काठमाडौं । नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्ने पहलस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत सदस्यले लामो समयदेखि बन्द रहेको केन्द्रीय कार्यालयको ताला खोलेका छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन् ।
कार्यालयको ताला खोलेसँगै सदस्यहरूले आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन् । नेपाली फुटबलमा देखिएका समस्या समाधान गर्दै लामो समयदेखि ठप्प गतिविधिलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले बैठक बोलाउन लागिएको वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो ।
खड्काका अनुसार एन्फाको विधानमा कार्यसमितिका एक तिहाइभन्दा बढी सदस्यले बैठक माग गर्दा २१ दिनसम्म बैठक नबोलाइएमा २२औँ दिनमा सदस्यहरूले बैठकका लागि पहल गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कार्यालयको ताला खोलेर बैठकको तयारी अघि बढाइएको उहाँले बताउनुभयो ।
आगामी बैठकमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपाली फुटबलमाथि लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य तथा एन्फाका विभिन्न तहमा हुनुपर्ने निर्वाचनमा देखिएका अवरोधलगायत विषयमा छलफल हुने जनाइएको छ । एन्फाभित्र देखिएको विवादको निकास खोज्दै नियमित फुटबल गतिविधि सञ्चालन गर्ने विषयलाई बैठकले प्राथमिकता दिने खड्काको भनाइ छ ।
उहाँले एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई बैठकमा सहभागी भई समस्याको समाधान खोज्न आग्रह गरेका छन् । बैठकको उद्देश्य कुनै पदाधिकारीलाई हटाउने वा कसैलाई निषेध गर्ने नभई नेपाली फुटबललाई संकटबाट निकास दिनु रहेको उहाँले स्पष्ट पार्नुभयो ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबलका गतिविधि प्रभावित हुँदै आएका छन् । प्रतिबन्धका कारण नेपाली फुटबलको नियमित सञ्चालन र आगामी योजनाबारे अन्योल कायम रहेका बेला एन्फाभित्रैबाट विवाद समाधानको प्रयास अघि बढाइएको हो ।
कात्तिक १३ गतेका लागि तय गरिएको कार्यसमिति बैठकले एन्फाभित्रको विवाद समाधान गर्न र नेपाली फुटबललाई नियमित लयमा फर्काउन कस्तो निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
यसैबीच एन्फाको आर्थिक कारोबारमा देखिएको भनिएको अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ । एन्फाको आन्तरिक विवाद, नेतृत्वबीचको मतभेद र आर्थिक कारोबारमाथिको अनुसन्धानले संस्थाको कामकारबाही थप चुनौतीपूर्ण बनेको छ ।






भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको