मकवानपुर । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हेटौँडा उपमहानगरपालिका-३ का कन्टेनर चालक घनश्याम बस्नेतको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
परिवारले सोमबार हेटौँडा-१० स्थित राप्ती नदीकिनारमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरेको हो । ‘मिलन’ नामले चिनिने बस्नेत रसुवागढी नाकाबाट सामान जाँचपास गरी फर्कने क्रममा भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए । उनी मधेश प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँथे ।
लामो समयसम्म उनको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको मृतकका काका इन्द्रमानसिं बस्नेतले जानकारी दिए ।
घनश्यामको परिवारमा आमा, श्रीमती र छोरी छन् । परिवारका मुख्य आर्थिक आधार रहेका उनी बेपत्ता भएपछि परिवार आर्थिक संकटमा परेको छ । उनको अवस्थाबारे कुनै निश्चित जानकारी नआउँदा परिवार लामो समयदेखि अन्योलमा थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरकाअनुसार भदौ १० गते रसुवामा आएको बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ ।
अन्तिम संस्कार गरिसकेका परिवारसहित बेपत्ता व्यक्तिका विवरण यकिन गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी प्रशासनले गरेको छ । बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा पीडित परिवारले अन्योल र मानसिक पीडा भोग्दै आएका छन् ।






भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको