काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा नेपालमा हुने आयात र निर्यात दुवै बढेको छ । चाडबाडका कारण आयात उच्च रूपमा बढेको हो । पछिल्लो तीन महिनामा निर्यात पनि बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार एक महिना (असोज)मै नेपालले कुल दुई खर्ब ४५ अर्ब २६ करोड रुपैयाँबराबर वस्तु आयात गरेको छ, जबकि निर्यात एक खर्ब १४ अर्ब २८ करोड रुपैयाँ मात्रै छ । भन्सार विभागको तथ्यांकअनुसार पहिलो त्रैमासमै आयात ३८.१८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्रै ६ खर्ब ४६ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ ।
गत आव पहिलो तीन महिनामा चार खर्ब ६८ अर्ब बराबरको मात्र आयात भएको थियो । उसो त निर्यात पनि गत वर्षको तुलनामा बढेको छ । विभागका अनुसार असोज मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा असोजसम्म ७२ अर्ब ७८ करोडबराबर वस्तु निर्यात भएको थियो । सोही आवमा कुल तीन खर्ब १५ अर्बमाथिको वस्तु निर्यात भएको थियो ।
आयात र निर्यात दुवैमा भएको उच्च वृद्धिले यस वर्ष पहिलो तीन महिनामै कुल वैदेशिक व्यापार आकार ४०.७१ प्रतिशत विस्तार भएको छ । वैदेशिक व्यापार आकार तीन महिनामै सात खर्ब ६१ अर्ब सात करोड रुपैयाँबराबर पुगेको छ । गत आव असोजसम्म पाँच खर्ब ४० अर्ब बराबर मात्र वैदेशिक व्यापारको आकार थियो । विभागको तथ्यांकअनुसार असोजसम्म व्यापार घाटा भने पाँच खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबर देखिन्छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो । गत आव पहिलो त्रैमासमा व्यापार घाटा तीन खर्ब ९५ अर्ब रुपैयाँ बराबर थियो । यस वर्ष कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ११.५९ प्रतिशत सुधार भई १५.०२ प्रतिशत पुगेको छ । आयात हिस्सा १.८० प्रतिशत खस्किएर ८४.९८ प्रतिशत कायम भएको तथ्यांकमा देखिन्छ ।
विद्युतीय कार आयातमा व्यापक वृद्धि
विद्युतीय कार आयात बढेको छ । गत आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा दुई हजार ६२० वटा विद्युतीय कार आयात भएकोमा चालु आव २०८३/८४ को सोही अवधिमा ६ हजार ६३६ कार भित्रिएका हुन् । गत वर्ष पहिलो त्रैमासमा ६ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो भने सरकारले तीन अर्ब ९१ करोड भन्सार राजस्व उठाएको थियो । चालु आवको पहिलो त्रैमासमा गाडी आयातमा १५ अर्ब तीन करोड बाहिरिएको छ भने सरकारले नौ अर्ब ६ करोड राजस्व संकलन गरेको छ । तीन महिनामा चीनबाट सबैभन्दा धेरै चार हजार ८२१, भारतबाट एक हजार ४२०, थाइल्याण्ड ३९३ र अमेरिकाबाट दुईवटा कार आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
वीरगञ्जबाट सबैभन्दा धेरै आयात, १२ नाकाबाट निर्यात शून्य
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकका २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सारबाट सबैभन्दा धेरै तीन खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । त्यसैगरी, यसै नाकाबाट सबैभन्दा धेरै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको हो । वीरगञ्जपछि भैरहवा भन्सारबाट ९८ अर्ब ८१ करोड र विराटनगर भन्सारबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड र पूर्वी नाका मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात भएको छ । उत्तरी नाका रसुवाबाट सात अर्ब ९१ करोड र तातोपानीबाट १ अर्ब १५ करोड रुपैयाँको आयात भएको देखिन्छ ।
निर्याततर्फ वीरगञ्जबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको र विराटनगर नाका हुँदै २९ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु विदेशिएको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७१ करोड, भैरहवा भन्सारबाट ११ अर्ब ५१ करोड र मेची भन्सारबाट नौ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । मुलुकका १२ वटा भन्सार कार्यालयबाट भने स्वदेशी वस्तुको निर्यात शून्य रहेको छ । तथ्यांकअनुसार भद्रपुर, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सती, सिराहा, सुनसरी, सुठौली, तातोपानी, ठाडी र त्रिवेणी भन्सार कार्यालयबाट यो तीन महिनाको अवधिमा एक रुपैयाँको पनि वस्तु निर्यात भएको छैन ।
सबैभन्दा धेरै के आयात भयो ?
उच्च आयातमा सबैभन्दा ठूलो हिस्सा इन्धन र वनस्पति तेलको कच्चा पदार्थले ओगटेको छ । तीन महिनामा नेपालले एक खर्ब १९ अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेको छ । ६६ अर्ब ६६ करोड बराबर वनस्पति तेलको कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ । तीन महिनामा सवारीसाधन र त्यसको कच्चा पदार्थ आयातमा मात्र ५३ अर्ब १९ करोड विदेशिएको छ । मेसिन र मेकानिकल पार्टपुर्जा आयात ४२ अर्ब ११ करोड, विद्युतीय उपकरण ४० अर्ब ८४ करोड, आइरन र स्टिल ३९ अर्ब ३७ करोड र मल आयातमा ३२ अर्ब ७५ करोड रुपैयाँ विदेशिएको छ ।
निर्यातमा सबैभन्दा ठूलो हिस्सा वनस्पति तेलकै छ । तीन महिनामा ५९ अर्ब ३२ करोड बराबरको तेल निर्यात भएको छ । दोस्रोमा चार अर्ब ९७ करोडको धागो निर्यात भएको छ । चिया, कफी तथा मसला निर्यात चार अर्ब ६५ करोड बराबरको छ । कार्पेटजन्य वस्तु निर्यात तीन अर्ब ७२ करोड बराबर भएको देखिएको छ । अलैँची दुई अर्ब ५७ करोड बराबर निर्यात भएको विभागले जनाएको छ । सूर्यमुखी फूलको तेल दुई अर्ब ५३ करोड र पाम तेल दुई अर्ब ४२ करोड बराबर निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले करिब साढे चार अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार तीन महिनामा कुल पाँच करोड ६८ लाख ९३ हजार १२० किलो अर्थात् ५६ हजार ८९३ टन धान, चामल, कनिका र बिउ स्वदेश भित्रिएको छ । यसका लागि नेपालबाट चार अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको हो । नेपालमा मुख्यगरी भारतबाटै धान चामल भित्रिने भए पनि इटाली, पोल्याण्ड, भियतनाम, थाइल्याण्ड र चीनबाट समेत थोरै मात्रामा यस्ता उत्पादन आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
कुन देशसँग कति व्यापार घाटा ?
भन्सार विभागको तथ्यांकअनुसार पहिलो तीन महिनामा सबैभन्दा उच्च व्यापार, आयात, निर्यात र व्यापार घाटा भारतसँग भएको छ । भारतबाट कुल तीन खर्ब ६६ अर्ब रुपैयाँको सामान नेपाल भित्रिएको छ । नेपालबाट भारततर्फ ९५ अर्ब ५९ करोडको वस्तु निर्यात भएको छ । भारतसँग दुई खर्ब ७१ अर्ब बराबरको व्यापार घाटा छ । दोस्रो स्थानमा चीन छ । चीनबाट नेपालमा एक खर्ब ३४ अर्ब बराबरको वस्तु भित्रिएको छ । नेपालबाट चीनतर्फ भने मात्र ६७ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । तेस्रो ठूलो व्यापार साझेदार मुलुक अर्जेन्टिना बनेको छ ।
अर्जेन्टिनाबाट नेपालले खाने तेलको कच्चा पदार्थ आयात गरिरहेको छ । जुन भारतमा तयारी तेलका रूपमा निर्यात भइरहेको छ । पहिलो तीन महिना अर्जेन्टिनाबाट ३५ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चौथो स्थानमा साउदी अरब छ । साउदीबाट ११ अर्ब ५६ करोड बराबरको वस्तु नेपाल आएको छ । ब्राजिलबाट नौ अर्ब चार करोड बराबरको वस्तु भित्रिएको छ । अमेरिकाबाट आठ अर्ब ९३ करोडको वस्तु भित्रिएको देखिन्छ । नेपालबाट अमेरिकातर्फ ६ अर्ब ९९ करोड बराबरको वस्तु निर्यात भएको छ ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको