काठमाडौं । कृषि विकास कार्यालय, सिन्धुलीले काठमाडौंमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीमा सहभागी हुन किसान, कृषि उद्यमी, कृषि सहकारी तथा अन्य सरोकारवालालाई आह्वान गरेको छ । बागमती प्रदेश कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय मातहतको उक्त कार्यालय सिन्धुलीले प्रदर्शनीमा सहभागी भएर लाभ लिन सरोकारवालालाई आह्वान गरेको हो । प्रदर्शनीमा कृषि यन्त्र, उपकरण तथा प्रविधिको प्रदर्शनका लागि स्टलसमेत उपलब्ध रहेको कार्यालयले जनाएको छ ।
कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ, बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा आगामी मंसिर ४ गतेदेखि ६ गतेसम्म अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी-२०८३ आयोजना हुँदैछ । कार्यालयका अनुसार प्रदर्शनीले किसान तथा कृषि उद्यमीलाई आधुनिक कृषि प्रविधि र उपकरणबारे जानकारी लिन तथा कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिसँग परिचित हुन अवसर प्रदान गर्ने भएकाले संघ, प्रदेश र स्थानीय सहकारले अन्तर्राष्ट्रिय मेलामा किसान तथा सरोकारवालाको सहभागिता बढाउन भूमिका खेलिरहेका छन् ।
यसअघि रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गर्दै प्रदर्शनीमा सहभागी हुन यात्रा खर्च बेहोर्ने सूचना जारी गरिसकेको छ । संघीय सरकार र प्रदेश सरकारबाट यान्त्रीकरण प्रवर्द्धनमा खेलेको भूमिकाप्रति संघले खुसी व्यक्त गरेको छ । संघकी उपाध्यक्ष सुनिता न्हेमाफुकीले तीनै तहका सरकारको प्रत्यक्ष सहयोग र संलग्नतामा हुने प्रदर्शनी नेपालको कृषि यान्त्रीकरणमा नयाँ कोशेढुंगा हुने बताउनुभयो ।
आयोजकका अनुसार ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासाथ आयोजना हुने प्रदर्शनीमार्फत् किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिबारे जानकारी उपलब्ध गराइनेछ । जसले कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन तथा कृषि यान्त्रीकरणको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इञ्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, आर एण्ड डी सोलुसन प्रालि र कृषि विकास बैंक लिमिटेड सहयोगी संस्थाका रूपमा सहभागी हुँदैछन् । २०७१ मा स्थापना भएको नेपाल कृषि मेसिनरी व्यवसायी संघ कृषि यान्त्रीकरण तथा प्रविधि व्यवसायीहरूको छाता संस्था हो । संघले कृषि क्षेत्रमा कार्यरत व्यवसायी तथा उद्यमीका समस्या समाधान, प्रविधि प्रवर्द्धन र सदस्यहरूको क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको