काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी, मेघगर्जन र चट्याङसहितको मौसम देखिन सक्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । यसबाट पाकेको धानबाली, फलफूल, तरकारी तथा पशुपन्छीमा क्षति पुग्न सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलका अनुसार चक्रवातको मार्ग र गति अझै निश्चित भइसकेको छैन । यसको प्रभावले मध्य र पूर्वी नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने उहाँले बताउनुभयो ।
मध्य र पूर्वी तराईमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा शुक्रबार बेलुका र शनिबार असिनासमेत पर्न सक्ने उहाँको भनाइ छ ।
पोखरेलका अनुसार चक्रवातको प्रभाव शनिबारसम्म रहन सक्ने भएकाले मौसमको अवस्था निरन्तर निगरानी भइरहेको छ । लामो समय वर्षा नभएका स्थानमा एकैपटक ठूलो वर्षा हुँदा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त सडक तथा क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको सम्भावना रहेकाले पदयात्रालगायत पर्यटकीय गतिविधिमा पनि सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो । धान काट्ने समय भएकाले कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
पाकेको धान सुरक्षित रूपमा भित्र्याउन आग्रह
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कृषि मौसमविद् रामेश्वर रिमालले सम्भावित वर्षा र हावाहुरीबाट कृषि क्षेत्रमा हुने क्षति कम गर्न किसानलाई पूर्वतयारी गर्न आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार पाकिसकेको धान काट्न मिल्ने अवस्था भएमा उपलब्ध मेसिन तथा अन्य साधन प्रयोग गरी सुरक्षित रूपमा भित्र्याउनुपर्छ । तर, मौसमको अवस्था हेरेर मात्र कृषि कार्य गर्नुपर्ने उहाँको सुझाव छ ।
तराई क्षेत्रमा हावाहुरीका कारण पाकेको धान ढल्ने जोखिम रहेको भन्दै उहाँले धानखेतमा पानी जम्न नदिन निकासको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । धान ढलेमा लामो समय खेतमै छाड्न नहुने र पानीमा डुबेको बाली मौसममा सुधार आएपछि सकेसम्म चाँडो उठाएर सुकाउनुपर्ने उहाँले बताउनुभयो ।
काटिसकेको धान भिजेमा आलीकान्ला वा बाँसका भाटाको सहायताले पानी तर्काएर सुकाउन सकिने उहाँको सुझाव छ । राम्ररी नपाकेको धान ढलेको अवस्थामा सम्भव भएसम्म नजिकका बाला जम्मा गरी ठाडो हुने गरी बाँध्न पनि उहाँले आग्रह गर्नुभयो ।
पाकेको धान पानीमा डुबेको अवस्थामा चाँडै काटेर सुकाउने तथा आवश्यक परे मिलसँग समन्वय गरी चिउरा वा भुजा बनाएर बिक्री गर्न सकिने विकल्प पनि उहाँले सुझाउनुभयो ।
धानखेत र उखुबालीमा पानी जम्न नदिन गराबीबीच नाली काट्ने तथा फलफूल र तरकारी खेतीमा पानी निकासको उचित व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ ।
मल र विषादी छर्ने काम स्थगित गर्न सुझाव
चक्रवातको सम्भावित प्रभाव रहने अवधिमा खेतबारीमा मल तथा विषादी छर्ने काम स्थगित गर्न पनि कृषि मौसमविद् रिमालले आग्रह गर्नुभएको छ ।
वर्षाका कारण मल तथा विषादी बगेर जाने र बालीले आवश्यक पोषण लिन नपाउने भएकाले मौसममा सुधार आएपछि मात्रै प्रयोग गर्नु उचित हुने उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रमा गहुँ, तोरी र आलु लगाउने समय भए पनि मौसममा सुधार आएपछि मात्रै जग्गा तयारी गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै, तराईका अग्ला जग्गामा छोटो अवधिको धान लगाएका किसानले आलु खेतीका लागि जग्गा तयार गर्ने काम पनि तत्काल स्थगित गर्नुपर्ने उहाँको भनाइ छ ।
हावाहुरीले केराका बोट ढाल्न सक्ने भएकाले टेको दिने तथा माछापालन गरिएका पोखरीमा बाहिरबाट धमिलो पानी र भल पस्न नदिने व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो । ठूलो वर्षाका कारण पोखरीको पानी बाहिर निस्कने अवस्था आएमा माछा बग्न नदिन निकासद्वारमा उपयुक्त जाली लगाउनुपर्ने उहाँले बताउनुभयो ।
पशुपन्छीलाई सुरक्षित स्थानमा राख्न आग्रह
उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले चौँरी तथा भेडाबाख्रालाई खुला ठाउँमा चराउन नलैजान र सुरक्षित ओतको व्यवस्था मिलाउन रिमालले सुझाव दिनुभएको छ । अत्यधिक चिसोको अवस्थामा पशुवस्तुलाई आवश्यकताअनुसार पानी तताएर खुवाउन सकिने उहाँले बताउनुभयो ।
पशुपन्छीका लागि भण्डारण गरिएको अन्न, पराल र दाना भिज्न नदिन पनि किसानले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । भिजेको पराल, ढुसी लागेको दाना तथा कुहिएको खानेकुरा खुवाउँदा पशुवस्तुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले त्यस्ता खानेकुराबाट जोगाउन उहाँले आग्रह गर्नुभयो ।
रिमालका अनुसार पछिल्लो पूर्वानुमानमा चक्रवातको प्रभाव यसअघि अनुमान गरिएभन्दा केही कमजोर हुन सक्ने देखिए पनि देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सतर्कता आवश्यक छ ।
खेतबारीमा पानी निकासको व्यवस्था मिलाउने, काटिसकेको बाली सुरक्षित राख्ने, भिजेको उत्पादन छिटो सुकाउने र पशुपन्छीलाई सुरक्षित स्थानमा राख्नेजस्ता उपाय अपनाउँदा सम्भावित क्षति कम गर्न सकिने उहाँले बताउनुभयो ।







तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण सरकारको