पटक-पटक मौसम प्रतिकूलताले निम्त्याएका प्राकृतिक विपत्तिले देशलाई आक्रान्त बनाउँदै आएको अवस्थामा पुनः मौसमको प्रतिकूलताको चेतावनी मौसमविदहरूले दिएका छन् । अहिले मौसममा प्रतिकूलता हुने समय होइन तर प्रकृतिमाथि कसैले पनि विजय हासिल गर्न सक्दैन भन्ने सन्दर्भमा यस्तो दृष्टान्त देखाउनु उचित होला । नेपालमा जेठ अन्तिममा सुरु हुने मनसुनी वर्षा असोजको पहिलो हप्ताबाट बाहिरिने गर्छ । यसपटक पनि मनसुन बाहिरिसकेको छ तर फेरि १२ गतेदेखि १५ गतेसम्म मौसम प्रतिकूल हुने बताइएको छ । बंगालको खाडीमा पैदा भएको उच्च चापीय प्रणालीले निम्त्याउने चक्रवातसहितको वर्षाले नेपाल, भारत र श्रीलंकालगायत देशहरूमा प्रतिकूल प्रभाव पर्ने देखाइएको छ ।
यसको प्रभाव देखिइसकेको छ । भारतका आन्ध्र प्रदेश र ओडिसामा उक्त प्रभावले ठूलो वर्षा भई जनजीवन प्रभावित भएको छ । बाढी र हावाको प्रतिघण्टा २२ किलोमिटरको दरको बेगले त्यहाँको जनजीवन, खेतीप्रणाली आदि प्रभावित भएका छन् । बाढी आएर केही पुलहरू बगेका छन् भने नबगेका पुलमाथिबाट पानी बगेको भनिएको छ । श्रीलंकामा पनि यही कारणले विद्यालयसमेत बन्द गरिएका छन् । नेपालमा हिजो बुधबारदेखि नै यसका पूर्वानुमानहरू देखिसकेका छन् तर चक्रवातको प्रभाव भने पर्दैन अत्यन्त न्यून हुने बताइएको छ । नेपालमा आउन्जेल त्यो कमजोर हुने भए तापनि वर्षा र हिमपात हुने सम्भावना प्रबल देखाइएको छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ भने अन्यत्र सामान्य वर्षादेखि भारी वर्षासम्म हुने जनाइएको छ । सरकारद्वारा उच्च सतर्क रहन आग्रह गरिएको बाहेक अड्डा अफिसहरू र विद्यालयहरू बन्द गर्ने सूचना जारी गरिएको छैन तर त्यतिसम्मको परिस्थिति भने सिर्जना भने नहोला । केही वर्षदेखि असोजको दोस्रो हप्तातिर ठूलो पानी परेर बाढी, पहिरो जानाले देशको सबैभन्दा ठूलो चाड दशैँ नै प्रभावित हुने समस्या पटक–पटक दोहोरिएको छ । यसवर्ष झन् भोटेकोशी, बुढीगण्डकी आदि नदीहरूमा आएको भीषण र अकल्पनीय भेलले असंख्य मानिसको मृत्यु भयो भने भौतिक सम्पत्तिको क्षतिको विवरण आँकलन गर्न नसकिने अवस्था रह्यो ।
दशैँअगाडि मनसुनी वर्षाले जनजीवन नराम्ररी प्रभावित भयो । केही मानवीय र भौतिक क्षति पनि भयो तर सरकारले पहिले नै सचेत गराएको हुनाले धेरै ठूलो क्षति हुन पाएन । अहिले हुनलागेको यो वर्षा मनसुन निख्रिसकेपछिको वर्षा हो । कात्तिकको आधाआधितिर सामान्यतया विगत वर्षमा वर्षा हुनेगरेको थिएन । कहिलेकाहिँ यदाकदा बालीनालीमा क्षति पुर्याउनेगरी वर्षा हुनेगरेको थियो । अहिले जताततै धान पाकेर पहेँलपुर बनेको बेला छ । यसबेला हुने वर्षाले सबैभन्दा ठूलो क्षति धानबालीमा पुर्याउनसक्छ ।
त्यसैले सरकारले किसानहरूलाई आगामी १५ गतेसम्म धान नकाट्न आग्रह गरेको छ । किनभने ठाडो रहँदा बरू वर्षाले त्यति ठूलो क्षति नपुर्याउला तर काटेर निहिनमा राखेको धान भने डुबान गरेर बढी क्षति पुर्याउँछ । तत्काल कुनिउँ बनाएर राख्ने हो भने सुरक्षित रहनसक्छ । नेपालको ठूलो जनसंख्या धानबालीमा निर्भर छ । धानमा क्षति पुग्यो भने वर्षभरि खाद्यान्नमा कमी आउने र मूल्यवृद्धि हुने सम्भावना रहन्छ । किसानहरूले एक वर्षभरि मिहिनेत गरेर फलाएको धान एकैछिन्मा पानीमा डुबेर निहिनमै उम्रियो भने त्यस्तो चामलको गुणस्तर खस्किन्छ । नेपाली जनबोलीमा त्यसलाई ‘हकुवा’ भन्ने गरिन्छ । सावधानी र सतर्कता अपनाउनु दायित्व हो । किसानहरूले यसतर्फ विचार पुर्याउनै पर्ने हुन्छ ।
यसैगरी सरकारले केहीदिन पदयात्रा नगर्न सबैलाई सचेत गराएको छ । सरकारको आग्रह मौसम पूर्वानुमान महाशाखाको विश्लेषण अनुसारकै हो । यसलाई अटेर गरी समस्या सिर्जना गरेर आफैं त्यसको चपेटामा पर्नु बुद्धिमानी हुँदैन । सबैले सावधान रहनु बुद्धिमानीपूर्ण हुनजान्छ । आत्तिनुपर्ने अवस्था छैन तर सावधान रहनै पर्छ भनेर मौसमविद्हरूले बताएको कुरालाई अवज्ञा गर्नु हुँदैन । एकातिर प्रतिकूल मौसममाथि विचार पुर्याउनुपर्ने, धनजनको संरक्षणको कार्य हो भने अर्कातिर वर्षभरि मिहिनेत गरेर फलाइएको अन्न सुरक्षित गरी भित्र्याउनुपर्ने चुनौती । पाकिसकेको धान जोगाउनु सबैभन्दा ठूलो चुनौतीको विषय हो । वर्षैपिच्छे धानमा परनिर्भर बन्दै गएका हामीले उब्जाएको र पाक्नलागेको धानलाई जोगाउन सकेनौं भने परनिर्भरताको चुनौती अझ बढेर जानेछ ।
तराईका फाँटहरूमा धान पाकिसकेको छ र पहाडका बेँशीहरूमा पाक्न लागेको अवस्था छ । वर्षामात्र भयो भने नकाटेको धानमा त्यति ठूलो क्षति हुँदैन तर असिना पनि परेकोखण्डमा ठाडो धान झर्ने सम्भावना रहन्छ । नेपालका अधिकांश ठाउँमा हल्का र सामान्य वर्षाको सम्भावना प्रबल र भारी वर्षा चाहिँ थोरै ठाउँमा हुने भनिएकाले भारी वर्षाबाट ठूलो बिगार हुनसक्छ भन्ने सम्भावना रहन्छ । सरकारले जुन–जुन ठाउँमा भारी वर्षाको सम्भावना हुने देखाएको छ त्यहाँ चाहिँ अन्यत्रभन्दा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । भूवनोटका आधारमा अन्यत्र विभिन्न खालका वर्षाजन्य प्रकोप हुनेगरेका छन् । नेपालको भूवनोटका आधारमा हो भने उत्तरमा हिमाल र त्यसको दक्षिणतिर ढल्किएर रहेको भूमि भएको हुँदा पहिरो र बाढीको प्रकोप ठूलो समस्या हो ।
त्यसमाथि हिमाली क्षेत्रमा रहेका हिमताल, हिमनदी र हिमपहिरो सबैभन्दा ठूलो चुनौती भन्ने कुरा मेलम्ची, भोटेकोशी, बुढीगण्डकीको महाप्रलयले देखाएको छ । बेलाबेलामा यस्ता प्रकोप आइरहने रहेछन् भनेर सबैले बुझ्नुपर्ने हुन्छ र प्रतिरक्षाका सम्भावनालाई व्यवस्थित गर्नुपर्ने हुन्छ । यस्ता समस्या भनेको कहिलेकाहिँ र एक-दुईपटकमात्र आउने होइनन् । यसलाई बुझेर समस्या अनुसारका समाधानका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनजान्छ । भइरहेको यो मौसमी प्रतिकूलताबाट सावधानी अपनाउनु र निर्देशन पालन गर्नु सबैको कर्तव्य र दायित्व हो । सचेत बनौं, सुरक्षित रहौं, जसबाट आफू सुरक्षित बनेर अरूलाई समेत सुरक्षित बनाउन सकिन्छ ।







चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु