काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीको जितमा कप्तान सोमपाल कामीले अविजित अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ६२ रन बनाए । गुल्सन झाले २१ बलमा अविजित २८ रनको योगदान दिए ।
सोमपाल र गुल्सनले सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गर्दै कर्णालीलाई जित दिलाए । अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक हुँदा कर्णालीले पाँच बलमै लक्ष्य पूरा गरेको थियो । ओभरको पहिलो बलमा सोमपालले एक रन लिए । गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे । चौथो र पाँचौँ बलमा सोमपालले दुई–दुई रन लिँदै टोलीलाई जित दिलाए । यस क्रममा विराटनगरका लोकेश बमले गुल्सनको क्याच छाडेका थिए ।
कर्णालीले सुरुवातमै लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । मार्क वाट एक, दीपक डुम्रे २०, अक्बर अली एक, अरिफुल इस्लाम ३२ र हुसेन तलत शून्य रनमा आउट भए ।
त्यसपछि सोमपाल र पवन सर्राफले छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए । पवनले २८ बलमा ३६ रन बनाए ।
विराटनगरका बलर एन्जेलो म्याथ्युजले सर्वाधिक तीन विकेट लिए । चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो ।
विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा नौ छक्का र तीन चौका प्रहार गरे । लोकेश एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्नबाट १३ रनले चुके । उनले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए ।
म्याथ्युजले २२ बलमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे । बसिर अहमदले १३ रन बनाए । ओपनर इम्रान शेख पाँच, चरिथ असलंका तीन र शेहान जयसूर्या ११ रनमा आउट भए । सुजन थपलिया अविजित रहे ।
कर्णालीका कप्तान सोमपाल कामीले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । उनले लोकेश, रसेल, म्याथ्युज र असलंकालाई आउट गरे । मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए ।
यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं