काठमाडौं । थकान हटाउन, फुर्तिलो हुन र शरीरमा ऊर्जा बढाउन भन्दै इनर्जी ड्रिङ्क्स सेवन गर्ने युवा पुस्ताको संख्या बढ्दो छ । आकर्षक विज्ञापन, खेलकुद प्रतियोगितामा प्रायोजन र साथीभाइको देखासिकीका कारण लोकप्रिय बनिरहेका यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सकहरूले चेतावनी दिनुभएको छ ।
इनर्जी ड्रिङ्क्सको अत्यधिक सेवनले मुटुको धड्कन बढाउने, रक्तचापमा असर पार्ने, निद्रामा समस्या ल्याउने, बेचैनी बढाउने तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सकहरूको भनाइ छ । विशेषगरी बालबालिका, गर्भवती महिला र मुटुसम्बन्धी समस्या भएका व्यक्तिले यस्ता पेय पदार्थ सेवन गर्दा थप सावधानी अपनाउनुपर्ने उहाँहरूले बताउनुभएको छ ।
नेपालमा ठूला कार्यक्रम, चाडपर्व तथा खेलकुद प्रतियोगितामा इनर्जी ड्रिङ्क्स कम्पनीहरूले व्यापक प्रचारप्रसार गरिरहेका छन् । क्रिकेटलगायतका खेलकुद प्रतियोगितामा हुने प्रायोजन र विज्ञापनले पनि यस्ता पेय पदार्थप्रति युवा पुस्ताको आकर्षण बढाएको देखिन्छ । तर, तत्काल ऊर्जा प्राप्त भएको महसुस गराउने यस्ता पेय पदार्थको दीर्घकालीन स्वास्थ्य प्रभावबारे पर्याप्त ध्यान नदिइएको चिकित्सकहरूको भनाइ छ ।
इनर्जी ड्रिङ्क्सको सेवन र त्यसले स्वास्थ्यमा पार्ने असरबारे चर्चा भइरहेका बेला सरकारले समेत उपभोक्तालाई सचेत गराएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिक ११ गते जारी गरेको सूचनामा इनर्जी ड्रिङ्क्स सेवन गर्दा उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी र सुरक्षित सेवनसम्बन्धी जानकारीमा ध्यान दिन आग्रह गरिएको छ ।
विभागका अनुसार स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्क्सलगायत सबै स्रोतबाट प्राप्त हुने दैनिक कुल क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सक्छन् । नेपालमा बिक्री हुने इनर्जी ड्रिङ्क्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन रहेको उल्लेख छ ।
तर, दिनभर सेवन गरिने चिया, कफी र अन्य क्याफिनयुक्त पदार्थबाट प्राप्त हुने मात्रालाई समेत हिसाब गर्नुपर्ने हुन्छ । क्याफिनप्रति संवेदनशील व्यक्तिमा कम मात्राले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले ४०० मिलिग्रामलाई सबैका लागि सुरक्षित सीमाका रूपमा बुझ्न नहुने चिकित्सकहरू बताउँछन् ।
विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । त्यस्तै, पानी, जुस, दूध र मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा इनर्जी ड्रिङ्क्स प्रयोग नगर्न तथा अन्य पेय पदार्थमा मिसाएर नपिउन पनि अनुरोध गरेको छ ।
मुटुको चाल बिग्रिएर ज्यानै जाने जोखिम
मुटुरोग विशेषज्ञ डा. दीपक मिश्रका अनुसार इनर्जी ड्रिङ्क्समा क्याफिन, टाउरिन, जिन्सेङ र ग्वारानाजस्ता विभिन्न तत्त्व पाइन्छन् । यस्ता पेय पदार्थमा चिनीको मात्रा पनि बढी हुन सक्ने भएकाले सेवनकर्ताको स्वास्थ्यमा विभिन्न असर पर्न सक्छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले इनर्जी ड्रिङ्क्समा पाइने तत्त्वले मुटुको चाल र रक्तचाप बढाउन सक्ने बताउनुभयो । चिनीको मात्रा बढी भएमा रगतमा चिनीको स्तरसमेत बढ्न सक्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार इनर्जी ड्रिङ्क्सको सेवनले कतिपय व्यक्तिमा मुटुको धड्कन अनियमित हुन सक्छ । पहिलेदेखि नै मुटुको चालसम्बन्धी समस्या भएका, उच्च रक्तचाप भएका वा हृदयाघात भइसकेका व्यक्तिका लागि यस्तो सेवन थप जोखिमपूर्ण हुन सक्छ ।
डा. मिश्रले अत्यधिक सेवनले रक्तचाप निकै बढाएर पक्षाघात तथा हृदयाघातको जोखिमसमेत बढाउन सक्ने बताउनुभयो ।
कतिपय व्यक्तिमा मुटुको विद्युतीय प्रणालीसम्बन्धी समस्या पहिलेदेखि नै भए पनि त्यसबारे जानकारी नहुन सक्ने उहाँले उल्लेख गर्नुभयो । त्यस्तो अवस्थामा इनर्जी ड्रिङ्क्स सेवन गर्दा गम्भीर समस्या निम्तिन सक्ने भएकाले आफू स्वस्थ छु भन्ने आधारमा जथाभावी सेवन गर्न नहुने उहाँको सुझाव छ ।
विशेषगरी मुटुको चालसम्बन्धी समस्या भएका व्यक्तिमा अनियमित धड्कन देखिनुका साथै गम्भीर अवस्थामा अचानक मुटुले काम गर्न छाड्ने जोखिमसमेत हुन सक्ने उहाँले बताउनुभयो ।
अर्का मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठले पनि इनर्जी ड्रिङ्क्समा मुख्य रूपमा पाइने क्याफिनले मुटुको चाल बढाउने, रक्तचाप बढाउने र मुटुको धड्कनमा गडबडी ल्याउने जोखिम रहेको बताउनुभयो ।
उहाँका अनुसार अत्यधिक क्याफिन सेवनले छटपटी र निद्रासम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । मुटुरोग, मुटुको चालमा गडबडी वा उच्च रक्तचाप भएका व्यक्तिले यस्ता पेय पदार्थ सेवन नगर्नु उपयुक्त हुने उहाँको सुझाव छ ।
गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर क्याफिनयुक्त पेय पदार्थको सेवनमा विशेष सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । इनर्जी ड्रिङ्क्सको सट्टामा साधारण पानी, फलफूल र प्राकृतिक जुस सेवन गर्न उहाँले सुझाव दिनुभयो ।
क्षणिक ऊर्जा, तर मानसिक स्वास्थ्यमा असर
इनर्जी ड्रिङ्क्सको असर मुटुमा मात्र सीमित नरहने चिकित्सकहरू बताउँछन् । क्याफिन तथा अन्य उत्तेजक तत्त्वले मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्ने उनीहरूको भनाइ छ ।
मनोविद् डा. गोविन्द ढकालका अनुसार इनर्जी ड्रिङ्क्स सेवन गरेपछि केही समयका लागि ऊर्जा, उत्साह र फुर्ति बढेको महसुस हुन सक्छ । तर, नियमित वा अत्यधिक सेवनले बेचैनी, तनाव, घबराहट र निद्रासम्बन्धी समस्या बढाउन सक्छ ।
उहाँले क्याफिनका कारण चिन्ता, तनाव, छटपटी र अनिद्राको समस्या बढ्न सक्ने बताउनुभयो । त्यस्तै, एकाग्रता कमजोर हुने र दैनिक काम गर्ने क्षमतामा समेत असर पर्न सक्ने उहाँको भनाइ छ ।
डा. ढकालका अनुसार लामो समयसम्म निद्रा नलाग्ने, तनाव र बेचैनी रहने समस्याले व्यक्तिको दैनिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । बाइपोलर डिसअर्डर वा सिजोफ्रेनियाजस्ता मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा क्याफिनको सेवनले लक्षण थप बढाउन सक्ने जोखिम पनि रहन्छ ।
इनर्जी ड्रिङ्क्स सेवन गरेपछि मुटु ढुकढुक हुने, पसिना आउने, चक्कर लाग्ने, सास रोकिएजस्तो महसुस हुने र अत्यधिक डर लाग्ने समस्या लिएर आउने व्यक्तिहरू पनि भेटिने गरेको उहाँले बताउनुभयो ।
डा. ढकालका अनुसार विज्ञापनको प्रभाव, फेसन र साथीभाइको देखासिकीले युवा पुस्तामा यस्ता पेय पदार्थको सेवन बढाएको हुन सक्छ । तत्काल फुर्ति बढेको महसुस हुँदैमा इनर्जी ड्रिङ्क्सलाई स्वास्थ्यवर्धक पेय पदार्थका रूपमा लिन नहुने उहाँको सुझाव छ ।
निद्रा नलाग्ने र चिन्ताको समस्या लिएर आउने बढे
नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेले पनि इनर्जी ड्रिङ्क्स सेवनपछि निद्रा नलाग्ने र एन्जाइटी अर्थात् चिन्ता तथा बेचैनीको समस्या भएको गुनासो गर्ने व्यक्तिहरू भेटिने गरेको बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय यस्ता गुनासा लिएर आउने व्यक्तिको संख्या पहिलेको तुलनामा बढेको अनुभव छ । यद्यपि, यस विषयमा पछिल्लो समयका अनुसन्धान विस्तृत रूपमा अध्ययन नगरेको स्पष्ट पार्दै उहाँले सबै मानसिक स्वास्थ्य समस्याको कारण इनर्जी ड्रिङ्क्स नै हो भन्ने निष्कर्ष निकाल्न नहुने बताउनुभयो ।
इनर्जी ड्रिङ्क्स वा अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन गरेपछि डर लाग्ने, मुटुको धड्कन बढ्ने, निद्रा नलाग्ने र बेचैनी हुने समस्या लिएर आउने व्यक्तिहरू भेटिने गरेको उहाँको भनाइ छ ।
डा. पाण्डेका अनुसार एन्जाइटी र इन्सोम्निया अर्थात् अनिद्रासम्बन्धी समस्या लिएर आउने व्यक्तिहरूमा यस्ता गुनासा देखिने गरेका छन् । सेवनपछि असहजता महसुस भएमा त्यसलाई बेवास्ता नगरी स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्ने उहाँको सुझाव छ ।
इनर्जी ड्रिङ्क्सको लत लाग्न सक्छ ?
इनर्जी ड्रिङ्क्समा पाइने क्याफिनले नियमित सेवन गर्ने व्यक्तिमा निर्भरता सिर्जना गर्न सक्छ । क्याफिनको नियमित सेवन गर्ने व्यक्तिले अचानक सेवन बन्द गर्दा टाउको दुख्ने, थकान महसुस हुने, चिडचिडापन बढ्ने वा एकाग्रतामा समस्या आउनेजस्ता लक्षण अनुभव गर्न सक्छन् ।
यद्यपि, इनर्जी ड्रिङ्क्सको निर्भरता र रक्सी तथा चुरोटको लत एउटै प्रकृतिका हुँदैनन् । सेवनको मात्रा, आवृत्ति र व्यक्तिको शारीरिक अवस्थाअनुसार यसको प्रभाव फरक पर्न सक्छ ।
त्यसैले इनर्जी ड्रिङ्क्सलाई सामान्य पेय पदार्थ ठानेर जथाभावी सेवन गर्नु उचित हुँदैन । विशेषगरी थकान हटाउने वा राति अबेरसम्म जागा रहने उद्देश्यले बारम्बार सेवन गर्ने बानीले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।
कति सेवन गर्ने, कसले नगर्ने ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वस्थ वयस्कका लागि सबै स्रोतबाट प्राप्त हुने दैनिक कुल क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने उल्लेख गरेको छ । तर, यो सीमा सबै व्यक्तिका लागि समान रूपमा उपयुक्त हुन्छ भन्ने होइन ।
इनर्जी ड्रिङ्क्स सेवन गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू यस्ता छन् :
-
बालबालिका, गर्भवती तथा सुत्केरी महिला : सरकारी सूचनाअनुसार इनर्जी ड्रिङ्क्स सेवन नगर्नु उचित हुन्छ ।
-
मुटुरोग तथा उच्च रक्तचाप भएका व्यक्ति : चिकित्सकको सल्लाहबिना यस्ता पेय पदार्थ सेवन नगर्नुहोस् ।
-
मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति : चिन्ता, बेचैनी वा अनिद्राको समस्या बढ्ने सम्भावनालाई ध्यान दिनुहोस् ।
-
क्याफिनयुक्त अन्य पेय पदार्थ सेवन गर्ने व्यक्ति : चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्क्सबाट प्राप्त हुने कुल क्याफिनको मात्रा ख्याल गर्नुहोस् ।
-
सबै उपभोक्ता : क्यानमा उल्लेख गरिएको क्याफिनको मात्रा, सामग्री र चेतावनी पढेर मात्र सेवनसम्बन्धी निर्णय लिनुहोस् ।
ऊर्जा प्राप्त गर्नकै लागि इनर्जी ड्रिङ्क्स सेवन गर्न आवश्यक नरहेको चिकित्सकहरूको भनाइ छ । पर्याप्त पानी पिउने, सन्तुलित खाना खाने, फलफूल सेवन गर्ने र पर्याप्त निद्रा लिने बानीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
क्षणिक फुर्ति र उत्साहका लागि सेवन गरिने पेय पदार्थले स्वास्थ्यमा कस्तो असर पार्न सक्छ भन्नेबारे उपभोक्ता सचेत हुनु आवश्यक छ । आकर्षक विज्ञापन र लोकप्रियताका आधारमा मात्र कुनै पेय पदार्थलाई स्वास्थ्यवर्धक ठान्नुको सट्टा त्यसमा रहेका तत्त्व, सेवनको मात्रा र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी राख्नु नै सुरक्षित विकल्प हो ।







दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु