गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा ठूलो क्षति पुर्याएको छ । बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य हुनुभएकाे छ । बाढीबाट विस्थापित स्थानीयले तत्काल राहतसँगै सुरक्षित बस्ती निर्माण र नदी नियन्त्रणका लागि सरकारसँग माग गर्नुभएकाे छ ।
माछाखोलाका स्थानीय व्यापारी लालप्रसाद गुरुङका अनुसार बाढीले उनको गोदाममा मात्रै करिब दुई करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। लामो समयदेखि व्यापार व्यवसाय गरेर जम्मा गरेको सम्पत्ति बाढीले एकैपटक बगाएपछि उहाँहरू आर्थिक संकटमा पर्नुभएकाे छ ।
‘१५–२० वर्षदेखि दुःख गरेर अलिअलि जम्मा गरेको पैसा व्यापारमा लगानी गरेका थियौँ। अहिले सबै शून्यमा झारिदियो,’ गुरुङले भन्नुभयाे, ‘हामीले जानाजान कुनै बेथिति गरेका होइनौँ। अब फेरि कसरी उठ्ने भन्ने चिन्ता छ। सरकारले सहयोग गरिदिए हुन्थ्यो।’
उहाँका अनुसार माछाखोलाका अर्का व्यापारी धनकुमार गुरुङको करिब पाँचदेखि छ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, स्थानीयका अनुसार माछाखोलाका ठूला व्यापारीमध्येका एक बिश गुरुङको गोदाममा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । यी क्षतिको विस्तृत विवरण भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ ।
बाढीले स्थानीय बस्तीसमेत प्रभावित पारेको छ। गुरुङका अनुसार तीन–चारवटा घर बगाएका छन् भने केही परिवार विस्थापित भएका छन्। घर गुमाएका स्थानीय अहिले छिमेकी तथा आफन्तको आश्रयमा बसिरहनुभएकाे छ।
बाढी आउनुअघि माथिल्लो क्षेत्रबाट फोनमार्फत बस्ती छाडेर भाग्न खबर आएको गुरुङले बताउनुभयाे । बाढीको जोखिमबारे सूचना पाएपछि उहाँहरू चप्पल मात्रै लगाएर घरबाट निस्कनुभएकाे थियाे । हतारमा ज्यान जोगाउन भाग्नुपरेकाले आफ्नो गोदाम र सामान कसरी बग्यो भन्ने कुरा समेत थाहा पाउन नसकेको उहाँले सुनाउनुभयाे।
‘फोन गरेर बस्ती बग्न लागेको छ, छिटो भाग्नू भनेपछि हामी चप्पल मात्रै लगाएर भाग्यौँ। सामान कसरी बगायो भन्ने पनि थाहा पाएनौँ,’ उहाँले भन्नुभयाे ।
बाढीपछि सुरुका दिन आफन्तको घरमा बसेका स्थानीय एक–दुई दिनपछि आफ्नै घर फर्किनुभएकाे थियाे । लामो समयसम्म अरूको घरमा बस्न कठिन हुने र तत्काल अन्यत्र बस्ने व्यवस्था नहुँदा जोखिमको चिन्ताबीच घर फर्किनुपरेको गुरुङले बताउनुभयाे । बाढीले माछाखोलाबाट धार्चे गाउँपालिका–२ केरौँजा जाने पुलसमेत पूर्ण रूपमा क्षति पुर्याएको छ।
उक्त पुल पुनर्निर्माणका लागि दसैँ–तिहारलगत्तै झोलुङ्गे पुल निर्माण गर्ने विषयमा कुरा भएको गुरुङले जानकारी दिनुभयाे । तर, पुल निर्माणको औपचारिक निर्णय र काम सुरु हुने समयबारे भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ ।
बाढी प्रभावितलाई गाउँपालिकाले राहत उपलब्ध गराउन थाले पनि तत्काल घर गुमाएका परिवारलाई प्राथमिकता दिइएको र व्यापारिक गोदाममा भएको क्षतिबारे भने अन्योल रहेको गुरुङको भनाइ छ। गाउँपालिकाबाट व्यवसायीले कस्तो सहयोग पाउने भन्ने स्पष्ट आश्वासन नपाएको उहाँले बताउनुभयाे ।
उहाँले राहत रकम मात्रै नभई भविष्यमा यस्ता विपद्बाट सुरक्षित हुने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएकाे छ । माछाखोलाको तल्लो क्षेत्रका बस्ती जोखिममा रहेकाले आवश्यक परे बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने वा नदी नियन्त्रणका लागि ग्याबियन वाल निर्माण गर्नुपर्ने उहाँको माग छ।
‘राहतभन्दा पनि हामीलाई साहस र सुरक्षित हुने आधार चाहिएको छ। ग्याबियन वाल लगाइदिएर बस्ती सुरक्षित हुने महसुस गराउन सके राम्रो हुन्थ्यो,’ गुरुङले भन्नुभयाे ।
बाढीबाट घर र व्यापार गुमाएका स्थानीयले अहिले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना, क्षतिको उचित मूल्याङ्कन, व्यापार पुनःसञ्चालनका लागि सहयोग तथा नदी नियन्त्रणको व्यवस्था गर्न माग गर्नुभएकाे छ । उहाँहरूका अनुसार तत्काल सुरक्षित बस्ती र जीविकोपार्जनको आधार निर्माण गर्न नसके बाढीबाट भएको आर्थिक तथा सामाजिक क्षतिबाट उठ्न अझ कठिन हुनेछ।
















लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर