काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)ले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै अर्को कुनै लिग सञ्चालनका लागि आफूले स्वीकृति वा अनुमति नदिएको स्पष्ट पारेको छ । एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि आयोजना गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि एनएसएलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । एनएफएलमा एनएसएलमा सहभागी सातवटै फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने तयारी गरेपछि एनएसएलको यस्तो प्रतिक्रिया आएको हो ।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जारी गरेको विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एकमात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल लिग आयोजना गर्ने अधिकार आफूहरूसँग रहेको दाबी गरिएको छ । ‘हालैका समाचारमा आएजस्तो अन्य कुनै लिगका सम्बन्धमा एनएसएलले स्वीकृति वा अनुमति दिएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।
एनएसएलले नेपाली फुटबलको विकासका लागि आफ्नो दीर्घकालीन दृष्टिकोण, अधिकार र जिम्मेवारीप्रति प्रतिबद्ध रहेको जनाएको छ । नयाँ लिग सञ्चालनको विषयमा आफ्नो धारणा स्पष्ट पार्दै एनएसएलले यसबारे आगामी कदम तय गर्ने प्रक्रिया अघि बढिरहेको र थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ । ‘नेपाली फुटबलको भविष्य खेलाडी र समर्थकको हितलाई केन्द्रमा राखेर सहकार्य, आपसी सम्मान र साझा प्रतिबद्धताका साथ अघि बढ्दामात्रै राम्रो हुने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा उल्लेख छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेपछि नेपाली फुटबलको घरेलु प्रतियोगिता सञ्चालनबारे अन्योल बढेको छ । सरकारी हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई निलम्बन गरेपछि घरेलु फुटबल प्रतियोगितासहित यसअघि सञ्चालन हुँदै आएको एनएसएलसमेत प्रभावित भएको छ ।
एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा एनएसएलमा सहभागी हुँदै आएका काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्ने तयारी छ ।
एनएसएलका सातवटै फ्रेन्चाइज टोली एनएफएलमा सहभागी हुने तयारी भइरहेका बेला आएको विज्ञप्तिले नेपाली फुटबलमा नयाँ लिगको वैधानिकता, सञ्चालन अधिकार र प्रतियोगिताबीचको समन्वयबारे थप प्रश्न उठाएको छ । एनएसएलले भने यस विषयमा आफ्नो आगामी कदमबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।







कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो