काठमाडौं । यस वर्षको तिहारमा झण्डै ५२ लाख माला खपत हुने बताइएको छ । सयपत्री, मखमली, गोदावरी तथा विभिन्न फूल मिसाएर तयार गरिने मिक्स मालासमेत गरी ५१ लाख ८० हजारवटा मालालगायत तिहारमा ४८ करोडको पुष्पजन्य कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)ले जनाएको छ । तिहारमा सयपत्री फूलका करिब ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका करिब ६० हजार माला खपत हुने अनुमान गरिएको छ । जसमध्ये अधिकांश माग स्वदेशी फूलबाट पूर्ति हुने अपेक्षा गरिएको छ ।
सयपत्री, मखमली, गोदावरी तथा विभिन्न फूल मिसाएर तयार गरिने मिक्स मालासमेत गरी ५१ लाख ८० हजारवटा मालालगायत ४८ करोडको पुष्पजन्य कारोबार हुने अनुमान गरिएको फ्यानले जनाएको छ ।
फ्यानका अनुसार तिहारमा मालासँगै जीवित सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलासमेत ठूलो कारोबार हुने भएकाले तिहारलक्षित पुष्प बजार ठूलो हुने सम्भावना देखिएको छ । गत वर्षको तिहारमा व्यावसायिकरूपमा उत्पादित करिब ४० लाख सयपत्री फूलका माला खपत भएको थियो । यस वर्ष करिब ४५ लाख सयपत्री माला कारोबार हुने अनुमान गरिएको छ । गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री फूलको खेतीमा क्षति पुगे पनि आन्तरिक उत्पादनबाट करिब ४० लाख माला आपूर्ति हुने फ्यानको अनुमान छ ।
बाँकी माग व्यवस्थापन गर्न स्थानीय तथा ग्रामीण क्षेत्रबाट उत्पादित फूललाई बजारसम्म पुर्याउने तथा आवश्यक परे नपुग हुने फूलको व्यवस्थापन गर्ने पहल भइरहेको बताइएको छ । फ्यानका अनुसार हाल सातै प्रदेशका विभिन्न जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार भइरहेको छ । फ्यानका महासचिव हिरामणि शर्माका अनुसार फ्यानको प्रारम्भिक सर्वेक्षणले दुई सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको देखाएको छ भने हरेक वर्ष सयपत्री खेती क्षेत्र विस्तार हुँदै गएको छ । ग्रामीण तथा उत्पादन क्षेत्रहरूमा सयपत्रीको माग लगभग पूर्णरूपमा स्वदेशी उत्पादनबाटै धान्न सकिने अवस्था रहेको छ । मुख्य शहरी तथा बजार केन्द्रित क्षेत्रमा भने करिब ८८.८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुने र करिब ११.११ प्रतिशत बराबरको माग व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ ।
शर्माका अनुसार मखमली फूलको हकमा यस वर्ष तिहारका लागि करिब छ लाख माला बराबरको बजार हुने अनुमान गरिएको छ । जसमध्ये करिब चार लाख माला आन्तरिक बजारमा खपत हुने र करिब दुई लाख माला निर्यात हुने अनुमान गरिएको छ । मखमली फूलको उत्पादनमा नेपाल हाल आन्तरिक माग पूर्ति गर्न सक्षम रहेको छ । काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी-बडिखेल, धादिङ, पाल्पा, कैलाली, इलामलगायतका क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
यस वर्ष तिहारमा करिब २० हजार गोदावरी फूलका माला खपत हुने अनुमान गरिएको छ । गोदावरी मालाको औसत थोक मूल्य करिब एक हजार दुई सय रुपैयाँ रहने अनुमान गर्दा सोको कारोबार करिब दुई करोड ४० लाख रुपैयाँ पुग्ने देखिएको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार विभिन्न फूल समावेश गरी तयार गरिने मिक्स माला करिब ६० हजारवटा खपत हुने र त्यस्तो मालाको औसत थोक मूल्य करिब चार सय रुपैयाँ कायम हुँदा मिक्स मालाबाट करिब दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । तिहारलक्षित सयपत्री तथा गोदावरीका जीवित फूलका पोली तथा गमलाबाट मात्रै करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
भोलिदेखि ललितपुरमा गोदावरी पुष्पमेला
रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि भन्ने नाराका साथ ललितपुस्थित जावलाखेल खेल मैदानमा बिहीबारदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहार र छठलाई लक्षित गर्दै फ्यानले १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आयोजना गर्ने भएको हो । फ्यानद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गोदावरी फूल मेलामा व्यावसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल एक, अफिसियल स्टल चार, प्रतियोगितात्मक स्टल दुई र फोटो सेल्फी स्टल एक गरी जम्मा ८६ प्रदर्शनी कक्ष रहनेछन् ।
विशेषगरी उक्त प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने आयोजकले जनाएको छ । जसअन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलका पाँचवटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीका प्रजातिहरूमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहनेछन् । मेलामा सहभागी नर्सरी व्यवसायीलाई उत्साह थप्न उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
साथै यस वर्ष कट–फ्लावरतर्फ उत्कृष्ट पुष्प सजावट विधा पनि थप गरिएको छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी/फर्मलाई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने बताइएको छ । यस वर्ष भित्रिएका नयाँ गोदावरी केही प्रजातिका फूल बिरुवासहित चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित तथा बिक्री गरिने फ्यानले जनाएको छ । पाँच दिनसम्म सञ्चालन हुने गोदावरी फूल प्रदर्शनीमा एक करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।







पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध