमा निर्देशक रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ ।
यसैबीच, बोर्डले दशैँअघि प्रदर्शनमा आएका ‘गौँथली’, ‘पेन्सन पट्टा’ र ‘बाः एक योद्धा’को व्यापार विवरण पनि सार्वजनिक गरेको छ । बोर्डको तथ्यांक अनुसार ‘गौँथली’ले २६ करोड तीन लाख १४ हजार ९० रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बाः एक योद्धा’ले तीन करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाएका छन् ।
चाडपर्वमा दर्शकको उपस्थिति बढ्ने विश्वासका कारण दशैँलाई नेपाली चलचित्रका लागि महत्त्वपूर्ण प्रदर्शन समय मानिन्छ । तर, हिट चलचित्रका सिक्वेलसमेत अपेक्षानुसार चल्न नसक्नुले यसवर्षको दशैँमा प्रदर्शनमा आएका फिल्मको व्यावसायिक प्रदर्शनमाथि प्रश्न उठाएको छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा