काठमाडौं । सर्वोच्च अदालतले एउटै कानुन र तथ्य भएका मुद्दामा फरक-फरक व्याख्या गर्न नहुने जिकिर गरेको छ । एउटै तथ्यगत र कानुनी प्रश्न समावेश भएका विवादहरूमा एउटै इजलास वा समस्तरको भिन्न-भिन्न इजलासबाट फरक-फरक व्याख्या र निर्णय हुन पुगी न्यायिक अराजकताको स्थिति सिर्जना हुने भएकोले फरक व्याख्या गर्न नहुने जिकिर अदालतले गरेको हो ।
न्यायाधीश कुमार रेग्मी, शारंगा सुवेदी र बालकृष्ण ढकाल संलग्न पूर्ण इजलासबाट हालसालै सार्वजनिक भएको फैसलाको पूर्ण पाठमा सर्वोच्चबाट प्रतिपादन भएका नजिर स्वयं सर्वोच्च अदालतले पनि पालना गर्नुपर्ने जनाएको हो । पूर्वव्याख्यासँग असहमत हुने वा फरक मत व्यक्त गर्ने अधिकार सर्वोच्चकै इजलास वा न्यायाधीशमा रहने भए पनि त्यसको लागि विधिसम्मत र स्थापित पद्धति अवलम्बन गरिनुपर्ने सर्वोच्चको जिकिर छ ।
कुनै कानुनको व्याख्या गरेर वा कानुनी सिद्धान्तको प्रतिपादन गरेर त्यसको आधारमा मुद्दाको निर्णय भएको छ भने त्यो व्याख्या वा सिद्धान्त त्यस्तै प्रकृतिका अन्य मुद्दाहरूको लागि नजिर हुने भनी प्रदीपकुमार अग्रवालविरुद्ध कर कार्यालय मोरङसमेत भएको रिट निवेदनलगायत थुप्रै मुद्दामा व्याख्या भएको स्मरणसमेत सर्वोच्चले गराएको छ । सर्वोच्चले यो मुद्दामा अन्य नजिर सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्टान्तका रूपमा प्रस्तुत गरेको छ ।
नजिर र सिद्धान्त सर्वोच्चबाटै पालना नभए ‘न्यायिक अराजकता हुने’
सर्वोच्चको पूर्ण इजलासले नजिर र सिद्धान्त सर्वोच्चबाटै पालना नभए ‘न्यायिक अराजकता हुने’समेत व्याख्या गरेको छ । नजिर सिद्धान्तहरू अरूका लागि मात्र नभई सर्वोच्चकै लागि पनि बाध्यकारी रहेको उल्लेख छ । संविधानतः सर्वोच्च अदालतलाई अभिलेख अदालतको रूपमा स्थापित गरेको बताउँदै मुद्दा मामिलाको रोहमा संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालन गर्नुपर्ने व्यवस्था रहेको पनि फैसलामा उल्लेख गरिएको छ ।
“सबैले पालना गर्नुपर्छ भन्नुको अर्थ सर्वोच्च अदालतले चाहिँ आफूले प्रतिपादित गरेको सिद्धान्त मान्नु पर्दैन भन्ने होइन । त्यसैले नजिर सिद्धान्त प्रतिपादन गर्ने यस अदालत स्वयं पनि त्यस्तो संविधान वा कानुनको व्याख्या वा प्रतिपादित कानुनी सिद्धान्तको प्राधिकारबाट बाँधिन पुग्दछ,” पूर्ण इजलासले भनेको छ, “न्यायको निश्चितता तथा अन्तिमताको लागि पनि व्याख्या वा प्रतिपादित कानुनी सिद्धान्तको पालना गर्ने विषय अपरिहार्य देखिन आउँछ ।”
के थियो मुद्दा ?
नसिमा खातुनको जाहेरीले नेपाल सरकारविरुद्ध आलिम खाँ पैठान, अनिसा खातुन, नवि अहमद भन्ने अहमद खाँ पैठान तथा मुस्तफा खाँ पैठान भएको ‘कुटपिट’ वा ‘अंगभंग’ मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चबाटै स्थापित नजिरमा एकरूपता नभएर परस्पर बाझिएको प्रश्न उठेपछि पूर्ण इजलासबाट यस्तो व्याख्या आएको हो ।
यो मुद्दामा यी प्रतिवादीहरूलाई तोकिएको सजाय तथा कतिपयलाई सफाइ दिनेगरी तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन परेको थियो । २०८१ पुस ११ मा भएको फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक भएको हो ।
२०६६ पुस २८ गते सर्लाहीको साबिक कौडेना गाविस–७ मा कुटपिट घटना भएको थियो । स्थानीय अनिसा खातुन, नवि अहमद भन्ने अहमद खाँ पैठान, मुस्तफा खाँ पैठान र कलाम खाँ पैठान समेतले कुटपिट गर्दा स्थानीय मुस्ताक खाँको घुँडाको हड्डी भाँचिएर गम्भीर घाइते बनेको भन्दै प्रहरी जाहेरीअनुरूप जिल्ला अदालतमा मुद्दाको सुरुआत भएको हो । आफ्ना श्रीमान् खाँलाई कुटपिटबाट अंगभंग तुल्याइएको भन्दै उनकी श्रीमती नसिमा खातुनले प्रहरी जाहेरी दिएकी थिइन् । तहतह हुँदै सर्वोच्च पुगेको उक्त मुद्दामा पुनरावेदनको फैसला जाँचका क्रममा सर्वोच्चका तत्कालीन न्यायाधीश टंकप्रसाद मोक्तान र हरिकृष्ण कार्कीबीच राय बाझिएपछि पूर्ण इजलासमा पुगेको हो ।
२०७९ असार ३१ मा राय बाझी फैसला भएको थियो । त्यतिबेला न्यायाधीश मोक्तानले मुद्दाका प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनलाई साबिक मुलुकी ऐन, कुटपिटको महलको ६ नं. बमोजिम जनही दुई वर्ष कैद र जनही १२५० रुपैयाँ जरिवाना गर्नेगरी भएको तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला केही हदसम्म उल्टी गर्दै जनही दुई वर्ष कैद मात्र सदर गर्नुभएको थियो । मोक्तानले कुटपिटका कारण ‘अंगभंग’ भएको ठहर गर्नुभएको थियो ।
तर, न्यायाधीश कार्कीले पुनरावेदन अदालतले तोकेको जरिवाना र कैद सजायमा केही उल्टी गरी अंगभंगको विद्यमानता नदेखिने भन्दै कुटपिट रहेको ठहर गर्नुभएको थियो । प्रतिवादीहरू नवि अहमद भन्ने अहमद खाँ पैठान र मुस्तफा खाँ पैठानलाई आरोपित कसुरबाट सफाइ दिनेगरी भएको तत्कालीन पुनरावेदन अदालत जनकपुरको फैसला सो हदसम्म सदर हुने तथा प्रतिवादीहरू आलिम खाँ पैठान र अनिसा खातुनको हकमा कुटपिटमा परिणत हुने राय कार्कीको थियो ।
सर्वोच्चका न्यायाधीशत्रय रेग्मी, सुवेदी र ढकाल संलग्न पूर्ण इजलासले पनि अन्ततः कार्कीको रायलाई नै सदर गरेको छ । पीडितको चोट लागेको अंग भाँची, फोरी, फुकाली बेकम्मा पारेको अवस्था रहेको भन्ने उल्लेख नभएको स्थितिलाई हेर्दा प्रस्तुत वारदातमा कुटपिटको कसुर स्थापित हुने व्याख्या गरिएको हो ।
‘कुटपिट’ र ‘अंगभंग’को फरक के ?
सर्वोच्चमा पुगेको मुद्दा ‘कुटपिट’ वा ‘अंगभंग’ के हो भनेर छिनोफानो गर्ने क्रममा तीन न्यायाधीश संलग्न पूर्ण इजलासबाट यस्तो व्याख्या आएको हो । सर्वोच्चले यो मुद्दामा व्याख्यामार्फत ‘कुटपिट’ र ‘अंगभंग’ बीचको फरकसमेत छुट्याइदिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को व्याख्या गर्दै कसैलाई शारीरिक पीडा पुर्याएमा, रोग सारेमा, शरीरको कुनै अंग सामान्य रूपमा काम गर्न नसक्ने गरी अशक्त बनाएमा वा मानसिक अशक्त बनाएमा ‘कुटपिट’ गरेको मानिने फैसलामा उल्लेख छ ।
तर, ‘अंगभंग’ हुनका लागि आँखाको हेर्ने शक्ति, नाकको सुँघ्ने शक्ति, कानको सुन्ने शक्ति, जिब्रोको बोल्ने शक्ति हीन गरिदिएमा वा महिलाको स्तन काटिदिएमा वा महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा वा मेरुदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अंगको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिने गरी कुटपिट भएको हुनुपर्ने भनिएको छ ।
कुटपिटको कारणबाट आफ्नो पेसाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा तथा कुटपिटबाट तत्काल अंगभंग नभए तापनि सोही कामको परिणामस्वरूप पछि अंगभंगको परिणाम निस्केमा पनि अंगभंग भएको मानिने सर्वोच्चको ठहर छ ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :