काठमाडौं । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत् माग सम्बोधन गर्न र आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका-२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सबस्टेसनलाई यही कात्तिक १४ र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।
उक्त दिनहरूमा पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी-दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिनेछ । दुहवी-दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत् आपूति हुनेछ । दुहवी-दमक प्रसारण लाइन उक्त दिन मध्याह्न १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिने प्राधिकरणले जनाएको छ । जसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरू र मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।
प्राधिकरणका अनुसार सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिएका दुर्ईवटा र ३३/११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर राखिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले केरौन सबस्टेसन सञ्चालनपछि मोरङ जिल्लाको विद्युत् आपूर्ति सुरक्षित, भरपर्दो हुने र प्राविधिक चुहावटसमेत घट्ने बताउनुभयो ।
अहिले सो क्षेत्रमा विद्युत् आपूर्तिका ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट बढी रहेको र उपभोक्ताले छिन-छिनमा लाइन जाने (ट्रिपिङ)को समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले अब ३३ केभी लाइनको लम्बाइ घट्दा चुहावट पनि घट्ने साथै भोल्टेजमा सुधार भई विद्युत् आपूर्ति विश्वसनीय र गुणस्तरीय बन्ने बनाउनुभयो । हाल उक्त क्षेत्रका लागि दुहवी-रानी-रंगेली ३३ केभी करिब ५० किलोमिटर लामो लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । अब लाइनको लम्बाइ घट्ने हुँदा विद्युत् आपूर्तिमा सुधार हुनेछ । सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएको छ । त्यस्तै, केरौन-रंगेली र केरौन-विराटचोक ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ । सबस्टेसन सञ्चालनपछि उक्त लाइन पनि चार्ज गरिने केरौन सबस्टेसन आयोजना प्रमुख दर्शन राय यादवले बताउनुभयो । आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?