दमक । झापाको दमकमा भाषा, साहित्य, कला, संस्कृति र संगीतलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आज (बिहीबार)देखि महोत्सव सुरु हुने भएको छ । नाता फाउन्डेसनको आयोजनामा हुने महोत्सव अक्टोबर २९ देखि ३१ सम्म दमकस्थित मातृभूमि पार्टी प्यालेसमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।
महोत्सवमा कला प्रदर्शनी, दमक साहित्य महोत्सव, कला कार्यशाला र संगीत महोत्सवलगायत कार्यक्रम समावेश हुनेछन् । आयोजकका अनुसार सिर्जनशीलता, मानवीय संवेदना, सांस्कृतिक पहिचान र स्थानीय प्रतिभाको प्रवर्द्धनलाई महोत्सवले प्राथमिकता दिनेछ ।
स्थानीय कलाकार, साहित्यकार, युवा प्रतिभा र व्यवसायीबीच संवाद तथा सहकार्य विस्तार गर्दै सिर्जनात्मक कामका नयाँ सम्भावना खोज्ने महोत्सवको लक्ष्य छ । भाषा र साहित्यको संरक्षणसँगै कला, संस्कृति तथा सिर्जनशील उद्यमशीलतालाई साझा मञ्चमा ल्याउने प्रयास गरिएको आयोजकले बताएका छन् ।
नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुडाथोकीले सिर्जनशीलतालाई समाजसँग जोड्नु र कला, साहित्य तथा संगीतमार्फत मानवीय सम्बन्ध बलियो बनाउनु महोत्सवको उद्देश्य रहेको बताउनुभयो । ‘कलामार्फत सिर्जनशीलताको खोजी गर्ने, साहित्यबाट सम्भावनालाई अघि बढाउने र संगीतबाट राष्ट्रको भविष्य खोज्ने’ अवधारणासहित महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।
बुडाथोकीका अनुसार कला, साहित्य र संगीत मनोरञ्जनका माध्यम मात्र नभई समाजको चेतना, भावना र भविष्यसँग जोडिएका क्षेत्र हुन् । महोत्सवले विभिन्न पृष्ठभूमिका मानिसलाई साझा सांस्कृतिक अनुभवमा सहभागी गराउन र नयाँ पुस्तालाई सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्न सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
महोत्सवमा नेपालका लोपोन्मुख जातीय समुदायका परम्परागत पोसाक र सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएका छन् । ती प्रस्तुतिमार्फत समुदायका मौलिक पहिचान, परम्परा र सांस्कृतिक सम्पदा दर्शकमाझ चिनाउने लक्ष्य राखिएको छ ।
आयोजक संस्थाका सल्लाहकार साङसेन पन्धाकले कला, साहित्य र संगीतका माध्यमबाट मानवीय सम्बन्ध जोड्दै नयाँ पुस्तालाई सिर्जना प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउने बताउनुभयो । युवालाई असल नागरिक बन्न प्रेरित गर्नु पनि महोत्सवको उद्देश्य रहेको उहाँको भनाइ छ ।
किरात मुन्धुम प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सहआयोजक मुनाराज सेर्माले साहित्यमा सहअस्तित्व र पर्यावरणको महत्त्वबारे विचार राख्नुभयो । नेपालमा आएको बाढीको प्रसंग उल्लेख गर्दै उहाँले मानिसका कला, सोच र व्यवहार प्रकृति, पृथ्वी तथा विविध संस्कृतिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
महोत्सवलाई सांस्कृतिक प्रस्तुतिमा मात्र सीमित नराखी सिर्जनशील उद्यमशीलतासँग पनि जोड्ने प्रयास गरिएको आयोजकले बताएका छन् । सर्जकले आफ्ना काम प्रस्तुत गर्ने, अनुभव आदानप्रदान गर्ने र सिर्जनात्मक गतिविधिलाई जीविकोपार्जनसँग जोड्ने सम्भावनाबारे छलफल गर्ने अवसर महोत्सवले उपलब्ध गराउने उनीहरूको भनाइ छ । बुडाथोकीले महोत्सवलाई आगामी दिनमा अझ ठूलो सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र