लण्डन । इंग्लिस कप्तान ह्यारी केनले विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जित्दै इतिहास रच्नुभएको छ । सन् २००१ मा माइकल ओवेनले यो पुरस्कार जितेयता बालोन डी’ओर प्राप्त गर्ने केन पहिलो इंग्लिस खेलाडी बन्नुभएको हो । लण्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट पुरुष फुटबल खेलाडी घोषित भएसँगै केनले आफ्नो करिअरको अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभयो ।
३३ वर्षीय केन जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर हुनुहुन्छ । उहाँले उत्कृष्ट गोलसंख्या, निरन्तर प्रदर्शन र व्यक्तिगत क्षमताका आधारमा प्रतिस्पर्धी खेलाडीलाई पछि पार्नुभएको बिबिसीले जनाएको छ । स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामिन यामल र फ्रान्सेली स्टार किलियन एम्बाप्पेजस्ता खेलाडी प्रतिस्पर्धामा रहे पनि केनले बाजी मार्नुभएको हो ।
एम्बाप्पे दोस्रो र यामल तेस्रो स्थानमा रहनुभयो । केन बालोन डी’ओर जित्ने पाँचौँ इंग्लिस खेलाडी बन्नुभएको छ । यसअघि स्ट्यान्ली म्याथ्युजले सन् १९५६ मा, बबी चार्ल्टनले सन् १९६६ मा तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो पुरस्कार जित्नुभएको थियो । बेलायतका अन्य विजेतामा स्कटल्याण्डका डेनिस ल र उत्तरी आयरल्याण्डका जर्ज बेस्ट पनि रहनुभएको छ । केनको सफलताले इंग्लिस फुटबललाई लामो प्रतीक्षापछि अर्को ठूलो व्यक्तिगत सम्मान दिलाएको समाचारमा उल्लेख छ ।
गोलको वर्षा र कीर्तिमानी प्रदर्शन
केनले सन् २०२५-२६ को सिजन बायर्न म्युनिखबाट असाधारण प्रदर्शन गर्नुभएको थियो । उहाँले क्लबका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गर्नुभयो । बायर्नका लागि एकै सिजनमा कुनै पनि खेलाडीले गरेको यो सर्वाधिक गोलसंख्या हो । इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट गर्नुभएको गोलसमेत जोड्दा उहाँको संख्या ६५ खेलमा ७३ पुगेको थियो । यस अवधिमा उहाँले आठ असिस्ट पनि दिनुभएको थियो । युरोपका शीर्ष पाँच लिगमा आबद्ध क्लबका खेलाडीमध्ये एक सिजनमा ६१ गोल गर्ने केनको उपलब्धि दुर्लभ छ । उपलब्ध विवरणअनुसार, यसअघि क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडबाट सन् २०१४–१५ मा यति नै गोल गर्नुभएको थियो ।
केनले जर्मन बुन्डेसलिगामा ३६ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जित्नुभएको थियो । दोस्रो स्थानमा रहनुभएका खेलाडीभन्दा उहाँ १७ गोलले अगाडि हुनुहुन्थ्यो । च्याम्पियन्स लिगमा उहाँले १४ गोल गर्नुभयो । बायर्न प्रतियोगिताको सेमिफाइनलमा पराजित भएको थियो । जर्मन कपमा पनि केनको प्रदर्शन उत्कृष्ट रह्यो । उहाँले प्रतियोगितामा १० गोल गर्नुभयो । स्टुटगार्टविरुद्धको फाइनलमा ह्याट्रिक गर्दै बायर्नलाई ३–० को जित दिलाउनुभयो । जर्मन सुपर कपमा पनि उहाँले एक गोल गर्नुभएको थियो ।
इंग्ल्याण्डका लागि गरेको १२ गोलले उहाँको सिजनको कुल गोलसंख्या ७३ पुर्याएको थियो । यसमा विश्वकपका ६ गोल पनि समावेश थिए । युरोपका शीर्ष लिगका खेलाडीमध्ये एक सिजनमा योभन्दा बढी गोल गर्ने खेलाडी अर्जेन्टिनाका लियोनल मेसीमात्र रहेको विवरणमा उल्लेख छ । मेसीले सन् २०११–१२ को सिजन बार्सिलोना र अर्जेन्टिनाबाट कुल ८२ गोल गर्नुभएको थियो । त्यसपछि गर्ड मुलरले ७२, रोनाल्डोले ६६ तथा ब्राजिलका रोनाल्डोले पनि ६६ गोल गर्नुभएको थियो ।
उपाधिभन्दा व्यक्तिगत प्रदर्शन निर्णायक
बालोन डी’ओर जित्न केनलाई व्यक्तिगत प्रदर्शनले ठूलो मद्दत गर्यो । फुटबलमा प्रायः ठूला प्रतियोगिताका उपाधि जित्ने खेलाडीले यो पुरस्कार प्राप्त गर्ने गरेका छन् । तर, केनले गत सिजन फुटबलका दुई ठूला उपाधि जित्न नसके पनि व्यक्तिगत प्रदर्शनका आधारमा आफूलाई उत्कृष्ट प्रमाणित गर्नुभएको हो । उहाँले बायर्नबाट जर्मनीको लिग र कप जित्नुभएको थियो । तर, च्याम्पियन्स लिग र विश्वकपको सेमिफाइनलमा पुगेर पनि उपाधि जित्न सक्नुभएन ।
यसअघि बालोन डी’ओरका लागि उहाँको उत्कृष्ट उपलब्धि दशौँ स्थानमा रहेको थियो । यसपटक भने उहाँले पहिलो स्थान हासिल गर्नुभयो । इंग्ल्याण्डका पूर्वस्ट्राइकर एलन सियररले पनि केन पुरस्कारका योग्य रहेको बताउनुभएको थियो । बायर्न र इंग्ल्याण्डका लागि पछिल्लो १२ देखि १८ महिनामा गरेको प्रदर्शन असाधारण रहेको उहाँको भनाइ थियो ।
संघर्षबाट सफलतासम्म
पुरस्कार प्राप्त गरेपछि केनले आफ्नो सफलतालाई सहज यात्राको परिणाम नभएको बताउनुभयो । करिअरको सुरुवाती चरणमा आफूलाई भविष्यको सुपरस्टारका रूपमा हेरिएको थिएन भन्ने उहाँको भनाइ थियो । उहाँले उतारचढावबीच धैर्य राखेर मिहिनेत गरेको र आत्मविश्वास कायम राख्न संघर्ष गरेको बताउनुभयो । केनका अनुसार उच्चस्तरमा पुगेपछि पनि निरन्तर सुधार गर्ने प्रयासले आफूलाई अघि बढाएको हो ।
व्यक्तिगत क्षमतामाथि विश्वास, दृढता र मिहिनेतले नै यो उपलब्धि सम्भव भएको उहाँको भनाइ थियो । इंग्ल्याण्डका प्रशिक्षक थोमस टुकेलले केनले पुरस्कार जितेकोमा खुसी व्यक्त गर्नुभयो । केनको सफलतामा खुसी व्यक्त गर्दै सोमबार राती वेम्बलीका आर्चहरू सुनौलो प्रकाशले सजाइएको थियो ।
महिलातर्फ पुटेलासको तेस्रो उपाधि
पुरुषतर्फ केनले इतिहास रच्दा महिलातर्फ स्पेनकी एलेक्सिया पुटेलासले पनि बालोन डी’ओर फेमिनिन जित्नुभएको छ । उहाँले तेस्रोपटक यो पुरस्कार जित्दै आफ्नो नाममा अर्को उपलब्धि थप्नुभएको हो । यससँगै पुटेलासले स्पेनकै आइताना बोनमतीसँग तीन–तीनपटक पुरस्कार जित्ने कीर्तिमान बराबरी गर्नुभएको हो ।
पुटेलासले सन् २०२५-२६ को सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगसहित चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । सबै प्रतियोगितामा उहाँले २१ गोल र १३ असिस्ट गर्नुभयो । सन् २०२२ मा घुँडाको एसिएल चोटका कारण उहाँको करिअर नै जोखिममा परेको थियो । कठिन अवस्थाबाट पुनरागमन गर्दै फेरि विश्व फुटबलको सर्वोच्च व्यक्तिगत सम्मान जित्नु उहाँको सफलताको विशेष पक्ष बनेको समाचारमा उल्लेख छ ।
पुरस्कार ग्रहण गर्दा पुटेलासले फुटबल खेल्न चाहने बालबालिकालाई आफ्नो सपना पछ्याउन आग्रह गर्नुभयो । केटा वा केटी हुनु, कहाँबाट आएको हुनु वा अरूले के भन्छन् भन्ने कुराले आफ्नो सपना पूरा गर्ने बाटो रोक्न नहुने उहाँको सन्देश थियो । यसपटकको बालोन डी’ओरले व्यक्तिगत उत्कृष्टता, निरन्तर मिहिनेत र कठिन परिस्थितिबाट पुनरागमनको महत्त्वलाई फेरि उजागर गरेको छ । केन र पुटेलासका उपलब्धिले पुरुष तथा महिला फुटबलमा उत्कृष्ट प्रदर्शनको नयाँ उदाहरण प्रस्तुत गरेका छन् । एजेन्सी







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं