काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ । दाजुभाइबीचको आत्मीयता, प्रेम र मिलनको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरि बरालको शब्द रचना छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला दाजुभाइका रूपमा प्रस्तुत हुनुहुन्छ । युधिष्ठिरको भूमिकामा रहनुभएका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको प्रसंगलाई भिडियोमा देखाइएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गर्नुभएको हो ।
वसन्त निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेललगायत कलाकारको पनि अभिनय छ । चलचित्रकी निर्मात्रा काली रानी श्रेष्ठ हुनुहुन्छ भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहनुभएको छ । नवीनले यसअघि चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो ।
पत्रकार सुशील पौडेलको लेखन रहेको यस चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको ध्वनि संयोजन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ । चलचित्रमा पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।







एनपिएलको तयारी अन्तिम चरणमा, दर्शकको
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार