काठमाडौं । क्रिकेटको मैदानमा हासिल हुने सफलतालाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा टोलीले लिएका विकेट र प्रहार गरेका छक्काका आधारमा उक्त रकम संकलन भएको हो ।
जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरिशा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको अभियानमा एआरकेएसएच ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ । ग्रुपले अभियानका लागि प्रारम्भिकरूपमा एक लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरेको छ ।
अभियानअन्तर्गत सहमतिमा तोकिएका एनपिएल खेलमा जनकपुर बोल्ट्सले लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्काबापत दुई हजार रुपैयाँ छात्राहरूको शिक्षाका लागि योगदान गरिने व्यवस्था छ । टोलीले पहिलो खेलमा नौ विकेट लिनुका साथै पाँच छक्का प्रहार गरेको थियो । यसअनुसार विकेटबाट १८ हजार र छक्काबाट १० हजार गरी कुल २८ हजार रुपैयाँ संकलन भएको हो ।
‘हरेक छक्काले उनको भविष्यलाई अगाडि बढाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले मधेस प्रदेशका आर्थिकरूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच बढाउन र विद्यालय शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने लक्ष्य राखेको छ । अभियानमार्फत् कम्तीमा १० जना मधेसी छात्रालाई शैक्षिक सहयोग उपलब्ध गराउने योजना छ । संकलित रकमबाट विद्यालय पोशाक, पुस्तक तथा अन्य शैक्षिक सामग्री, परीक्षा शुल्क र यातायात खर्चलगायतका आवश्यकतामा सहयोग गरिनेछ ।
आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने जोखिममा रहेका छात्राहरूलाई प्राथमिकता दिई लाभग्राही छनोट गरिने अभियानले जनाएको छ । यसका लागि स्थानीय विद्यालय तथा शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थासँग सहकार्य गर्ने योजना छ । त्यस्तो सहकार्यबाट छात्राहरूको आवश्यकता पहिचान, सहयोग वितरण र उनीहरूको शैक्षिक निरन्तरताको अनुगमन गरिनेछ ।
‘सिक्सेस फर हर फ्युचर’ अभियानले क्रिकेटलाई प्रतियोगिता र मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा तथा सामाजिक विकाससँग जोड्ने प्रयास गरेको छ । मैदानमा खेलाडीले गर्ने प्रदर्शनबाट संकलित रकमले आर्थिकरूपमा विपन्न छात्राहरूलाई विद्यालय शिक्षामा टिकिरहन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रारम्भिक एक लाख ५० हजार रुपैयाँको शैक्षिक कोषसँगै खेलमा आधारित योगदानमार्फत् छात्राहरूको भविष्यमा लगानी गर्ने अभियानको उद्देश्य छ । जनकपुर बोल्ट्सका आगामी खेलमा टोलीले लिने विकेट र प्रहार गर्ने छक्कासँगै सहयोग रकम थपिँदै जाने अपेक्षा गरिएको छ ।
क्रिकेटको हरेक विकेट र छक्कालाई छात्राहरूको शिक्षामा सहयोग पुर्याउने माध्यम बनाउँदै अघि बढाइएको यस अभियानले खेलकुदको उपलब्धिलाई सामाजिक परिवर्तनसँग जोड्ने लक्ष्य राखेको छ ।







काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको