म्याग्दी । कुनै समय गरिबको भान्सामा सीमित थियो कोदो । बजारमा बिक्दैनथ्यो, बारीमा फलाउँदा पनि बिक्री हुने ग्यारेन्टी थिएन। तर समय फेरिएको छ। हिजो उपेक्षामा परेको यही कोदो आज सहरका उपभोक्ताले खोजीखोजी खान थालेका छन् । म्याग्दीका किसानका लागि कोदो अब पेट भर्ने अन्न मात्रै रहेन, आम्दानीको सम्भावना पनि बन्दै गएको छ।
म्याग्दीका गाउँमा उत्पादन हुने कोदोको बजार मूल्य र मागमा आएको परिवर्तनले परम्परागत खाद्य संस्कृतिमा नयाँ मोड ल्याएको छ । चार वर्षअघिसम्म प्रतिपाथी ६० रुपैयाँमा समेत बिक्री हुन नसकेको कोदो अहिले प्रतिपाथी २५० रुपैयाँसम्ममा बिक्री हुन थालेको किसानहरू बताउँछन् । बजारको यही परिवर्तनले लामो समयदेखि उपेक्षित कोदोखेतीप्रति किसानको आकर्षण बढाएको छ।
मालिका गाउँपालिका–२ का किसान रणबहादुर विकका अनुसार कोदोको परिकारको विविधीकरण र बजारमा यसको उपयोगिता बढ्दै जाँदा कोदोको महत्व पनि बढेको छ। पहिले बिक्री नहुने चिन्ताले निराश हुने किसान अहिले बजारको माग देखेर उत्साहित हुन थालेका छन् ।
कोदोखेतीका लागि म्याग्दीको पहाडी भूगोल उपयुक्त मानिन्छ। थोरै बीउ रोपेर पनि राम्रो उत्पादन लिन सकिने भएकाले यहाँका किसानले परम्परादेखि कोदो लगाउँदै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका छवटै स्थानीय तहमा कोदो उत्पादन हुन्छ। तर पर्याप्त बजार र व्यावसायिक खेतीको अभावमा यसको उत्पादन मुख्यतः घरपरिवारको उपभोगमै सीमित थियो ।
मंगला गाउँपालिका–३ की किसान खिमा रानाका अनुसार किसानले उत्पादन गरेको कोदो बजारसम्म पु¥याउन सके उचित मूल्यमा बिक्री गर्न सकिन्छ। गाउँमै ग्राहक आउन थालेपछि बजार खोज्दै टाढा जानुपर्ने झन्झटसमेत कम भएको छ।
मंगला गाउँपालिका–२ का कृष्ण सेनको अनुभवले पनि कोदोको बदलिँदो बजारलाई देखाउँछ । उहाँका अनुसार कोदो फलाउन धेरै दुःख गर्नुपर्दैन र थोरै लगानीमै राम्रो उत्पादन लिन सकिन्छ। तर पहिले उत्पादन गरेको कोदो बिक्री नहुँदा समस्या थियो । अहिले भने ग्राहक घरमै आउन थालेपछि बिक्रीको चिन्ता कम भएको छ।
सेनले गत वर्ष घरमै आएका ग्राहकलाई पाँच मुरी कोदो बिक्री गरेको र थप चार मुरी कोदो बाबियाचौर, सिंगातातोपानी तथा बेनीमा लगेर बेचेको बताउनुभयो । प्रतिपाथी २५० रुपैयाँका दरले बिक्री गर्दा गत वर्ष ३६ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
‘पहिले वर्षभरि दुःख गरेर फलाएको कोदो बिक्री गर्न बजार खोज्दै हिँड्नुपथ्र्यो । कहिलेकाहीँ बिक्री नै हुँदैनथ्यो । अहिले गाउँमै ग्राहक आउन थालेका छन्,’ उहाँले भन्नुभयो । किसान सेनको अनुभवले बजारमा आएको परिवर्तनलाई स्पष्ट पार्छ ।
कोदोको माग बढ्नुमा यसको पोषण महत्व र परिकारको विविधता पनि जोडिएको छ। पछिल्लो समय सहरमा परम्परागत खाद्यान्नप्रति रुचि बढ्दै गएको छ। कोदोको ढिँडो, रोटी, सेल, बिस्कुटलगायत विभिन्न परिकार बनाउन सकिने भएकाले यसको उपयोगिता पनि फराकिलो हुँदै गएको छ।
स्वास्थ्यका दृष्टिले पनि कोदो महत्वपूर्ण खाद्यान्न हो । यसमा फाइबर, खनिज तथा विभिन्न पोषक तत्त्व पाइन्छन् । सन्तुलित आहारको हिस्साका रूपमा कोदोको प्रयोग उपयोगी हुन सक्छ । यही कारण परम्परागत खाद्यान्नको पुनःप्रयोग र विविध परिकारको विस्तारले यसको बजारलाई थप सम्भावनायुक्त बनाएको छ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार आधुनिक बीउबिजनको विस्तार र अन्य खाद्यान्नको सहज उपलब्धताका कारण कतिपय स्थानमा कोदोखेती घटेको भए पनि म्याग्दीमा पछिल्लो समय यसको खेतीप्रति आकर्षण बढ्दै गएको छ। तर बजारमा माग बढ्नु मात्रै पर्याप्त छैन ।
कोदोको उत्पादनलाई व्यावसायिक बनाउन गुणस्तरीय बीउ, उत्पादन वृद्धि, संकलन, प्रशोधन, प्याकेजिङ र व्यवस्थित बजारीकरण आवश्यक छ। स्थानीय तह र कृषि निकायले किसानलाई उत्पादनदेखि बजारसम्म जोड्ने योजना बनाउन सके कोदोखेतीलाई दिगो आम्दानीको स्रोत बनाउन सकिने कृषि क्षेत्रका जानकारहरूको धारणा छ।
दरबाङ बजारका व्यवसायी अमृत सापकोटाका अनुसार प्रदेश तथा स्थानीय सरकारले स्थानीय उत्पादनको बजार व्यवस्थापन र व्यावसायीकरणमा ठोस योजना बनाए म्याग्दीको कोदो किसानको राम्रो आम्दानीको स्रोत बन्न सक्छ। म्याग्दीको कोदोले अहिले एउटा महत्वपूर्ण सन्देश दिएको छ—बजार र उपभोक्ताको रुचि बदलिँदा हिजो उपेक्षित कृषि उपज पनि किसानको आम्दानीको आधार बन्न सक्छ। तर गाउँमा उत्पादन भएको कोदो सहरको भान्सासम्म नियमित रूपमा पुर्याउने व्यवस्था गर्न सके मात्रै यो परिवर्तन किसानका लागि दीर्घकालीन अवसरमा बदलिनेछ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं