काठमाडाैं । स्पेनमा दुईवटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बुधबार (अक्टोबर २८) स्पेनको टोलेडो प्रान्तस्थित उर्दा क्षेत्रनजिकै दुर्घटना भएको हो। राजधानी म्याड्रिडबाट दक्षिणी सहर सेभिलतर्फ जाने रेलमार्गमा एउटा उच्च गतिको रेल रोकिराखिएको अर्को रेलको पछाडिबाट ठोक्किएको थियो ।
दुर्घटनामा स्पेनको सरकारी रेल कम्पनी रेन्फेद्वारा सञ्चालित रेल र निजी कम्पनी इरियोको रेल संलग्न थिए । ठक्करका कारण केही डिब्बा लिकबाट खसेका थिए भने दुईवटा डिब्बा सडकछेउको भिरालो भागमा खसेको विवरण सार्वजनिक भएको छ ।
दुर्घटनापछि उद्धारकर्मी, अग्निनियन्त्रक तथा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको थियो । घाइतेलाई नजिकका अस्पतालमा लगिएको छ भने उद्धार टोलीले भग्नावशेषमा फसेका यात्रुको खोजी तथा उद्धार कार्य अघि बढाएको छ ।
स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार रेलमार्गको सुरक्षा प्रणालीमा प्राविधिक समस्या आएपछि रेल सञ्चालन नियन्त्रण केन्द्रको निर्णयमाथि प्रश्न उठेको छ । सुरक्षा प्रणालीमा समस्या देखिएपछि रोकिएका रेलमध्ये एउटा रेललाई पुनः सञ्चालन गर्न अनुमति दिइएको थियो। तर, अगाडि अर्को रेल रोकिएको अवस्थामा पनि रेललाई अघि बढ्न अनुमति कसरी दिइयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् । प्रारम्भिक विवरणका आधारमा कुनै व्यक्ति वा निकायलाई दोषी ठहर गरिएको छैन ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित तथा उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउन र सम्भावित सुरक्षा कमजोरीको छानबिन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दुर्घटनापछि म्याड्रिड र दक्षिणी स्पेनबीचको उच्च गतिको रेल सेवा प्रभावित भएको छ । सरकारले अक्टोबर २९ देखि ३१ सम्म तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
यस वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो । यसअघि जनवरीमा दक्षिणी स्पेनको अदामुज क्षेत्रमा भएको रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुर्घटनाले स्पेनको उच्च गतिको रेल सेवाको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ। दुर्घटनाको अनुसन्धान र पीडितको पहिचान गर्ने कार्य जारी छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं