ललितपुर । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले विगतमा कांग्रेसबाट टाढिएका नागरिकको मन र मत पुनः पार्टीतर्फ फर्काउने उद्देश्यले जागरण अभियान सञ्चालन गरिने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित संग्रौलाले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले एकमहिने जागरण अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।
उहाँले पार्टीसामु आन्तरिक तथा बाह्य चुनौती रहेको उल्लेख गर्दै जनताको आशा र भरोसालाई कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशनबाट पारित नीतिहरू जनतामाझ पुर्याउन सञ्चालन गरिने अभियानले पार्टीलाई व्यापक रूपमा एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ ।
पार्टीभित्रको असन्तुष्टि र एकताको विषयमा बोल्दै महामन्त्री संग्रौलाले बाहिर रहेका सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रको सुदृढीकरण र पार्टी निर्माणमा योगदान पुर्याएका सहिद तथा अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै उहाँले सबैलाई एकताबद्ध बनाउने निर्णय पार्टीले गरिसकेको बताउनुभयो ।
अब सकारात्मक संवादको थालनी गरेर असन्तुष्ट नेता तथा कार्यकर्तालाई पुनः सानेपामा जोड्ने वातावरण बनाइने उहाँको भनाइ छ । पार्टीभित्रको एकता सुदृढ गर्दै नयाँ ढङ्गले अघि बढ्ने उहाँले बताउनुभयो ।
त्यसैगरी, पार्टीमा महिला सहभागिताको विषयमा चर्चा गर्दै महामन्त्री संग्रौलाले संविधान र पार्टी विधानअनुसार हुनुपर्ने ३३ प्रतिशत महिला प्रतिनिधित्व अझै सुनिश्चित हुन नसकेको स्वीकार गर्नुभयो ।
सभापतिबाट हुने आगामी ६६ जना केन्द्रीय सदस्यको मनोनयनमार्फत महिला सहभागितासहित समावेशितालाई पूर्णता दिने र सबै प्रदेश तथा जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्ने उहाँले बताउनुभयो ।
लामो समयदेखि पार्टीमा योगदान पुर्याए पनि केन्द्रीय समितिमा पुग्न नसकेका निष्ठावान् महिला नेतृहरूलाई पहिचान गरी मनोनयनमा अवसर दिलाउन आफूले विशेष पहल गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता