काठमाडौं । पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिबद्धता घट्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् साउन, भदौ र असोजमा नेपालमा १६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार सय २२ वटा नयाँ उद्योग तथा परियोजनामा १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।
गत वर्षको सोही अवधिको तुलनामा एफडिआई प्रतिबद्धता १८ अर्ब ९० करोड रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो । चालु आर्थिक वर्ष स्वीकृत चार सय २२ परियोजनामध्ये चार सय १० वटा उद्योग स्वचालित मार्ग (अटोमेटिक रुट) बाट १४ अर्ब ५८ करोड ६५ लाख ५५ हजार सात सय ९६ रुपैयाँ र १२ वटा उद्योग स्वीकृति मार्गबाट एक अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएका छन् । स्वीकृत चार सय २२ परियोजनामध्ये चार सय १० वटा परियोजना स्वचालित मार्गबाट दर्ता भएका हुन् ।
विभागका अनुसार भदौभन्दा असोजमा लगानी प्रतिबद्धता घटेको देखिएको छ । गत भदौमा एक सय ३६ परियोजनाका लागि छ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा साउनमा एक सय ९२ परियोजनामार्फत्् करिब चार अर्ब ७७ करोड २८ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो । असोजमा ९४ परियोजनामार्फत् पाँच अर्ब १० करोड ७५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको उल्लेख छ ।
विभागका अनुसार रकमका आधारमा विदेशी लगानीकर्ताको पहिलो तीन महिनामा पर्यटनमूलक एक सय आठवटा परियोजनाका लागि सबैभन्दा धेरै छ अर्ब आठ करोड २८ लाख रुपैयाँको प्रतिबद्धता आएको छ भने ऊर्जा क्षेत्रमा दुर्ईवटा परियोजना स्वीकृत भएको लगानी प्रतिबद्धता भने चार अर्ब रुपैयाँ रहेको छ । सेवामूलक क्षेत्रका ३३ परियोजनामा तीन अर्ब ५७ करोड ५४ लाख र उत्पादनमूलक क्षेत्रका २५ परियोजनामा एक अर्ब ६० करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । स्वीकृत चार सय २२ मध्ये दुई सय ५२ अर्थात् करिब ६० प्रतिशत परियोजना सूचना प्रविधिमूलक रहेका छन् । तथापि उक्त क्षेत्रमा कुल ९२ करोड ८३ लाख रुपैयाँमात्र प्रतिबद्धता आएको छ । कृषि तथा वन पैदावर क्षेत्रमा दुई परियोजनामार्फत् चार करोड लगानी आएको छ । स्वीकृत वैदेशिक लगानीका परियोजनामध्ये अत्यधिक ठूलो हिस्सा साना उद्योगको रहेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा व्यापार गर्ने विदेशी लगानीकर्ताले लाभांश र रोयल्टीबापत ठूलो रकम स्वदेश फिर्ता लगेका छन् । साउनदेखि असोजसम्म लाभांशबापत १९ करोड ६४ लाख १६ हजार रुपैयाँ फिर्ता लगेका हुन् । रोयल्टीबापत पनि नेपाली रुपैयाँ ९१ करोड ६६ लाख, अमेरिकी डलर ११ लाख ९० हजार र भारतीय रुपैयाँ दुई करोड ५७ लाख बाहिरिएको छ ।






मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय
नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई
निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक
निर्वाचन प्रहरीको पोशाक खरिद अध्ययन
आईजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौती–