बडादशैँको रौनक अझै मनमनमा बाँकी छ, तिहारको उज्यालो ढोकैमा आइपुगेको छ । घरआँगनमा चाडपर्वको उमंग छ, परिवारमा भेटघाटको उत्साह छ र नेपाली मनमा खुशी साटासाट गर्ने चाहना छ । यही उल्लासमय वातावरणमा नेपाली क्रिकेटले पनि आफ्नो उत्सवको शंघघोष गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) आरम्भ गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि आरम्भ भएको एनपिएलको तेस्रो संस्करण केवल एउटा खेल प्रतियोगिता होइन, यो नेपाली क्रिकेटको सपना, सम्भावना र सामूहिक उत्साहको महापर्व पनि हो ।
चाडपर्वले परिवारलाई जोड्छ, खेलले समाजलाई । चाडपर्वले खुशी बाँड्छ, क्रिकेटले साझा रोमाञ्च सिर्जना गर्छ । जब देशका विभिन्न भूगोल र समुदायका मानिस एउटै मैदानमा आफ्नो टोलीको पक्षमा स्वर बुलन्द गर्छन्, तब क्रिकेट खेलको सीमाभन्दा माथि उठेर राष्ट्रिय भावनाको साझा मञ्च बन्छ । एनपिएलले यही भावनालाई बलियो बनाउने अवसर पाएको छ । तर, अवसर पाउनु र त्यसलाई उपलब्धिमा बदल्नु फरक कुरा हो । प्रतियोगिताको वास्तविक उचाइ त्यसले सिर्जना गर्ने क्षणिक उत्साहमा मात्र होइन, नेपाली क्रिकेटको भविष्यमा छाड्ने स्थायी छापमा मापन हुनुपर्छ ।
एनपिएलका अघिल्ला दुई संस्करणले नेपाली दर्शकमा फ्रेन्चाइज क्रिकेटप्रतिको आकर्षण बढाएका छन् । घरेलु मैदानमा प्रतिस्पर्धात्मक क्रिकेट हेर्ने चाहना, आफ्नै खेलाडीलाई ठूला मञ्चमा खेलिरहेको देख्ने गर्व र नेपाली क्रिकेटमा लगानी गर्न सकिने सम्भावनाले यस प्रतियोगितालाई विशेष बनाएका छन् । अब तेस्रो संस्करणले त्यो आकर्षणलाई संस्थागत विश्वासमा रूपान्तरण गर्नुपर्नेछ । दर्शकको उत्साहलाई गुणस्तरीय खेलमा, प्रायोजकको लगानीलाई दिगो विकासमा र प्रतियोगिताको लोकप्रियतालाई नेपाली क्रिकेटको सामर्थ्यमा बदल्नु आजको मुख्य चुनौती हो ।
यसपटक एनपिएलको आकर्षण मैदानभित्र मात्र सीमित छैन । अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित नामहरूको उपस्थितिले प्रतियोगिताको चमक बढाएको छ । अष्ट्रेलियाका डेभिड वार्नर, वेष्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर, श्रीलंकाका एन्जेलो म्याथ्युज, न्युजिल्याण्डका जिम्मी निसम, बंगलादेशका शकिब अल हसन र पाकिस्तानलगायतका क्रिकेट राष्ट्रका खेलाडीको सहभागिताले नेपाली दर्शकलाई विश्वस्तरीय क्रिकेटको नजिक पुर्याउनेछ । यी खेलाडीको अनुभव, कौशल र प्रतिस्पर्धात्मक क्षमताले मैदानमा रोमाञ्च थप्न सक्छ ।
उनीहरूको उपस्थितिले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको खेल संस्कृति नजिकबाट बुझ्ने अवसर पनि दिनसक्छ । तर, विदेशी स्टारको आगमनलाई नै नेपाली क्रिकेटको उपलब्धिको अन्तिम मानक बनाउनु हुँदैन । उनीहरूले कति चौका-छक्का प्रहार गरे, कति विकेट लिए वा कति दर्शक ताने भन्नेभन्दा पनि उनीहरूको उपस्थितिबाट नेपाली खेलाडीले के सिके भन्ने प्रश्न महत्त्वपूर्ण छ । विदेशी खेलाडीको चमकमा घरेलु प्रतिभा ओझेलमा पर्नु हुँदैन । बरू, उनीहरूसँगै खेल्ने नेपाली खेलाडीको आत्मविश्वास बढोस्, खेलको स्तर उकासियोस् र भविष्यमा नेपाली खेलाडी पनि विश्वका ठूला फ्रेन्चाइज लिगमा सम्मानपूर्वक स्थान बनाउन सक्षम होऊन् । एनपिएलको सार्थकता विदेशी स्टारलाई स्वागत गर्नसक्ने क्षमतामा मात्र होइन, नेपाली स्टार जन्माउनसक्ने सामर्थ्यमा निहित छ ।
तेस्रो संस्करणका तीन पक्षले प्रतियोगितालाई थप महत्त्वपूर्ण बनाएका छन्- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक मान्यता, निर्णय पुनरावलोकन प्रणाली (डिआरएस)को प्रयोग र खेल सञ्चालनमा व्यावसायिकताको विस्तार । एनपिएलका खेलले लिस्ट ए टी–२० को मान्यता पाउनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि हो । यसले प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई आधिकारिक अभिलेखमा स्थापित गर्नेछ । नेपाली खेलाडीको रन, विकेट र अन्य उपलब्धिले अन्तर्राष्ट्रिय क्रिकेटको तथ्यांकमा स्थान पाउनु उनीहरूको पहिचान र भविष्यका अवसरका दृष्टिले महत्त्वपूर्ण छ ।
चाडपर्वको समयमा प्रतियोगिता आयोजना हुनु आयोजकका लागि अवसर हो । बिदाको समय, परिवारसँगको फुर्सद र मनोरञ्जनको चाहनाले दर्शकलाई मैदानसम्म तान्न सक्छ । टेलिभिजन र डिजिटल माध्यमबाट पनि प्रतियोगिताले व्यापक दर्शक पाउनसक्छ । तर, चाडपर्वको उल्लासलाई दर्शक संख्याको सुनिश्चितताका रूपमा बुझ्नु भूल हुनेछ । दर्शकको माया स्वतः प्राप्त हुने सुविधा होइन, त्यो गुणस्तरीय खेल, सहज टिकट व्यवस्था, उचित मूल्य, व्यवस्थित प्रवेश, सुरक्षित वातावरण र सम्मानजनक दर्शक सेवाबाट आर्जन गर्नुपर्छ । खेल हेर्न चाहने नागरिकले अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था आउनु हुँदैन ।
विशेषगरी कीर्तिपुरको मैदान र त्यस वरपरको व्यवस्थापन प्रतियोगिताको सफलतासँग प्रत्यक्ष जोडिएको छ । दर्शकको आवागमन, पार्किङ, सार्वजनिक यातायात, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी र आपत्कालीन सेवामा आयोजकको तयारी परीक्षण हुनेछ । मैदानभित्र चौका, छक्काको उत्सव भइरहँदा मैदानबाहिर अव्यवस्था, असुविधा र असुरक्षाको अनुभूति हुनु हुँदैन । राम्रो प्रतियोगिता भनेको खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने मञ्चमात्र होइन, दर्शकले पनि सुरक्षित, सहज र सुखद् अनुभव लिएर घर फर्कने वातावरण हो ।
प्रतियोगिताका लागि दैनिक एक हजार पाँच सय बढी प्रहरी परिचालन गर्ने, खेलाडीका होटलदेखि मैदानसम्म सुरक्षा व्यवस्था मिलाउने, ट्राफिक व्यवस्थापन गर्ने तथा सिसीटिभी, ड्रोन र अन्य निगरानी प्रविधिको प्रयोग गर्ने तयारीले सुरक्षाप्रतिको गम्भीरता देखाउँछ । यद्यपि, सुरक्षा व्यवस्था प्रभावकारी हुन परिचालनको संख्यामात्र पर्याप्त हुँदैन । विभिन्न निकायबीचको समन्वय, स्पष्ट जिम्मेवारी, आकस्मिक अवस्थाको पूर्वतयारी र दर्शकमैत्री व्यवहार उत्तिकै आवश्यक हुन्छ । खेलको उत्सवलाई भयमुक्त र मर्यादित बनाउनु आयोजक, सुरक्षा निकाय र दर्शक सबैको साझा दायित्व हो ।
एनपिएलको अर्को महत्त्वपूर्ण पक्ष यसको आर्थिक आयाम हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताको विजेताले डेढ करोड रुपैयाँ, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । क्यानले प्रायोजन, टिकटलगायतका स्रोतबाट हुने आम्दानीसहित प्रतियोगितासँग जोडिएको कुल कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो आँकडा नेपाली क्रिकेटको व्यावसायिक सम्भावनाको संकेत हो । घरेलु खेलकुदमा यति ठूलो आर्थिक गतिविधि सिर्जना हुनु उत्साहजनक पक्ष हो ।
आठ टोलीबीचको प्रतिस्पर्धा, राउण्ड रोबिन चरण, प्लेअफ र फाइनलसम्मको यात्रा खेलकुदीय रोमाञ्चका आधार हुन् । विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले आफ्नो खेलमार्फत समर्थकको विश्वास जित्नेछन् । प्रत्येक टोलीको लक्ष्य उपाधि भए पनि प्रतियोगिताको समग्र लक्ष्य त्यसभन्दा ठूलो हुनुपर्छ- नेपाली क्रिकेटप्रतिको जनविश्वास बढाउनु, नयाँ प्रतिभा पहिचान गर्नु र खेललाई देशको साझा गौरव बनाउनु । ब्याटबाट निस्कने प्रत्येक प्रहार, बलरले लिने प्रत्येक विकेट र दर्शकदीर्घाबाट उठ्ने प्रत्येक हुटिङले यो यात्रालाई जीवन्त बनाउनेछ । तर, ताली र उत्साहको प्रतिध्वनि प्रतियोगिता सकिएपछि पनि नेपाली क्रिकेटको संरचना, खेलाडीको क्षमता र संस्थागत संस्कृतिमा सुनिनुपर्छ ।





सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?