एउटा कथा छ, चील नामको एक चराले आफू ७० वर्ष पुगेपछि आफ्नो खिइएर काम नलाग्ने भएको चुच्चोलाई पुनः ताजगी गर्न र काम नलाग्ने पँखेटालाई फ्यालेर काम लाग्ने नयाँ निर्माण गर्न बुढो भएपछि पहाडको टुप्पो गएर आफ्नो बाँकी पँखेटाहरू सबै निकाल्छ र ठुङ्न नसक्ने आफ्नो चुच्चोलाई कडा ढुँगामा तिखारेर पहिलाकै जस्तो बनाउँछ । यो काम गर्न उसलाई एकान्त ठाउँ चाहिने भएकोले ऊ पहाडमा करिब ६ महिना बिताउछ । यस्तै, बुढो हुँदैमा कोही कामै नलाग्ने हुँदैन ।
असत्यको ओढ्ने ओढेर सत्य कुरा देखाइ जनतालाई झुक्याउने चरित्रले देशलाई बर्बाद बनाइ रहेछ । नेपालमा प्रायः पार्टीहरूको यस्तै चलन चल्ती हुँदैआएको छ ।
आफूलाई समय सापेक्ष बलियो भएर काम गर्न केही अंगहरू परिवर्तन गर्नै पर्दछ । आफ्ना केही निर्वलिया अंगहरू लाई फेरेर हुन्छ कि सुधार गरेर हुन्छ जीवन अझै लम्याउन सकिन्छ । ठ्याक्कै त्यस्तै अहिले नेपालमा पार्टीहरू को हालत त्यही भइरहेछ । केही पार्टीहरू परिवर्तन हुन चाहेका छैनन् । केही आफूलाई सुधार गर्ने प्रक्रियामा पनि छैनन् । परिवर्तन या सुधार नभई चीलको झैं राम्ररी उड्न सक्ने अवस्था छैन र खाने मुख पनि बिग्री सकेको छ । पँखेटा पनि कामै नलाग्ने भएको छ ।
नेपाली राजनीतिक चेतना र परिवर्तनलाई विचार गर्दा हरेक पुराना पार्टीहरूले आफूलाई सुधार गर्न सक्नुपर्छ होइन भने उनीहरू सिद्धिँदै जान्छन् । नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक चेतना जागरणको मामिलामा नेपाली कांग्रेसको योगदान महत्त्वपूर्ण हुँदाहुँदै केही नेताहरूको लापरबाहीका कारण उसको अहिले पँखेटा पनि पुरानो भएको छ र उसको राजनीतिक मुख अलि बिग्रिएको छ । त्यसैले उसले अहिले पुरानो काम नलाग्ने पँखेटा फेरेर नयाँ पँखेटा हाल्ने र बिग्रिएको अनुहारलाई राम्रो बनाउने दाउमा अधिवेशन पनि गरिसकेको छ । कांग्रेसका केही पुराना अनुहारहरूले भने छुट्टै अधिवेशन गरेर अघि बढ्ने दाउमा छन् । यसबाट कांग्रेस दुई चिरा हुने संकेत देखापरेको छ ।
कांग्रेसलाई नयाँ पँखेटा हाल्न त समय लाग्छ । मुख पनि उही पुरानै भत्केका र बिग्रिएका छन् । मुख तिखारेर सही सलामत गराउन त समय लाग्ला । पार्टीभित्रकै केही समूह नक्कली पँखेटा हालेर हामी सक्कली हौं पनि भन्न सक्लान र भन्दैछन् । जसलाई जनताले कसरी हेरिरहेका छन् त्यो भविष्यले देखाउनेछ । त्यस्तै, नेपालमा राजनीतिक परिवर्तनमा कम्युनिष्ट पार्टीहरूको योगदान छ । उनीहरू बिग्रिएको पँखेटा र त्यस्तै मुख लिएर केहीले हामी परिवर्तन गर्छौ भन्छन् भने केहीले हामी परिवर्तन हुँदैनौं भनेर जिद्दी लिएको पाउँछौं । तर, के गर्नु समयले परिवर्तन खोजी सकेको हुँदा परिवर्तन हुन नचाहने सिद्धिने निश्चित छ । कम्युनिष्ट पार्टीहरूले जनतालाई केही समय अलमल्याउन भए पनि पार्टीको नाम कम्युनिष्ट र सिद्धान्त लोकतन्त्रको आवरण ओढेर धेरै पटक नाटक मञ्चन गर्दै आए । त्यस्तै कांग्रेस पार्टी पनि बीपी, गणेशमान, कृष्णप्रसाद, सुवर्णशमशेरको नाम भजेर आफूलाई सक्कली प्रजातन्त्रवादी भन्दै कम्युनिष्टहरू कै सिको गरेर हिँडेका छन् । भएका पँखेटा काटेर बडो विज्ञानवादी बन्दै नयाँ पँखेटाको खोजीमा लोकतन्त्रवादीहरू पनि अल्झिन पुगेका छन् ।
कांग्रेस सक्कली पँखेटा र सुघ्रिएको मुखको नाटक मञ्चन गर्दै हिँडेकोमा त्यो सही या गलत हो भन्ने आसंका जनतामा यथावत छ । जनतालाई झुक्याउने र अल्मल्याउने कार्य आजसम्म पुराना दलहरूले गर्दै आएको हो । जति इमानदारीको हाँक गरेर कुर्लिँदै हिँडेता पनि त्यो कुरा व्यवहारबाट मात्र देखिने हो । भाषा बोली व्यवहार र बचन त मीठो र स्वादिलो पस्कन्छन् । तर, व्यवहार र चरित्र त नेपाली जनताले थाहा पाइसके । अब पनि यिनीहरू सुध्रिने अवस्थामा गएनन भने सिद्धिन बेर लाग्दैन । देश र जनताप्रति इमानदारिता देखाउँदै गोहीको आँसु त बेलाबेलामा झार्छन् । तर, परि आयो भने गोहीले खाएझैं खान बेर लाउँदैन । आज नेपालमा नयाँ सुध्रिनेवाला कांग्रेस तथा पद र प्रतिष्ठाको भजन गाउने पुराना खारिएका नेताहरूको एक झुण्ड आफू सच्चा कांग्रेस भन्नेहरू पनि उही पुरानो थोत्रो खोल ओढेर सडक, बजार र सामाजिक सञ्जालमा कुर्लिँदै हिँडेको देख्दा जनता अचम्म परी हेरिरहेका छन् ।
एउटा कांग्रेस दुई भएको हो कि जस्तो तमासा देखाइ रहेका छन् । कुन कांग्रेस सत्य हो जनतालाई छुट्याउन गाह्रो पर्ला जस्तो छ । त्यहाँ राम्रा, असल, नैतिक र निष्ठावान नेता पनि छन् तर तिनीहरू कुहिरोमा काग हराएझैं हराउँछन् । मुखुण्डोधारीहरूको बोलवाला नै धेरै देखिन्छ । सत्ता र शक्तिमा जाउँला र तर मारुँला भनेर सपना देख्नेहरूको भिडले पार्टीलाई थिलो मिलो बनाइ राखेको छ । सिद्धान्त कुल्चिएको पत्ता नपाउने खालका नेताहरूनै अग्रपक्तिमा देखिन्छन् । हामी जनता पनि लोभ, लालच र पापले हो कि तिनैलाई महान् भन्दै ज्यान प्राण फाल्दै उनीहरूकै जय जयकार गर्दै कुर्लिंदै हिँडेका छौं । विडम्बना भन्छु म जति नै ठूला भनाउँदा र नैतिकवान नेताहरू पनि पद र पैसाको लोभमा परेर देशलाई वर्वाद नगरेको होइन । यो संसारमा जबसम्म लोभी र पापीहरूको राज हुन्छ तबसम्म राज्य व्यवस्थामा कुनै परिवर्तन आउँदैन । किन कि लोभी र पापीहरूले सज्जनलाई माथि उठ्न दिँदैनन । सज्जन माथिउठे भने त लोभी पापी त पत्ता साफ हुन्छ ।
प्रजातन्त्र आएपछि देशमा अवस्य पनि परिवर्तन आएको छ, विकास पनि भएकै छ । तर, जनताले रोजगार पाएननन, न्यायपूर्ण सुशासनको व्यवस्था हुन सकेन, एउटा अनुशासित प्रणालीको विकास हुन सकेन, नेताहरूले आफ्नो निष्ठा र चरित्रलाई भुल्दै गए ।
मैले भन्न खोजेको कुरा के हो भने असत्यको ओढ्ने ओढेर सत्य कुरा देखाइ जनतालाई झुक्याउने चरित्रले देशलाई बर्बाद बनाइरहेछ । नेपालमा प्रायः पार्टीहरूको यस्तै चलन चल्ती हुँदैआएको छ । यो विचार राख्नेलाई नै उनीहरू शत्रु देख्न सक्छन् । किनकि उनीहरूको कर्तुत भनी दिने मान्छ्लोई धेरै पहिलेदेखि लखेट्दै आएकै हो । राजा लखेटिए, कृष्णप्रसाद भट्टराई लखेटिए, गणेशमान लखेटिए । प्रजातन्त्रवादी भन्नेलेनै कम्युनिष्टको जस्तै नक्कली मुखुण्डो ओढ्न थालेपछि अव देशमा केही पनि बाँकी रहेन । भन्ने बेलामा विपिको सिद्धान्त भन्ने फोटोहरू बीपी, कृष्णप्रसाद, गणेशमान, सुवर्ण शमशेरको राखेर पूजा गर्ने र काम चैं आफ्नो मन मोजी विचार बोकेर आफ्नो स्वार्थका लागि जनता झुक्याउने कार्य गर्नु कतिसम्म नैतिकता र न्यायको मार्ग हो ? जनताले सोच्नुपर्छ ।
नयाँ पँखेटा हालेर म आकाशमा सहज उड्छु भनेर हिँड्ने कांग्रेसीहरूले भोलि त्यो चरित्र देखाउनसक्छ कि सक्दैन भन्ने कुरामा जनता प्रष्ट हुनुपर्छ । सिद्धान्त भन्ने कुरा आफ्नो ठाउँमा उच्च छ । तर, विकासको मामिलामा कांग्रेस र कम्युनिष्टहरू मिलेर देशमा एउटा सबैलाई पच्नसक्ने व्यवस्थाको विकास गर्लान, सुशासन ल्याउलान, विकास होला र न्यायपूर्ण समाजको निर्माण होला भन्ने आशाले जनताले हिजो पत्याएका हुन । आजपनि केही समूह अझ राम्रै गर्ला भन्ने आशाले ठूलो जमात पछि लागेका छन् । जनता भनेको पछि लाग्ने नै हो । उनीहरू आशा, इच्छा र भरोसा खोज्छन् । तर, घोका दिनेहरूले बार-बार धोका दिएपछि पछुताउने जनताले हो । प्रजातन्त्र आएपछि देशमा अवस्य पनि परिवर्तन आएको छ, विकास भएकै छ । तर, जनताले रोजगार पाएननन, न्यायपूर्ण सुशासनको व्यवस्था हुनसकेन, एउटा अनुशासित प्रणालीको विकास हुन सकेन, नेताहरूले आफ्नो निष्ठा र चरित्रलाई भुल्दै गए । एउटै व्यक्ति पाँच–पाँच पटक प्रधानमन्त्री हुने, दशकौं पटक मन्त्रीहुने यस्तो पनि कही व्यवस्था हुन्छ । पद, पैसा र प्रतिष्ठाको लागि जे गर्न तयार हुने नेतृत्वको झुण्डनै भएपछि देश कसरी व्यवस्थित र विकासको बाटोमा अगाडि बढ्छ ।
अन्त्यमा भन्न खोजेको कुरा के हो भने अब साँच्चै पार्टीहरू देश बनाउन जुट्ने नै हो भने इमानदार हुन जरुरी छ, नेताहरूले असल चरित्र देखाउनुपर्दछ । नयाँ आएका राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पुरानाले गरेको गलत कार्यबाट पाठ सिकेर नयाँ चेतनाको विकास गर्ने हो । यदी नयाँ पार्टीले पनि पुरानै ढड्डा पहिल्याउँदै जान्छ भने उनीहरू सिद्धिन्छ ।
कांग्रेसीले विपिको वास्तविक सिद्धान्तमा टेक्नुपर्छ । कम्युनिष्टहरूले पनि कम्युनिष्टको राजनीति छोडेर लोकतन्त्रको नाममा आफ्नो नैतिकता र उच्च चरित्रलाई पक्डेर हिँड्नुपर्छ । कांग्रेसले नक्कली पँखेटा फेरेर असली नयाँ पँखेटा हालेर अगाडि बढ्नुपर्छ भने कम्युनिष्टले मुखुण्डो खोलेर असली रूप देखाएर जनता सामु आउनुपर्छ । तब यो देशका एउटा सुव्यवस्थित प्रणालीको विकास हुन्छ र अनुशसित एवं विकसित समाज निर्माणमा सहयोग पुग्नेछ ।






भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस
प्रवासी नेपालीको आवाज उठाउन कांग्रेस
कांग्रेस सभापतिको दौडबाट किशोर सिंह
पूर्वप्रधानन्यायाधीश जबराको घरमा पनि सम्पत्ति
नक्सा संशोधनका लागि एक लाख