काठमाडौं । न्युजिल्याण्डविरुद्धको तेस्रो खेलमा उत्कृष्ट शतक प्रहार गर्नुभएका भारतीय ओपनर अभिषेक शर्मा आइसिसी टी-२० र्याङ्किङमा नम्बर-१ ब्याट्सम्यान बन्न सफल हुनुभएको छ । यसअघि गत साता शीर्ष स्थानमा रहनुभएका अर्का भारतीय खेलाडी इशान किशन दुई स्थान खस्कँदै तेस्रो नम्बरमा झर्नुभएको छ । न्युजिल्याण्डविरुद्धको सिरिजको दोस्रो र तेस्रो खेल खेल्न नपाएका कारण इशानको र्याङ्किङमा असर परेको हो, जसको फाइदा पाकिस्तानका साहिबजादा फरहानलाई पनि पुगेको छ । हाल टी-२० ब्याङ्किङतर्फ टप-१० भित्र चारवटा भारतीय ब्याट्सम्यानहरूले आफ्नो स्थान सुरक्षित राखेका छन् ।
तर, भारतीय बलर तथा अलराउण्डरहरूको प्रदर्शन भने यसपटक निराशाजनक रहेको छ । टी-२० तर्फको बलर र अलराउण्डरहरूको शीर्ष १० सूचीमा कुनै पनि भारतीय खेलाडी पर्न सफल भएका छैनन् । भारतीय स्पिनर अक्षर पटेल एक स्थान खस्कँदै ११औँ स्थानमा पुग्नुभएको छ भने अर्शदीप सिंह १५औँ र जसप्रित बुमराह २७औँ स्थानमा रहनुभएको छ । न्युजिल्याण्डविरुद्धको सिरिजबाट आराम दिइएका बुमराहबाहेक अन्य खेलाडी मैदानमा भए पनि टप-१० मा स्थान बनाउन असफल रहे । अफगानिस्तानका राशिद खान टी-२० तर्फ नम्बर-१ बलर र जिम्बाब्वेका सिकंदर राजा नम्बर-१ अलराउण्डर बन्नुभएको छ । चोटका कारण टोलीबाहिर रहनुभएका हार्दिक पाण्ड्या १८४ रेटिङ प्वाइन्टसहित १३औँ स्थानमा रहँदै हालसम्मका सर्वोच्च र्याङ्किङ प्राप्त भारतीय टी-२० अलराउण्डर बन्नुभएको छ ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्को यानसनले आफ्नो करियरमा पहिलोपटक टेष्ट क्रिकेटका दुई फरक विधामा नम्बर–१ स्थान हासिल गर्दै ऐतिहासिक सफलता हात पार्नुभएको छ । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा उत्कृष्ट प्रदर्शन गर्दै ८५ रन बनाउनुका साथै ५ विकेट लिनुभएका यानसनले आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाउनुभएको थियो ।
यानसन टेष्ट बलरहरूको र्याङ्किङमा पाँच स्थान उक्लिँदै मिचेल स्टार्कलाई पछि पार्दै नम्बर-१ बलर बन्नुभएको छ । यसका साथै, टेष्ट अलराउण्डरहरूको र्याङ्किङमा समेत एक स्थानको छलाङ मार्दै उहाँले भारतका अनुभवी अलराउण्डर रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा विगत चार वर्षभन्दा बढी समयदेखि टेष्ट अलराउण्डरको शीर्ष स्थानमा रहँदै आउनुभएको थियो तर अब यानसन पहिलोपटक यो शिखरमा पुग्न सफल हुनुभयो ।
पुरुष टी-२० आई टिम र्याङ्किङको आधिकारिक तालिकाअनुसार नेपालको राष्ट्रिय क्रिकेट टोली १४औँ स्थानमा कायम रहेको छ । नेपालले कुल ७,९६८ अंक र १८१ रेटिङ प्राप्त गर्दै विश्व क्रिकेटका बलिया सहयात्री राष्ट्रहरूसँग प्रतिस्पर्धा गरिरहेको छ । टी २० र्याङ्किङको टप ५० मा पनि कुनै नेपाली ब्याटर अटाएका छैनन् । ६२औँ स्थानमा कुशल भुर्तेल हुनुहुन्छ । दीपेन्द्र सिंह ऐरी ७० र रोहित पौडेल ८९ औँ नम्बरमा हुनुहुन्छ । बलिङ र्याङ्किङमा सन्दीप लामिछाने ४४औँ स्थानमा हुनुहुन्छ । ५९ मा ऐरी र ८० मा ललित राजवंशी हुनुहुन्छ । बलिङ अलराउण्डरमा भने ऐरी पाँचौँ स्थानमा हुनुहुन्छ । २०औँ स्थानमा कुशल भुर्तेल, ५० औँ मा रोहित पौडेल हुनुहुन्छ ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता