काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोजसम्म बैंकको खुद नाफा १३१.१३ प्रतिशतले बढेर एक अर्ब पाँच करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष कर्जा नोक्सानी व्यवस्थापनबापतको रकम घट्नुका साथै खुद ब्याज आम्दानी र सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि नाफा बढेको बताइएको छ ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा जोखिम व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि ९५ करोड ६७ लाख रुपैयाँ छुट्याएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम घटाएर ३३ करोड नौ लाख रुपैयाँमा झारेको छ । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ९.४२ प्रतिशत बढाएर एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिमा सेवा शुल्क आम्दानी ४६.८६ प्रतिशतले बढेर ४४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले उक्त शीर्षकबाट ३० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षको असारमा दुई खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ रहेको ग्राहक निक्षेप २.०८ प्रतिशतले बढेर चालु आर्थिक वर्षको असोजमा दुई खर्ब ५४ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने बैंकको कर्जा प्रवाह पनि १.७८ प्रतिशतले बढेको छ । गत असारमा एक खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ रहेको कर्जा प्रवाह असोज मसान्तसम्म बढेर एक खर्ब ९९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ ।
खुद निष्क्रिय कर्जा अनुपात पनि १.५८ प्रतिशतबाट घटेर १.०८ प्रतिशतमा सीमित भएको छ । त्यसैगरी गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.५९ प्रतिशत रहेको बैंकको आधारदर चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.६० प्रतिशत कायम भएको छ ।
निक्षेपको लागत ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ । १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा नौ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ९.७० प्रतिशत कायम भएको छ भने वितरणयोग्य मुनाफा एक अर्ब ९९ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका