काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै कर्णालीले लगातार दोस्रो जित निकालेको हो । यसअघिको खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कप्तान सोमपाल कामीले शानदार इनिङ्स खेल्नुभयो । उहाँ ३२ बलमा ६२ रनमा नटआउट रहनुभयो । यस्तै, गुलशन झा २८ रनमा अविजित रहनुभयो । पवन सर्राफले ३६ तथा दीपक डुम्रेले २० रनको योगदान दिनुभयो ।
बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन तथा चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक-एक विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्यो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिनुभएको थियो ।
५२ बल खेल्नुभएका उहाँले ९ छक्का र ३ चौका प्रहार गर्नुभयो । यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोड्नुभयो । सोमपालले चार विकेट लिँदा नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिनुभएको थियो । यसअघिको खेलमा विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।
मोइन अलीको अर्धशतकमा जनकपुरको पहिलो जित
यसअघि भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ । मोइन अलीको अविजित अर्धशतक र राहुल यादवको उत्कृष्ट बलिङ प्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरको जितमा अनुभवी अलराउण्डर मोइनले ५१ बलमा तीन चौका र तीन छक्काको मद्दतले अविजित ५८ रन बनाउनुभयो । सैफ हसनले पनि अविजित ४६ रनको योगदान दिनुभयो । उहाँले ३६ बलमा तीन छक्का र एक चौका प्रहार गर्नुभयो । मोइन र सैफबीचको अविजित साझेदारी जनकपुरको जितमा निर्णायक बन्यो । यी दुईले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाउनुभयो ।
लक्ष्य पछ्याउने क्रममा जनकपुरले सुरुवातमै दुई विकेट गुमाएको थियो । ओपनर तृणराज दास पाँच रनमा आउट हुनुभयो भने मयन यादव पनि व्यक्तिगत पाँच रनमा रनआउट हुनुभयो । त्यसपछि मोइन र सैफले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याउनुभयो । काठमाडौंका लागि रिपोन मण्डलले एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो । लगातार विकेट गुमाएको काठमाडौंका कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन् ।
काठमाडौंका लागि राशिद खानले सर्वाधिक १७ रन बनाउनुभयो । भीम सार्कीले १५ तथा स्मित पटेलले १३ रन जोड्नुभयो । सुमित महर्जनले १० रन बनाउँदा रिपोन मण्डल र हरिशंकर शाहले समान नौ तथा कप्तान करण केसीले आठ रनको योगदान दिनुभयो ।
काठमाडौंको ब्याटिङ धराशायी बनाउने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्नुभयो । उहाँले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिनुभयो । सैफ हसनले किफायती बलिङ गर्दै चार ओभरमा ११ रन मात्र दिएर दुई विकेट हात पार्नुभयो । मोइन अली, हरमीत सिंह र ललित राजवंशीले समान एक विकेट लिनुभयो । यस जितसँगै जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । यसअघि आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग पराजित भएको थियो । काठमाडौंले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको हो ।







पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर