काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दोक्रममा रहेको छ । देशको अर्थतन्त्रमा मन्दीसँगै बैंकहरूमा खराब कर्जा असुली प्रभावित हुँदा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको हो । गत वर्ष देशमा ठूलै राजनीतिक परिवर्तनपछि नयाँ सरकार आउँदासमेत निजी क्षेत्र आशावादी बन्न नसक्दा लगानी विस्तार हुन सकिरहेको छैन ।
गत वर्षको सोही अवधिमा यस्तो गैरबैंकिङ सम्पत्ति करिब ४३ अर्ब बराबरको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ भदौसम्म १९ वाणिज्य बैंकको कुल गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति एक वर्षमा ११ प्रतिशत नाघेको हो । गत वर्षको सोही अवधिमा त्यस्तो सम्पत्ति ४२ अर्ब ९१ करोड पाँच लाख थियो । बैंकहरूले कर्जा प्रवाह गर्दा धितो राखिएको सम्पत्ति ऋणीबाट कर्जा असुल हुन नसकेपछि लिलामीमा निकाल्ने तर लिलामी प्रक्रियाबाट बिक्री हुन नसकेमा बैंक आफैंले त्यस्तो सम्पत्ति सकार्नुपर्ने व्यवस्थाका कारण बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको हो ।
अर्थतन्त्रमा देखिएको सुस्तता, घरजग्गा कारोबारमा आएको मन्दी तथा धितो बिक्री हुन नसक्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ । राष्ट्र बैंकका अनुसार १४ वटा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने पाँचवटा बैंकको घटेको छ । गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक पहिलो स्थानमा छ । उक्त बैंकको त्यस्तो सम्पत्ति गत वर्षको भदौमा पाँच अर्ब ८४ करोड १५ लाख रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ९.७४ प्रतिशतले बढेर छ अर्ब ४० करोड ९१ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि गत वर्ष तीन अर्ब ८२ करोड २० लाख रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ५३.४३ प्रतिशतले बढेर पाँच अर्ब ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । तर, ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति भने घटेको छ ।
गत वर्ष छ अर्ब आठ करोड ४८ लाख रुपैयाँ रहेको त्यस्तो सम्पत्ति ६.७५ प्रतिशतले घटेर पाँच अर्ब ६७ करोड ४० लाखमा झरेको हो । प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति भने २२.४५ प्रतिशतले बढेर चार अर्ब ९० करोड १६ लाख रुपैयाँ पुगेको छ । एनआइसी एसिया बैंकको ८.७२ प्रतिशतले घटेर चार अर्ब ११ करोड ८० लाखमा झरेको छ भने नबिल बैंकको गैरबैंकिङ सम्पत्ति पनि १०.९१ प्रतिशतले घटेको छ । गत वर्ष तीन अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेकोमा यसको सोही अवधिमा तीन अर्ब ८ करोड २० लाखमा झरेको छ ।
तर, प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति ५०.१० प्रतिशतले बढेको छ । गत वर्ष एक अर्ब ६७ करोड २९ लाख रुपैयाँ रहेकोमा बढेर दुर्ई अर्ब ५१ करोड ११ लाख रुपैयाँ पुगेको हो । त्यसैगरी लक्ष्मी सनराइज बैंकको गैरबैंकिङ सम्पत्ति ७.२१ प्रतिशतले बढेर दुई अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा दुई अर्ब २१ करोड ६३ लाख रुपैयाँ थियो भने कुमारी बैंकको १०.८८ प्रतिशतले घटेर दुई अर्ब २४ करोड ६८ लाखमा झरेको छ । एनएमबी बैंकको गैरबैंकिङ सम्पत्ति १०.६५ प्रतिशतले बढेर एक अर्ब ९५ करोड १२ लाख र सिटिजन्स बैंकको गैरबैंकिङ सम्पत्ति ४०.५० प्रतिशतले बढेर एक अर्ब ७७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति १०.५० प्रतिशतले बढेको छ । गत वर्ष एक अर्ब ३४ करोड १५ लाख रुपैयाँ रहेको चालु आर्थिक वर्ष बढेर एक अर्ब ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको पनि ४३.६२ प्रतिशतले बढेको छ । गत वर्ष ९४ करोड ७६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष बढेर एक अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ । सानिमा बैंकको पनि २७.२५ प्रतिशतले बढेर एक अर्ब २७ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ बैंकको १५.७५ प्रतिशतले बढेर ८९ करोड ३७ लाख पुगेको छ ।
माछापुच्छ्रे बैंकको गैरबैंकिङ सम्पत्ति ५.४० प्रतिशतले बढेर ६३ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने एभरेष्ट बैंकको गैरबैंकिङ सम्पत्ति ११.१७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष ५६ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष{ ५० करोड ५८ लाख रुपैयाँमा झरेको छ । नेपाल बैंकको ३६.५५ प्रतिशतले बढेर ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ८.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २५ करोड ६७ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष २७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
शर्तहरू बुझेरमात्रै कर्जा लिन आग्रह
नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि आफ्नो आम्दानी, तिर्न सक्ने क्षमता, धितो तथा कर्जासँग सम्बन्धित शर्तबारे राम्रोसँग बुझ्न सर्वसाधारणलाई सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले जारी गरेको सन्देशमार्फत् कर्जा लिने प्रक्रिया, ऋणीको अधिकार तथा दायित्वबारे जानकारी गराएको हो । केन्द्रीय बैंकका अनुसार बचत अपर्याप्त हुँदा आवश्यकताअनुसार कर्जा लिन सकिन्छ ।
कर्जा पुँजी निर्माण तथा उपभोग दुवै प्रयोजनका लागि प्रवाह गरिन्छ । तर, कर्जा लिनुअघि त्यसको उद्देश्य, लागत, प्रतिफल र सम्भावित जोखिमको विश्लेषण गर्नु आवश्यक हुन्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्दा पाँच प्रमुख आधारलाई ध्यान दिनुपर्ने उल्लेख गरेको छ । जसअन्तर्गत नगद प्रवाह (क्यास फ्लो), स्वपुँजी (क्यापिटल), ऋणीको चरित्र तथा विगतको वित्तीय इतिहास (क्यारेक्टर), धितो तथा सुरक्षण र कर्जासम्बन्धी शर्त, अधिकार तथा कर्तव्य कर्जा मूल्यांकनका प्रमुख आधार हुन् ।
केन्द्रीय बैंकका अनुसार कर्जा आवेदकले बैंक तथा वित्तीय संस्थाले तोकेको ढाँचामा कर्जा आवेदन फाराम भर्नुपर्छ । त्यससँगै नागरिकता वा प्यान कार्डजस्ता पहिचान खुल्ने कागजात, सम्पत्ति तथा दायित्वको विवरण, आम्दानीको प्रमाण र धितो राख्ने सम्पत्तिसम्बन्धी आवश्यक कागजात पेश गर्नुपर्छ ।
त्यस्तै ऋणीको मूल्यांकनअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आवेदकको आम्दानी, कर्जा तिर्न सक्ने क्षमता, स्वलगानी, विगतको वित्तीय इतिहास तथा धितो सुरक्षणलगायतका पक्षको मूल्यांकन गर्छन् । त्यसैका आधारमा आवेदकले कर्जा तिर्न सक्ने अवस्था छ वा छैन भन्ने विश्लेषण गरिन्छ । कर्जा स्वीकृतिअन्तर्गत आवेदकको आर्थिक अवस्था र कर्जा तिर्न सक्ने क्षमताको मूल्यांकन सन्तोषजनक भएमा बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृत गर्छन् ।
स्वीकृतिपत्रमा कर्जाको कुल रकम, ब्याजदरको संरचना, भुक्तानी अवधि तथा अन्य शर्त स्पष्टरूपमा उल्लेख गरिएको हुन्छ । कर्जा प्रवाहअन्तर्गत कर्जा स्वीकृतिपछि धितो, ग्यारेन्टी तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि बैंक तथा वित्तीय संस्थाले स्वीकृत रकम एकैपटक वा चरणबद्धरूपमा ऋणीको बैंक खातामा उपलब्ध गराउँछन् ।
अनुगमन र भुक्तानी प्रक्रियाअन्तर्गत कर्जा प्रवाह भएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोगिताबारे अनुगमन गर्छन् । ऋणीले पनि कर्जाको रकम स्वीकृत उद्देश्यअनुसार प्रयोग गर्ने तथा तोकिएको समयतालिकाअनुसार साँवा र ब्याज भुक्तानी गर्नुपर्छ ।







एमाले केन्द्रीय कमिटीमा मनोनीत १३
दशैंसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल,
नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको
प्रस्तावित अमेरिकी राजदुत थापाको कार्ययोजनामाथि
दशैं आयो, ग्यास आएन :
एमालेमाथि घेराबन्दी चालु छ, एकजुट