लण्डन । इंग्लिस लिग (काराबाओ कप)अन्तर्गत चौथो चरणका रोमाञ्चक खेलहरूमा चेल्सी र ब्राइटनलाई पराजित गर्दै लिभरपुल र म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४०औँ मिनेटमा मोर्गन रोजर्सले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इन्जुरी समयअघि कोडी गाक्पोले पनि पेनाल्टीमार्फत् नै गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काउनुभयो ।
दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । त्यसपछि भएको पेनाल्टी सुटआउटमा लिभरपुलका कोस्टास सिमिकास र रायन ग्राभेनबर्च गोल गर्न चुके पनि गोलरक्षक जिओर्गी मामार्दासभिलीले इमानुएल एमेघाको प्रहार बचाउनुभयो । त्यसपश्चात् जो गोमेजले निर्णायक गोल गर्नुभयो भने चेल्सीका वेस्ली फोफानाको प्रहार बारमाथिबाट बाहिरियो । चेल्सीमाथि लिभरपुलको पेनाल्टी सुटआउटमा यो लगातार पाँचौँ जित हो । १० पटकको लिग कप विजेता लिभरपुलले अब क्वाटरफाइनलमा बर्नमाउथको सामना गर्नेछ र यो खेल पनि घरेलु मैदानमै हुनेछ ।
अर्को खेलमा गोलरक्षक जेरोनिमो रुल्लीले पेनाल्टी सुटआउटमा दुई उत्कृष्ट बचाउ गरेपछि म्यानचेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा ब्राइटनसँगको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलको ३०औँ मिनेटमा जर्जिनियो रुटरको क्रसमा मालिक याल्कुएलले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा माटेओ कोभाचिचले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।
तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै रुटरले जाउएन हाजामको पासमा गोल गर्दै ब्राइटनलाई फेरि २-१ ले अगाडि बढाउनुभयो । खेलको ६२औँ मिनेटमा रयान चेर्कीको फ्रिकिकमा भिटर रेसले हेडमार्फत् गोल गर्दै सिटीलाई पुनः २-२ को बराबरीमा पुर्याउनुभयो ।
निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा सिटीका गोलरक्षक रुल्लीले यासिन आयारी र लुइस डंकको प्रहार उत्कृष्ट ढंगले बचाउँदै टिमलाई जित दिलाउनुभयो । अब सिटीले अन्तिम आठमा लिग वान क्लब ब्राडफोर्ड सिटीसँग खेल्नेछ ।
काराबाओ कपको चौथो चरणका अन्य खेलहरूमा बर्नमाउथ, क्रिस्टल प्यालेस र सण्डरल्याण्डले पनि आ-आफ्नो खेलमा जित निकाल्दै प्रतियोगिताको अन्तिम आठ (क्वाटरफाइनल) मा आफ्नो स्थान सुरक्षित गरेका छन् । एजेन्सी






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म