एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसलाई चोट पुर्याएको रहेछ भन्ने मैले अहिले बुझेको छु’, उहाँले भन्नुभएको छ, ‘मेरो भनाइबाट दुःखी भएका सबैसँग म माफी माग्छु । मेरो उद्देश्य त्यस्तो थिएन । चिनियाँ जनता र उनीहरूको इतिहासप्रति मेरो गहिरो सम्मान छ । म हृदयदेखि नै क्षमाप्रार्थी छु ।’
चीनमा एम्बाप्पेको लोकप्रियता र व्यावसायिक उपस्थिति ठूलो छ । सबवे स्टेसनदेखि भवनका लिफ्टसम्म उहाँका तस्वीरसहितका विज्ञापन देखिन्छन् । तर, विवादपछि पेय पदार्थ उत्पादक कम्पनी डोङपेङ, दुग्ध पदार्थ उत्पादक कम्पनी मेङनिउ र चिज उत्पादक कम्पनी मिल्क ग्राउण्डले मंगलबार उहाँसँगका सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् । तीनवटै कम्पनीले जारी गरेका वक्तव्यको भाषा लगभग समान थियो । उनीहरूले ‘राष्ट्रिय भावनामा चोट पुर्याउने कुनै पनि भनाइ र व्यवहार’को विरोध गर्ने बताएका छन् । यद्यपि, कम्पनीहरूले सम्झौता अन्त्य गर्नुको प्रत्यक्ष कारण स्पष्ट पारेका छैनन् । उनीहरूका वक्तव्य फ्रान्सेली अनलाइन टक शो ‘द ब्रिज’ मा सहभागी हुनुअघि एम्बाप्पेको अन्तर्वार्ता लिइएको देखिने एउटा भिडियो सामाजिक सञ्जाल एक्समा फैलिएको केही समयपछि सार्वजनिक भएका हुन् ।
भिडियोमा एम्बाप्पेलाई आफूलाई लिएर बनाइएको मन पर्ने इन्टरनेट मीमबारे सोधिएको छ । जवाफमा उहाँले एक व्यक्तिको भिडियो आफ्नो मन पर्ने मीम भएको बताउँदै ती व्यक्ति ‘चिनियाँ तानाशाह’ भएको आफूलाई लागेको उल्लेख गर्नुभएको छ । त्यसपछि भिडियोमा माओत्से तुङको निलो सुट लगाएको शरीरमा एम्बाप्पेको अनुहार जोडेर बनाइएको सम्पादित तस्वीर देखाइन्छ ।
फुटबल समर्थकहरूले एम्बाप्पेले आफ्ना टोलीका अन्य खेलाडी र आफू आबद्ध टोलीलाई समेत ओझेलमा पार्ने गरेको भन्दै उहाँलाई ठट्टामा ‘तानाशाह’ भन्ने गरेका छन् । माओत्से तुङलगायत अन्य निरंकुश शासकको शरीरमा एम्बाप्पेको अनुहार जोडेर बनाइएका मीम पनि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिने गरेका छन् ।
विवादबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ चियाकुनले चिनियाँ जनताको भावनामा चोट पुर्याउने भनाइ र व्यवहारको चिनियाँ समाजका विभिन्न क्षेत्रबाट स्वाभाविकरूपमा विरोध हुने बताउनुभयो । चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एम्बाप्पेको आलोचना गरेको छ । कम्पनीले उहाँसँगको सामग्री साझेदारी सम्झौता सन् २०२४ डिसेम्बर ३१ मै समाप्त भएको स्पष्ट पार्दै सम्बन्धित प्रचार सामग्री हटाउने बताएको छ । रेडनोटले पनि राष्ट्रिय भावनामा चोट पुर्याउने व्यवहारको विरोध गरेको छ । मंगलबार एम्बाप्पेको खातालाई नयाँ फलोअर थप्न नमिल्ने गरी प्रतिबन्ध लगाइएको थियो ।
एम्बाप्पे चीनमा विद्युतीय पेय पदार्थदेखि दूध र चिजसम्मका उत्पादनको विज्ञापनमा देखिँदै आउनुभएको थियो । डोङपेङको एउटा विज्ञापनमा उहाँले चिनियाँ भाषामै नारा बोल्नुभएको थियो ।







गुरुङ बौद्ध धर्मको संरक्षण र
पाकिस्तानले शृंखला कब्जा गर्दा भारतको
इंग्लिस प्रिमियर लिग : लिभरपुलकै
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको
‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ