काठमाडौं । बागमती प्रदेशकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
ललितपुरको गोदावरीमा बिहीबार आयोजित १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै उहाँले पुष्प व्यवसाय नेपाली नागरिकको रोजगारी र उद्यमशीलताको महत्त्वपूर्ण आधार बनेको उल्लेख गर्नुभयो ।
मन्त्री मगरले फूल सजावटको साधन मात्र नभई नेपाली धर्म, संस्कृति, चाडपर्व र दैनिक जीवनको अभिन्न अङ्ग रहेको बताउनुभयो । जन्मदेखि मृत्युसम्म, विवाह, पूजाआजा, स्वागत तथा श्रद्धाञ्जलीलगायतका कार्यमा फूलको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
उहाँका अनुसार पुष्प व्यवसायमा ६० हजारभन्दा बढी नेपाली नागरिक आबद्ध छन् । विशेषगरी महिला र युवाको सहभागिता यस क्षेत्रमा उत्साहजनक रहेको उहाँले बताउनुभयो ।
तर, वार्षिक करिब २६ करोड रुपैयाँभन्दा बढीको फूल तथा पुष्पजन्य वस्तु आयात भइरहेको तथ्यले नेपाल अझै पनि पुष्प बीउ, कट फ्लावर र आलङ्कारिक बोटबिरुवामा परनिर्भर रहेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री मगरले चाडपर्वका बेला फूलको माग बढ्दा त्यसलाई स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । सयपत्री, गुलाब, कार्नेसन, सुनाखरी र लिलीजस्ता बजारमा राम्रो सम्भावना भएका फूलको व्यावसायिक उत्पादन विस्तार गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुको क्षेत्रमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारको ‘बाई नेपाली फर्स्ट’ अर्थात् नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिने नीतिअनुसार स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली फूलको प्रयोग गर्ने भावना हरेक घर, कार्यालय, होटल तथा रेस्टुरेन्टसम्म पुर्याउनुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री मगरले पुष्प व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन संरक्षित खेती, ग्रिनहाउस, थोपा सिँचाइ तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी ज्ञान र प्रविधिको विस्तार गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, पुष्प व्यवसायलाई दिगो बनाउन उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न, आधुनिक पुष्प बजार निर्माण गर्न तथा डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने उहाँको भनाइ थियो ।
निर्यातको सम्भावना भएका फूलको पहिचान, खेती प्रविधिको विकास, गुणस्तर निर्धारण र निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । यसका लागि देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) तथा सम्बन्धित निकायले अग्रसरता लिनुपर्ने उहाँले बताउनुभयो ।
पुष्प व्यवसायमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि, महिला तथा युवा उद्यमीलाई प्राथमिकता, सहुलियतपूर्ण ऋणको व्यवस्था र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने मन्त्री मगरको भनाइ थियो ।
उहाँले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन, पुष्प उत्पादन तथा व्यवसायलाई कृषि क्षेत्रअन्तर्गतका सेवा, सुविधा र प्रोत्साहनमा समेट्न तथा पुष्प बालीको बिमा कार्यक्रम प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्राकृतिक विपद्बाट हुने क्षतिमा व्यवसायीलाई राहत उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गर्दै मन्त्री मगरले पुष्प व्यवसायको विकास र विस्तारका लागि बागमती प्रदेश सरकार व्यवसायीसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।






अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा
बडादशैँमा सिक्वेलको महाभिडन्त
ती दिनहरू फेरि आउँलान र
दशैँको शुभकामना
हिमाली क्षेत्रमा वर्षा र हिमपातको
कति छ आज विदेशी मुद्राको